logo-img

चितवनमा डेंगुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । 

आइतबारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो ।



नगरप्रमुख शशीकुमार खनियाँ, उपप्रमुख कविता उप्रेतीलगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र स्थानीयवासी अभियानमा सहभागी भएका थिए । सो अवसरमा नगरप्रमुख खनियाँले अभियानलाई निरन्तरता दिने जनाउँदै सबै स्वास्थ्यका सवालमा नागरिक सचेत बन्नुपर्ने बताए ।

पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन निरन्तर सरसफाइको लागि जनचेतनामूलक अभियान अगाडि बढाइएको उनले जानकारी दिए ।

पहिलो दिन नगरपालिकाको वडा नम्बर ६ र ८ मा अभियान सञ्चालन गरिएको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख निर्मल घिमिरेले बताए । उनले बजार क्षेत्रमा अभियान सञ्चालन गरिएको जनाउँदै सबै वडामा यो अभियान सञ्चालन हुने जानकारी दिए । 

डेङ्गुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम गरिएको उनको भनाइ छ । ‘नगरपालिकाका विभिन्न क्षेत्र लामखुट्टेको लार्भा बनाउनका लागि उपयुक्त वातावरण छन्, तीव्र सहरीकरणका कारण पानी जम्ने ठाउँसमेत प्रशस्तै छन्,’ उनले भने । 



विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यो लामखुट्टे फूल पार्छ । विशेष गरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ । 

उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । जटिल प्रकृतिको डेङ्गुको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्छन् । रासस 



  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया