नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौं प्रहरीले प्रदर्शनकारीहरूलाई अमानवीय ढंगले कुटपिट गरेको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत प्रहरीले गरेको अमानवीय क्रियाकलापलाई ढाकछोप गरेर, कुतर्क गरेर बस्ने हो भने लोकतन्त्रलाई के होला भन्दै प्रश्न पनि गरेका छन् । उनले सरकारका उच्च पदाधिकारीहरूले बेलैमा ध्यान नपुर्याए इतिहास निर्मम हुने चेतावनी दिएका छन् ।
उनले लेखेका छन्, ‘नेसपाका केन्द्रीय सदस्यहरू नेरूता तामाङ, मन्जु थापा मगर, मन्जु मिक्चान तामाङलगायत दर्जनौँ प्रदर्शनकारीहरूलाई काठमाडौं प्रहरीले हिरासतमा लिएर अमानवीय ढंगले कुटपिट गरेको भिडिओ, अडियो, फोटो र प्रत्यक्ष भोग्ने,देख्ने,सुन्ने साक्षी विद्यमान छन् । अझै पनि यसलाई ढाकछोप गरेर, कुतर्क गरेर बस्ने हो भने हाम्रो लोकतन्त्रलाई के भन्ने होला ? कुर्सीमा विराजमानहरूको बेलैमा ध्यान पुगोस् नत्र इतिहास निर्मम हुन्छ है ।’
उनले बिहीबार प्रेस वक्तव्य जारी गर्दै शान्तिपूर्ण रूपले प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई अनावश्यक बल प्रयोग गरेर प्रहरी कार्यालयभित्र निर्घात कुटपिट गर्नु लोकतन्त्रको उपहास भएको भन्दै भर्त्सना गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।