नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बसिरहेको छ । पार्टी कार्यालय सानेपामा मंगलबारदेखि जारी बैठकमा आज पनि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् ।
बैठकमा प्रस्तुत १० वटा एजेन्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका हुन् । बैठक आज बिहान ११ बजे सुरु हुनेछ र प्रत्येक बोल्ने सदस्यलाई ७ मिनेटको समय निर्धारण गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा मङ्गलबार प्रारम्भ बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी र अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराएका थिए ।
यसैगरी प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाका विषयमा प्रमुख सचेतक रमेश लेखकले र सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै आफ्ना धारणा व्यक्त गरेका थिए ।
बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ । बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचीमाथि छलफल भइरहेको छ ।
आजको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेकाे र धारणा राख्नेक्रम जारी रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।