हामीले वास्तुशास्त्रबारे सुन्दै आएका छौँ । लाखौँ–करोडौँ खर्च गरेर बनाएको घर बस्नयोग्य त हुनैपर्छ । पूर्वीय मान्यताअनुसार घरमा वास्तुदोष आइलाग्यो भने हाम्रो दैनिक जीवनमा कैयौँ समस्या आउन सक्छन् । त्यसैले गृहनिर्माण गर्दा त्यसको नक्सा–डिजाइन जति महत्त्वपूर्ण हुन्छ, त्यत्तिकै महत्वपूर्ण हुन्छ, वास्तुुमिलान ।
वास्तुको शाब्दिक अर्थ हो, बस्नयोग्य भूमि । ‘वस्’ धातुमा ‘तुण्’ प्रत्यय लागेर वास्तु शब्दको निर्माण हुन्छ । पृथ्वीलाई मुख्य वस्तु र पृथ्वीमाथि जुन आश्रयस्थल निर्माण गरिन्छ त्यो वास्तु हो भनी ‘मयमत’मा बताइएको छ । वास्तुविद्यालाई नै वास्तुशास्त्र, शिल्पशास्त्र तथा स्थापत्यवेद भनिन्छ । प्रसाद (घर) आदि वास्तुप्रधान वस्तु (वास्तु) भूमिबाट उत्पन्न हुने र पृथ्वीमै आश्रित रहने भएकाले वास्तु नै हुन् । यसैले प्राचीन आचार्यले भूमिउत्पन्न वस्तुलाई वास्तु भनेका हुन् । ‘मानसार’का अनुसार पृथ्वी, भवन, यान एवं पर्यंक (आसन) वास्तु हुन् । बस्नयोग्य भूमिको चयन, उपयुक्त घर निर्माणका साथै घरमा पनि वस्तुको विन्यास वास्तुमिलानअन्तर्गत पर्दछ । यसरी वस्तुको उचित विन्यास भएको घर ऊर्जावान् हुन्छ । वास्तुमिलान उपयुक्त नभएको घरमा अस्थिरता एवं अशान्ति रहने गर्दछ । कतिपय अवस्थामा वास्तुको प्रतिकूलताका कारण पनि अस्थिरता उत्पन्न हुने गर्दछ ।
घर मानव जीवनको धेरै समय बिताउने थलो भएकाले पनि घरको वास्तु सही हुन जरुरी छ । वास्तवमा घर हामी सबै राम्रो बनाउन चाहन्छौँ, तर भइरहेको हुँदैन । कतिपय अवस्थामा घर सुन्दर हुँदाहुँदै पनि गृहवासीलाई अशान्तिको आगोले पोलिरहेको हुन्छ । कतिपय अवस्थामा घरको वास्तु अनुकुल नभएर पनि घरवासीलाई अस्थिरता देखिन सक्छ । घर आरामका लागि नै निर्माण गरिन्छ । लाखौँ–करोडौँ खर्च गरेर घर निर्माण गरे पनि चित्त स्थिर बनेर त्यहाँ अडिन सकेन भने त्यसको खासै उपादेयता रहँदैन । यसैले घरलाई सुन्दर बनाउनुका साथै अनुुकूल पनि तुल्याउनु आवश्यक हुन्छ । परिवारमा सुख प्रदान गर्ने, धर्म, अर्थ काम र मोक्षको सिद्धिका साथै अन्य जीवजन्तुलाई पनि सुख प्राप्त हुने थलो भनेको नै घर हा । आजको गृहविज्ञानले पनि घर व्यक्ति अनुकूलको हुनुपर्छ भन्ने कुरामा जोड दिन्छ । यसैले घरमा दिगो शान्तिका लागि वास्तु अनुकूल हुनु आवश्यक छ ।
सर्वप्रथम हामीले घर बनाउनुपूर्व उपयुक्त स्थानको चयन गर्नुपर्दछ । घरको अवस्थिति भौगोलिक रूपमा उपयुक्त हुनु आवश्यक छ । भू–बनावट दरिलो नभएको ठाउँमा घर निर्माण गर्दा दीर्घकालीन रूपमा स्थिर रहन सक्दैन । सम्भव भएसम्म ईशान (पूर्व–उत्तर दिशा)मा नदी तलाउ वा जलाशय भएको, दक्षिण दिशातिर अलि उँचो भएको, बाढी पहिरोबाट सुरक्षित सज्जन समाजको वसोबास भएको ठाउँ रोज्नुपर्दछ । यसका साथै जमिनको प्रकृति पनि चारकुना मिलेको, उच्च भूमि घरका निम्ति शुभ मानिन्छ । यसका साथै घरधनीलाई उक्त स्थान जुर्छ वा जुर्दैन भनी काकिणी हेरी उपयुक्त स्थानको पनि चयन गर्नुपर्दछ । भू अवस्थितिको अनुकूलन हेरेपछि माटोको प्रकृति उपयुक्त हुनुपर्छ । माटो परीक्षण गर्ने थुप्रै विधि छन् । भूमितलमा हड्डी भएको, बलौटे, बग्ने माटो, सिमयुक्त जमिन घरका लागि उचित मानिँदैन । यसैगरी गन्ध आउने भूमि पनि अशुभ मानिन्छ । वास्तुअनुसार उज्यालो, कालो, पहेँलो, रातो, परेवाको आँखाजस्तो माटो उपयुक्त मानिन्छ ।
यसरी उपयुक्त माटोको परीक्षणपछि भूमिशोधनको कार्य गर्नुपर्दछ । भूमिशोधनअन्तर्गत उक्त भूमिलाई शुद्ध पार्ने काम हुन्छ । शल्योद्धार अर्थात् उक्त जमिनमा भएका हाडखोर आदि विकृत वस्तु प्राप्त भए ती वस्तुको उचित व्यवस्थापन गर्नुपर्दछ । यसरी भूमिशोधनका कार्य गरी घर बनाउने जग्गालाई पवित्र तुल्याउनुपर्दछ । जमिन नै विकृत रह्यो भने घरमा अस्थिरता पैदा हुने गर्दछ । यसैले भूमिशोधनका कार्य विशेष विधिपूर्वक गर्नुपर्दछ भनिएको छ । भूमिशोधन एवं पूजनपश्चात् खाल्डो खन्ने कार्य हुन्छ जसलाई खातारम्भ भनिन्छ । यसरी घर निर्माणार्थ खाल्डो खन्ने पनि उपयुक्त दिन र आरम्भ गर्ने उपयुक्त दिशाको व्यवस्था शास्त्रमा गरिएको छ । राहुको मुख पुच्छ विचार गरी घर निर्माणार्थ जगको खाल्डो खन्नुपर्दछ । यसपछि शीलान्यासको मुहूर्त हेरी ज्योतिषशास्त्रले बताएका उपयुक्त दिनमा शिलान्यासपूर्वक घर बनाउन आरम्भ गर्नुपर्दछ । ज्योतिर्विद्सँग परामर्श गरेर उपयुक्त दिनको निक्र्यौल गर्न सकिन्छ ।
जग खन्दा धमिरा, अजिंगर, भुस, सर्प, हाड, वस्त्र, खरानी आदि भेटिए अशुभ मानिन्छ । यसैगरी कौडी, रुई, जलेको काठ, खप्पर, फलाम भेटिए भने पनि घर उपयुक्त मानिँदैन । यसैगरी जग खन्दा गाईको सिङ, शंख, कछुवा, पैसा, तामा भेटिए शुभ मानिन्छ । भूमिशोधनदेखि शीलान्याससम्मा यी कुरा विचारणीय हुने गर्दछन् ।
घर बनाउन आरम्भ पहिला नै नक्सा तयार भइसकेको हुन्छ । नक्सा नै घरको पूर्वरूप हुने भएकाले उक्त नक्सा पनि वास्तु अनुकूलको बनाउनु पर्दछ । योग्य वास्तुविद्को परामर्शपश्चात् घरको नक्सांकन गरियो भने पनि घर सुन्दर हुनुका साथै सुख शान्तिदायी र चिरस्थायी हुन्छ । विशेषगरी घर दक्षिणी वा पूर्वी मोहडाका उपयुक्त हुन्छन् । किनकि घरमा ऊर्जाको आवश्यक हुन्छ । ऊर्जा सूर्यबाट मिल्ने भएकाले दक्षिणी र पूर्वी मोहडा घर वासका निम्ति उपयुक्त मानिन्छन् । जग्गा चयन गर्दैगर्दा यस्ता कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ ।
यसैगरी जमिनको चयनपश्चात् घर निर्माणलाई मजबुत पार्न जग बलियो राख्नुपर्छ । जग नै घरको आधार हुने भएकाले यसमा विशेष ध्यान दिनुपर्ने हुन्छ । वास्तुशास्त्रले पनि घरको जग बलियो बनाउनुपर्छ भन्ने कुरामा जोड दिएको छ ।
यसैगरी घरमा सामान्यतया दक्षिणी कोठा शयन कक्षका लागि उपयुक्त हुन्छ । विद्यार्थीका लागि भने पूर्वी कोठा राम्रो मानिन्छ । भान्साकोठा पूर्व र दक्षिणको बीच (आग्नेय कोण)मा उपयुक्त मानिन्छ । पूजाकोठा पूर्व र उत्तरको कोणमा उत्तम हुन्छ । भण्डार कक्षको व्यवस्था उत्तर दिशामा गर्नु राम्रो मानिन्छ । यसैगरी इनार वा पानीको भण्डारण घरको उत्तरी वा इशान भागमा नै शुभ हुन्छ । शौचालय दक्षिण दिशामा उपयुक्त मनिन्छ । वास्तुशास्त्रअनुसार घरको बीचको मध्य भाग खाली राख्नु राम्रो मानिन्छ । यसैगरी, विद्युतीय उपकरण घरको पूर्व–दक्षिण कोणमा राख्नु शुभ हुन्छ । दक्षिण, पूर्व र पश्चिम प्रवेशद्वार भएको घर उपयुक्त मानिन्छ । खाद्य भण्डार, मोटर ग्यारेज उत्तर पश्चिमको वायव्य कोणमा शुभ मानिन्छ । अतिथिकक्ष उत्तरतिर राम्रो हुन्छ । शस्त्रको भण्डारण पश्चिम–दक्षिण कोणमा उपयुक्त मानिन्छ । गाईको गोठ पश्चिम–उत्तरको कोणमा शुभ हुन्छ । घरको पूर्वी र उत्तरी भागमा वरिपरि फूलबारी लगाउनुपर्छ । पुस्तकालय पूर्व–ईशान कोणको बीचमा उपयुक्त हुन्छ । यसैगरी फलफूलहरू पश्चिमी भागमा लगाउनुपर्दछ ।
घर वरिपरिको वातावरण पनि वास्तुमा अनुकूल हुनुपर्दछ । घरवरिपरि प्रतिकूल रुख–वृक्ष भए भने पनि घरमा अशान्ति पैदा हुने गर्दछ । घरको सामुन्नेमा दुधालु वृक्ष लगाउनुहुँदैन । घरको उचाइभन्दा अग्ला रूखले पनि हानि गर्छन् । काँडावाला रूख पनि घरको सामुन्ने लगाउनुहँुदैन । जसले गर्दा गृहवासीलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हानि पुगिरेहको हुन्छ । पूर्वपट्टि पीपलको रूख हुनुहुँदैन । घरमा कुनै वृक्षको छाया एक प्रहरभन्दा बढी समय रह्यो भने पनि घरवासीका निम्ति प्रतिकूल हुन सक्छ । त्रिकोणवाला, पाँचकोण भएको, रथ आकारको, पछाडि चौडा भई अगाडि खुम्चिएको आवासीय घर हानिकारक मानिन्छ । घरको ईशान कोणमा विशेष ध्यान दिनुपर्ने हुन्छ । ईशान दिशामा वास्तुदोष रहे घरका अन्य वस्तु ठीक हुँदाहुँदै पनि त्यो घर सुख र शान्तिदायी रहँँदैन ।
होटल, उद्योग, व्यापारिक घरको इशान कोणका कोठा अरू कोठाभन्दा उचा राख्नुहुँदैन । घरको पूर्व–उत्तर भाग चर्केको–भत्केको हुनु अशुभ मानिन्छ । यसैगरी इशान कोणमा सधैँ सफा राख्नुका साथै अशुभ सूचक वस्तुहरू राख्न पनि वास्तुशास्त्रले निषेध गरेको छ ।
यसका साथै घरमा राखिने सामानले पनि वास्तुमा सकारात्मक एवं नकारात्मक प्रभाव पारिरहेका हुन्छन् । जुठा भाँडा धेरै समय राख्नु पनि वास्तुप्रतिकूल रहनु हो । रित्ता भाँडा घोप्ट्याएर राख्नुपर्दछ । शुभसूचक वस्तु राख्नाले पनि घरमा सकारात्मक ऊर्जाको प्रवाह हुन्छ । तुलसीको मठ, मयूरको प्वाँख, ऐना, मुरली, घण्टी आदि शुभसूचक मानिन्छन् । घर नित्य सफा राख्नु वास्तुअनुकूल रहनु हो । हावा, पानी, ताप आदि कुराको विशेष विचार उपयुक्त घरका निम्ति आवयक हुन्छ । कोठामै बसे पनि उचित वस्तुको मिलान सुख शान्तिका निम्ति आवश्यक मानिन्छ । घर–कोठाको प्रकृतिअनुसार पनि वस्तु विन्यासमा भिन्नता रहने गर्दछ ।
घर मानव जीवनको अपरिहार्य आश्रयस्थल हो । मानवका आधारभूत वस्तुहरू गाँस, वास र कपासमध्ये बासस्थान एक हो । घर बस्नेहरूका लागि सुख शान्ति प्रदान गर्ने हुनु आवश्यक हुन्छ । धेरै धन खर्च गरेर मात्र घर राम्रो हुँदैन । घरमा आवश्यक पर्ने विषयवस्तुको उचित मिलान हुन सकेन भने त्यही घर अशान्तिको कारक बन्न सक्छ । यसैले जीवनलाई सुन्दर र सार्थक बनाउन वास्तु अनुकूलको घर निर्माण र व्यवस्थापन गर्न आवश्यक देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।