logo-img

साउने संक्रान्ति : धार्मिकस्थलमा बिहानैदेखि भक्तजनको घुइँचो [तस्बिरहरू]

आज साउने संक्रान्ति मनाइँदैछ । साउने संक्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्त्व रहेको छ । यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ । गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ । अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ । यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ । 

कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ । किराँत समुदायमा एकाबिहानै वन जंगलतिर गई फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुन्ड्याउने चलन छ । साँझपख थाल नाङ्लो र ढोल बजाइ भूतप्रेत भगाइन्छ। यस्तै सुदूर पश्चिमतिर पनि अगुल्टो फ्याँक्दै खराब तत्त्वलाई भगाउने चलन छ । 

यता काठमाडौंलगायतका स्थानमा बसोवास गर्ने नेवार समुदायले यस पर्वलाई महत्त्व साथ मनाउँछन् । साउने संक्रान्तिका अवसरमा छोरीचेलीलाई बोलाएर खुवाउने सबैजसो समुदायमा चलन छ । औँसी तिथि र सोमबार एकैदिन परेको दिन सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन् । यस्तो संयोग परेको दिनलाई ‘मौनी औँसी’ पनि भनिन्छ ।

साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरसहित देशका धेरै धार्मिकस्थलमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । साउनको सोमबार भगवान शिवको पूजा अर्चना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।  



तस्बिरमा हेर्नुस् बिहानैदेखि पशुपतिसहित देशका अन्य धार्मिकस्थलमा भक्तजनको भिड :

पशुपतिनाथ मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजनको घुइँचो। तस्बिर : हरिराम भेटुवाल/रासस

  साउनको पहिलो सोमबार पोखरामा निकालिएको बोलबम यात्रा। तस्बिर : धनबहादुर गुरुङ/रासस

देवघाटधामको वेणी सङ्गमस्थलमा स्नान गरेपछि शिवालय मन्दिरमा रहेको शिवलिङ्गको पूजा गर्दै भक्तजन। तस्बिर : टेकराज पोखरेल/रासस



पशुपतिनाथ मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजनको घुइँचो। तस्बिर : हरिराम भेटुवाल/रासस

नवलपुर, तनहुँ र चितवनमा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्दै भक्तजन। तस्बिर : टेकराज पोखरेल/रासस

 पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिर परिसरमा शिवको दर्शनको लागि लामबद्ध भक्तजन। तस्बिर : सुमित्रा अधिकारी/रासस

पवित्रस्थल देवघाटधाममा स्नान तथा पूजाअर्चनाका लागि पुगेका भक्तजन। तस्बिर : कृष्ण आचार्य/रासस ​जनकपुरधाम-१६ मा रहेको कपिलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजन। तस्बिर : निरञ्जनकुमार साह/रासस

  • प्रकाशित मिति : साउन १, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया