पोखरा– हुन्डाई मोटर कम्पनी दक्षिण कोरिया र लक्ष्मी ग्रुप नेपालको सहकार्यमा विन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्ट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।
आज पोखरास्थित मन्दिर परिसरमा एक कार्यक्रमबीच राष्ट्रपति भण्डारीले लिफ्ट उद्घाटन गरिन् । उद्घाटनपछि, कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवर्द्धन गर्दै मानव हितका लागि धेरै काम गर्न सकिने बताइन् ।
मन्दिर दर्शनका लागि इच्छुक, तर भौतिक एवं शारीरिक रुपमा मन्दिरमा पुग्न नसक्ने भक्तजनलाई लक्षित गरी लिफ्ट निर्माण गरेकोमा उनले धन्यवाद दिइन् । सुन्दर प्रकृति र विविधताले भरिपूर्ण पर्यटकीय नगरी पोखराको बिन्ध्यवासिनी मन्दिर ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको पवित्र अनुपम स्थल भएको राष्ट्रपति भण्डारीले बताइन् ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले धर्मबाट अनुशासन हुने र अनुशासन विधि भएको चर्चा गर्दै विधिबाट शासन हुनुपर्नेमा जोड दिए । ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्तलाई लक्षित गरी लिफ्ट निर्माण गरिनु महत्वपूर्ण कार्य भएको उनले बताए ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश प्रकृति र संस्कृतिले सम्पन्न भएको चर्चा गर्दै त्रिवेणीदेखि देवघाट हुँदै मुक्तिनाथसम्मका धार्मिक, सांस्कृतिक एवं पर्यटकीय स्थललाई समृद्धिसँग जोड्नुपर्ने बताए । प्रदेशमा धार्मिक, सांस्कृतिक भावनाका साथै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै प्रदेशको समृद्धिसँग जोड्नुपर्नेमा उनको जोड छ ।
मन्दिरमा दर्शन गर्न आउने वृद्धवृद्धा एवं अपांगको सहजताका लागि लिफ्ट निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले बताएको छ । समितिले दिएको जानकारीअनुसार, १ करोड लागतमा लिफ्ट निर्माण भएको हो । ६० फिट अग्लो लिफ्टको भारवहन क्षमता ६ सय ८० किलोग्राम छ । लिफ्टमा एकपटकमा १२ जनासम्म चढ्न मिल्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।