जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।
राजनीतिक दर्शनतर्फ वरिष्ठ राजनीतिज्ञद्वय कुलबहादुर गुरुङ (इलाम) र ढुण्डीराज पौडेल (अर्घाखाँची) तथा साहित्य विधातर्फ देवीप्रसाद उपाध्याय रेग्मी (स्याङ्जा) र गिरीराज आचार्य (धरान)लाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए । मन्त्रालयले गत असार १३ गते पुरस्कारबारे निर्णय गरेको हो ।
पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ । उक्त पुरस्कार विपी कोइरालाको स्मृति दिवसका अवसरमा यही साउन ६ गते विपी सङ्ग्राहलय सुन्दरीजलमा वितरण गर्ने कार्यक्रम तय भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।