logo-img

कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण नगर्ने

नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण नगर्ने भएको छ । उक्त शाखाले ६० प्रतिशत हाराहारी क्रियाशील सदस्यको मात्रै नवीकरण गर्ने तयारी गरेको हो ।

चौथो महाधिवेशनमा उक्त शाखाले २८ हजार दुई सयजनाको क्रियाशील सदस्यता तय गरेको थियो । क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा चारवटा वडामा क्रियाशील सदस्यभन्दा कम मत पार्टीका उम्मेदवारले पाएकाले क्रियाशील सदस्य नवीकरणमा कडाइ गर्न लागिएको हो ।
 
जिल्ला सभापति राजेश्वर खनालका अनुसार यही साउन ६ गतेदेखि सबै वडामा सदस्यता नवीकरण अभियान थालिएको छ । हालसम्म ५० प्रतिशत हाराहारीले नवीकरण गरेको तथ्यांक छ । केही समय थप गरेर नवीकरण टुंग्याउने पार्टीको तयारी छ । यद्यपि पार्टीका उम्मेदवारलाई भोट नहाल्नेलाई कुनै हालतमा पनि नवीकरण नगर्न वडाहरुलाई भनिएको छ ।
 
जिल्ला समितिले स्वघोषणापत्रमा सदस्यताको अनिवार्य हस्ताक्षर हुने गरी फारम पठाएको छ । स्वघोषणापत्रमा भनिएको छ, ‘मैले नेपाली कांग्रेसको नीति, दृष्टिकोण, विचारअनुसार र नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको निर्देशनलाई पालना नगरेको कहीँ कतैबाट प्रमाणित भएमा क्रियाशील सदस्यता रद्द गरे मेरो पूर्ण मञ्जुरी रहने छ ।’ यसले पार्टी भित्रको थप अनुशासन कायम गर्ने उनको भनाइ थियो । 

पार्टीको सदस्य भएर पनि विगतका निर्वाचनमा पार्टीप्रति सकारात्मक भूमिका निर्वाह नगर्नेहरु नवीकरण गर्न नआऊन् भन्ने पार्टीको मान्यता रहेको सभापति खनालले बताए । उपनिर्वाचनमा चितवन क्षेत्र नं २ अन्तर्गत भरतपुर महानगरपालिका वडा नं ४, ५, १० र कालिका नगरपालिकाको वडा नंं ६ मा क्रियाशील सदस्यभन्दा कम मत आएको थियो । 

खनालका अनुसार आठ सय ३९ क्रियाशील सदस्य रहेको भरतपुर–१० मा ६ सय २१ मत मात्रै मत कांग्रेसका उम्मेदवारले पाएका थिए । उनले भने, ‘पार्टीका उम्मेदवारले पाएको मतभन्दा बढी क्रियाशील सदस्य नवीकरण हुँदैन ।’
 
पार्टीमा नवीकरणमा क्रियाशील सदस्य घटाउने अभियानमा आफू रहेको भन्दै उनले पार्टीप्रति प्रतिबद्धहरुले नयाँ सदस्यता पाउने बताए । नेपाली कांग्रेसलाई स्वच्छ र सुन्दर पार्टी निर्माणका लागि पार्टीको निर्देशन नमान्नेलाई सदस्य भन्न नसकिने सभापति खनालको भनाइ थियो ।





  • प्रकाशित मिति : साउन १६, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया