संघीय नेपालको पहिलो औपचारिक नक्सा सार्वजनिक

काठमाडौं– सरकारले संघीय संरचना सहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रदेश र जिल्ला सहितको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेकी हुन् । 

सार्वजनिक गरिएको नक्सामा प्रदेश र जिल्ला मात्रै छुट्याइएको छ । एउटै नक्सामा देखाउन साँघुरो भएकाले स्थानीय तह भने छुट्याइएको छैन । तर, चाँडै सातै प्रदेश र ७ सय ५३ स्थानीय तहको नक्सा पनि सार्वजनिक गर्ने मन्त्री अर्यालले बताइन् । 

नक्सामा मुख्य मुख्य ठाउँ÷सहर, विमानस्थल, नदी र ताल तथा पर्यटकीय क्षेत्र पनि अंकित छन् ।

सबै प्रदेशको नामकरण नभएकाले नक्सामा सुदूरपश्चिम, कर्णाली र गण्डकीको नाम र अन्य प्रदेशको भने प्रदेश नम्बर नै उल्लेख गरिएको छ । प्रदेशको नामकरण सकिएपछि नक्सामा सुधार गरिने मन्त्रालयले जनाएको छ । 

मन्त्री अर्यालले आफूले पहिले नै नक्सा बनाउने निर्देशन दिएको भन्दै प्रदेशको नामांकन कुर्दा ढिला भएको बताइन् । बाँकी प्रदेशको नामांकन छिटै हुने संकेत नदेखिएपछि अन्ततः जो भएका नाम उल्लेख गरी नक्सा सार्वजनिक गरिएको हो । 

मन्त्रालयले पहिलो चरणमा सिंहदरबारका सबै कार्यालयमा नक्सा हस्तान्तरण गर्ने बताएको छ । सातै प्रदेश र ७ सय ५३ स्थानीय तहमा पनि दोस्रो चरणमा नक्सा हस्तान्तरण गर्ने मन्त्री अर्यालले बताइन् । 



२०१४ सालमा स्थापना भएको नापी विभागले पहिलोपटक २०३२ सालमा नक्सा सार्वजनिक गरेको थियो । त्यसपछि, दोस्रो नक्सा २०४९ मा सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय संघीय राज्यप्रणाली लागू भएपछि मन्त्रालयले आज तेस्रोपटक प्रशासनिक नक्सा सार्वजनिक गरेको हो । 



  • प्रकाशित मिति : फागुन २३, २०७५ बिहीबार १७:१९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया