२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

सुन तस्करीमा सधैँ किन जोडिन्छ दीपक मलहोत्राको नाम ? (भिडियोसहित)

राजस्व अनुसन्धान विभागले मंगलबार अहिलेसम्मकै ठूलो परिणाममा एक सय किलोहाराहारी सुन बरामद गर्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास गरिएको उक्त सुनसहितको ब्रेक सुको तौल भने एक सय ५५ किलो रहेको बताइएको छ । 

यो प्रकरणमा जो–जो समातिएका भए पनि नेपालमा कसले सुन तस्करी गर्न लगाएको थियो ? सुन तस्करीका नाइके को हुन् ? जवाफ पाइँदैन । जहिले–जहिले सुन तस्करी काण्ड सार्वजनिक हुन्छ, त्यही बेला व्यापारी दीपक मलहोत्राको नाम जोडिन्छ । यसपटक पनि यस्तै भयो । यो काण्डमा पनि उनको संलग्नता रहेको बताइए पनि उनीमाथि कुनै छानबिन भने भएको छैन ।  



मलहोत्राले भने सुन तस्करीमा आफ्नो संलग्नता भएको भनेर छापिएको समाचार पढेर आफैँ आश्चर्यमा परेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले बरामद सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको जिकिर गरेका छन् । यतिसम्म कि उनले आफ्नो संलग्नता पुष्टि भए सबै कानुनी सजाय भोग्न तयार रहेको भन्न भ्याएका छन् ।

तस्करी र राजस्व ठगीमा मलहोत्राको नाम



अहिले भइरहेको सुन तस्करीको योजनाकर्ता मलहोत्रा नै रहेको आशंका गरिएको छ । ०५३ सालमा वामदेव गौतम गृहमन्त्री हुँदा पनि मलहोत्राको नाम ‘सुन तस्करीको सेटिङ मिलाउने उस्ताद’को रूपमा निकै चर्चा हुने गथ्र्यो । 

कतिसम्म भने त्यसैबेला सांसद परी थापा संयोजकत्वको संसदीय समितिले उनलाई कारबाहीको सिफारिस गरेको थियो । तर, शक्तिकेन्द्रसँग लाइन मिलाउन खप्पिस मलहोत्रा भने सधैँ जोगिँदै आएका छन् । 

पछिल्लो समय विभिन्न सामानभित्र लुकाएर सुन तस्करी हुने गरेको छ । एयरपोर्टमा काम गर्ने अन्य प्रहरीलाई थाहा नदिई कार्गोमार्फत विभिन्न सामानभित्र लुकाएर सुन आउने गरेको बताइन्छ । एक सय किलो सुन तस्करीमा पनि त्यही शैली अपनाइएको छ । तस्करी भएर आउनेमध्ये २५ प्रतिशत सुन नेपालमै खपत हुने गरेको छ भने बाँकी भारत पुग्ने गरेको छ । 

०७४ सालमा पनि नेपालमा ३३ किलो सुन तस्करी काण्डले चर्चा पाएको थियो । त्यसमा पनि शंकाको सुई मलहोत्रामाथि नै सोझिएको थियो । तर, र उच्च राजनीतिक संरक्षण प्राप्त मलहोत्रालाई छानबिन गर्ने हिम्मत प्रहरीले गर्न सकेन । त्यसपछि अनुसन्धानको प्रक्रिया नै स्थगितजस्तो भयो । 



त्यसपछि पनि जति–जतिपटक सुन काण्ड भए, उच्च व्यापारिक घरानादेखि राजनीतिक र प्रहरी वृत्तको संरक्षणका कारण मलहोत्रा जोगिँदै आए । पछिल्लो समय उनको निकटता विशेषगरी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग थियो ।

गृह मन्त्रालयलाई समेत जानकारी नदिई प्रधानमन्त्री पुष्पकमल दाहालले ठूलो परिणामको यो सुन प्रहरीमार्फत नभइ राजस्व अनुसन्धान विभागमार्फत किन पक्राउ गर्न लगाए भन्ने कुरा रहस्यमै छ । 

तर, अहिले राजस्व अनुसन्धान विभागसँग मलहोत्राले सेटिङ मिलाउन नसकेका हुन् वा यो तस्करीमा उनले दाबी गरेजस्तै उनको कुनै भूमिका नै छैन ? यदि यस्तो हो भने फेरि उही प्रश्न यसपटकको सुन तस्करको असली मालिक को हो त ?

  • प्रकाशित मिति : ४ साउन, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया