‘सिके राउतको नाममा रोटी सेक्नेहरुको रोटी अब काँचै हुने भयो’

काठमाडौं– अलग मधेशको मुद्दा राख्दै आन्दोलन गरिरहेका सिके राउत र उनको नेतृत्वको समूह स्वतन्त्र मधेश गठबन्धनबीच भएको सम्झौता कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राउतले नयाँ पाइला चाल्न थालेको बताएका छन् । अब देश समृद्धिको यात्रामा रहेकाले राउतको यो निर्णय निकै बुद्धिमानी भएको उनले बताए । 

सिके राउतको निर्णय क्षमता नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको जस्तै राम्रो भएको भन्दै भाषण सुरु गरेका ओलीले अब मधेशमा सिके राउतको नाम लिएर दादागिरी गर्नेको समय सकिएको पनि बताए । ‘उहाँको नाममा रोटी सेक्नेहरुको रोटी अब काँचै हुने भयो,’ प्रधानमन्त्री ओलीले यसो भन्दा राष्ट्रिय सभा गृहमा हाँसोको फोहोरा छुट्यो । 

‘हामीलाई थाहा थियो, उहाँको नाममा राजनीति गर्न खोज्नेहरु निकै धेरै थिए,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, अब त्यो सब सकिएको छ । अब नयाँ यात्रामा हामी अगाडि बढेका छौँ ।’ प्रधानमन्त्री ओलीले कार्यक्रममा सरकार शान्ति र सुरक्षाका लागि लागिपरेको पनि बताए । 

उनले सम्बोधनमा पानीजहाजको प्रसङ्ग पनि निकाले । ‘अहिले त जम्मा १६ कर्मचारी राखिएको हो,’ उनले भने, ‘सामान निकै सस्तोमा आउने भएपछि सुरु भएको पानीजहाज कार्यक्रमको पनि मानिसहरुले यसै विरोध गरे ।’ ओलीले सम्बोधनमा सिके राउत टेक्नोक्रेट, बुद्धिजीवि, डाक्टर भएको र अब खुला राजनीतिमा आएर राजनीतिज्ञ पनि हुन लागेको बताएका थिए । 

यसअघि सम्बोधन गर्दै सिके राउतले आफूलाई राजनीतिक स्पेस दिएकाले सरकरालाई धन्यवाद दिएका थिए ।






  • प्रकाशित मिति : फागुन २४, २०७५ शुक्रबार १५:४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया