Tue, 20 Aug, 2019


सन्दर्भ: अन्तर्राष्ट्रिय महिला दिवस
ट्याम्पुको स्टेयरिङमा २८ वर्षे अमिशाका सपना
फरकधार / फागुन २४, २०७५

काठमाडौं– अमिशा क्षेत्रीले जे जेमा पाइला चालेकी छिन्, त्यसमा सफल भएकी छिन् । सफलताको मापन मानिसहरुले विभिन्न आयामहरुलाई आधार बनाएर गर्दा हुन्, अमिशालाई चाहिँ जीवनमा कति खुसी छु भन्ने कुराले सफलताको यात्रा तय गर्छ । 



एसएलसी सक्नुअघि नै विवाह बन्धनमा बाँधिएकी अमिशा पर्वतबाट काठमाडौं आइन् । ‘श्रीमान् बुझ्नु भएकाले धेरै कुरामा सहज भएको छ,’ उनले भनिन्, ‘सानो उमेरमा नै विवाह भयो तर परिस्थित र वातावरण कति सहज बन्यो भने यसमा पनि मलाई कुनै गुनासो छैन ।’

२८ वर्षकी अमिशा आजभोलि दैनिक विहान ९ बजे आफ्नो ट्याम्पु लिएर सडकमा निस्किन्छिन् । अनि सितापाइला–रत्नपार्क रुटमा दिन बिताउँछिन् । 

‘गर्मीमा हुँदो हो त विहान ५ बजे नै निस्कन्थेँ,’ उनले भनिन्, ‘जाडोमा चाहिँ नौ बजे निकालेर साँझ ७ बजेसम्म चलाउँछु ।’

अमिशासँग हामीले यात्रा सुरु गर्यौँ, आरएनसीबाट । उनको ट्याम्पुको पालो आयो । सितापाइला पुग्ने यात्रुहरु उनको गाडीमा चढे । उनले ट्याम्पु स्टार्ट गरिन् । 

‘औसत दैनिक २४० जनालाई यात्रा गराउँछु,’ रत्नपार्कको मोडमा पुग्दा अमिशाले भनिन् । २८ वर्षकी मात्र भएर के गर्नु, अमिशाको जीवनमा यस्ता मोडहरु अनेक आएका छन् । 

कलिलो उमेरमा नै विवाह भयो अमिशाको । त्यति बेला उनी १४ वर्षकी मात्र थिइन् । ‘नौ कक्षामा त पढ्थेँ,’ उनले भनिन्, ‘तर, घरपरिवारले गरेको निर्णयअगाडि मेरो केही लागेन ।’

नेपाली समाजमा विवाहपछि एउटी महिलाका सपना नै फेरिन्छन् । अमिशाका पनि सपना फेरिए । उनी अब श्रीमान्सँग काठमाडौं आउने तयारी गर्न थालिन् । 

तर, एकदिन श्रीमान्ले भने, ‘तिमी यतै बस, अहिले पढ । एसएलसी सकिएपछि काठमाडौंमा सँगै बसौँला ।’

त्यतिबेला त श्रीमान्सँग सँगै बस्न नपाउने भएँ भन्ने चिन्ता अमिशाको मनमा पलाएको थियो । ‘अहिले श्रीमान्ले भनेको त्यो वाक्य मलाई मीठो संगीतको रागजस्तो लाग्छ ।’

यस्तो किन पनि भने अमिशालाई त्यति बेला जीवन र भविष्य, करिअर र सपनाको कुनै हेक्का थिएन । तर, उनले श्रीमान्को त्यो आदेश शिरोपर गरिन्, एसएलसीसम्म गाउँमै बसिन् । 

‘एसएलसी त एकैपटकमा उर्तीर्ण गरेँ,’ उनले भनिन्, ‘अनि काठमाडौं आएँ ।’ अहिले अमिशाले चलाएको ट्याम्पु सुन्धारा आइपुगेको छ । तर, उनको मन चार वर्ष अगाडिको त्यो समयमा पुगेको छ जतिबेला उनी विवाहपछि श्रीमान्सँगै बस्ने भनेर काठमाडौं आएकी थिइन् । 

‘उहाँ ट्युसन पढाउनु हुन्थ्यो,’ अमिशाले भनिन्, ‘१५ सय रुपैयाँ कमाइ हुन्थ्यो मासिक ।’

तर, आएको भोलिपल्टै पैसा सकिन्थ्यो । त्यसैले चाहँदा चाहँदै अमिशाले आफ्नो शिक्षालाई अगाडि बढाउन पाइनन् । ‘श्रीमान्ले त निकै कर गर्नुभएको थियो,’ उनले सम्झिइन्, ‘अगाडि पढ भन्नुभएको थियो तर पैसा जुटाउन गाह्रो हुन्छ भन्ने लाग्यो, मनले मानेन ।’ पढ्न मन हुँदाहुँदै पनि उनले हिम्मत जुटाउन सकिनन्, पैसाको जोहो कसरी गर्ने भन्ने समस्या उनको मनमा आइरह्यो । ‘त्यसमाथि श्रीमान् पनि पढ्दै हुनुहुन्थ्यो,’ उनले भनिन् । 

काठमाडौंमा पाइला चालिसकेको दुई वर्षपछि अमिशाले छोरी जन्माइन् । त्यसपछि सुरु भयो उनको पारिवारिक जीवन । 

‘खर्च बढ्न थाल्यो,’ टेकुमा ट्याम्पु पुग्दा उनले सम्झिइन्, ‘हामीले पसल गर्ने भयौँ, बिजुली पसल ।’

सुरुवाती जोशमा पसलले राम्रो गति लियो । तर, यो गति लामो समय रहन सकेन । त्यसपछि अमिशाको जीवनमा छिटोछिटो मोडहरु आउन थाले, जसरी हामी सवार उनको ट्याम्पुले टेकु पुल कटेपछि लिएको थियो मोडहरु ।

पहिले राम्रो गरेको पसल विस्तारै चल्न थाल्यो । अब के गर्ने भन्ने चिन्ता बढिरहेको समयमा अमिशा श्रीमान्लाई सुखद समाचार आयो– उनी नेपाली सेनामा भर्ती भए ।

श्रीमान् जागिरे भएपछि दिनहरु अलिक सहज हुन थाले अमिशाको परिवारका । त्यहीबीच उनले सिलाईबुनाईको तालिम लिन थालिन् । ‘पसल पनि चलाइरहेको थिएँ,’ उनले भनिन्, ‘त्यो काम अझ सहज होला भन्ने थियो ।’

तर, एक साँझ उनका श्रीमान्ले घरसल्लाह गर्दा भने– मेरो एकजना ट्याम्पु चलाउने साथी छिन्, राम्रो कमाइ रहेकी छिन्, तिमीले पनि ट्याम्पु चलाए हुन्छ नि !

छोरीलाई हेरचाह गर्न अमिशाका सासुससूराले समय दिने भए । उनलाई अब झन् सहज हुने भयो । अमिशा र उनका पतिले निर्णय नै लिए– अमिशाले अब ट्याम्पु चलाउने । 

यतिका कुरा गर्दा अमिशाले ट्याम्पु सितापाइलासम्म पुर्याएकी थिइन् । विगतलाई सम्झिँदा उनको अनुहारमा चमक देखिन्थ्यो अनि जब उनी श्रीमान्को प्रसङ्ग निकाल्थिन्, तब फिस्स हाँस्थिन् । 

ट्याम्पुमा ब्रेक लगाइन् अमिशाले । ब्रेक त जब उनीहरुको निर्णयलाई सासुससूराले हुँदैन कि भन्ने आशङ्का गरेका थिए, त्यति बेला पनि लागेको थियो । ‘बुवाआमाप्रति विश्वास थियो, उहाँहरु पछि कुनै दिन मान्नुहुन्छ भन्ने मनमा थियो ।’

भयो पनि त्यस्तै । अमिशाका सासुससूराले विस्तारै अमिशालाई विश्वास गर्न थाले, उनको काममा भरोसा बन्न थाले । 

सबै कुरा मिलिसकेपछि ऋण गरेर किनेको ट्याम्पु चलाउन थालिन् अमिशाले । तर, अब फेरि इमरजेन्सी ब्रेक लाग्यो उनको ट्याम्पुमा । ‘सरकारले नयाँ नियम ल्यायो– २० वर्ष पुराना गाडी चलाउन नपाइने,’ अमिशाले लामो सास फेरिन्, ‘अब ऋण लिएको पैसाको ब्याज कसरी तिर्ने भन्ने समस्या हुने भयो ।’

तर, अमिशाहरुको इलेक्ट्रिक ट्याम्पु भएकाले सरकारले त्यसको समयसीमा १० वर्ष बढायो । ‘ममाथि सरकारले ठूलो गुण लगायो,’ अमिशाले भनिन्, ‘त्यति बेला मलाई जीवनका खाल्डाखुल्डी पुरिएजस्तो लाग्यो, सरर चिप्लो बाटोमा गाडी चलाउँदाजस्तै जीवनले एउटा गति लियो ।’

त्यो गतिले अहिले अमिशालाई खुसी बनाएको छ, अब त उनले चलाएको ट्याम्पु ऋणमुक्त भइसकेको छ । 

अब फेरि अमिशाले ट्याम्पु चलाइन् । त्यही अघिको बाटो हुँदै अब उनको ट्याम्पुले रत्नपार्कसम्म यात्रुहरुलाई ओसार्छ । 

हामी गफिँदै पनि छौँ । अमिशाले लगाएको कालो चुच्चे टोपी निकालिन् र ट्याम्पुको गियर बदलिन् । 

अनि थोरै पछुतो पनि पोखिन्, ‘कहिलेकांही चाहिँ थप पढेको भए पनि हुन्थ्यो भन्ने लाग्छ तर अहिलेको जीवनसँग पनि गुनासो छैन ।’ गुनासो किन पनि छैन भने चार वर्षअघि बनाउन थालेको उनको घरको निर्माण अहिले पूर्ण भइसकेको छ, उनी आफ्नै घरमा बस्न थालिसकेकी छिन् । 

‘परिवारका सबै जना मिलेर गर्ने हो भने सफलता तर्फको यात्रा सहज रहेछ,’ आज बाटोको ट्राफिक सहज भएकाले उनी खुसी पनि छिन्, ‘अहिले त हाम्रो घरमा श्रीमान्को कमाइ खर्च भए मेरो बचत हुन्छ, मेरो खर्च भए श्रीमान्को बचत हुन्छ ।’ 

अमिशा आजभोलि दैनिक ३ हजारको सरदरमा बचत गर्छिन् । ‘कहिलेकांही ट्याम्पु बिग्रिएर समस्या नहुने पनि होइन,’ उनले भनिन्, ‘सानातिना दुःख त हुन्छन् तर तिनको खासै पर्वाह म गर्दिनँ ।’ ती सानातिना दुःखमा ट्राफिक प्रहरीले दिने अनावश्यक झन्झटलाई पनि अमिशा समेट्छिन् ।

जे होस्, जीवनमा एउटा मीठो मुस्कान लिएर अमिशा अगाडि बढेकी छिन् । ‘महिला हुँ केही गर्न सक्दिनँ कि भनेर बसेको भए हुँदैनथ्यो,’ उनले भनिन्, ‘अब त अझ ठूला सवारी चलाउन सिकिरहेकी छु ।’ यसको अर्थ हो अबको केही समयमा अमिशा भ्यान चलाइरहेकी पनि हुन सक्नेछिन् । ‘माइक्रो चलाउँ कि भन्ने पनि लागिरहेको छ,’ उनले भनिन् ।

आरएनएसीको गेटमै आएर ट्याम्पुमा ब्रेक लगाएपछि अमिशा पछाडि फर्किइन्, यात्रुको भाडा लिन थालिन् । अनि हामीसँग बिदा हुँदा थोरै मुस्कानका साथ भनिन्– गरे सकिन्छ ।

अमिशाको यो सन्देश आज अन्तर्राष्ट्रिय महिला दिवसका दिन नेपाली महिलाहरुलाई अझ सशक्त बनाउन पक्कै फलदायी हुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्