ट्रम्पका पूर्व सहयोगी पल म्यानफोर्टलाई ४७ महिना जेल सजाय

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा अदालतले बिहीवार राष्ट्रपति डोनल्ड ट्रम्पका भूतपूर्व सहयोगी पल म्यानफोर्टलाई बैंक ठगी र कर हिनामिनाको अभियोगमा ४७ महिनाको जेल सजाय सुनाएको छ । उनी ट्रम्पको सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचन अभियान प्रमुख थिए ।  

गत वर्ष अदालतले म्यानफोर्टले युक्रेनमा राजनीतिक परामर्शबाट कमाएको दशौँ लाख डलर लुकाएको ठहर गरेको थियो ।  राष्ट्रपतीय निर्वाचनका बेला ट्रम्प र रुसको सम्बन्धबारे एउटा छानबिन सुरु भएपछि उनीविरुद्ध ती अभियोगहरू लगाइएको थियो । 

म्यानफोर्टले दुई करोड ४० लाख डलर क्षतिपूर्ति र ५० हजार डलर जरिवाना तिर्नुपर्ने फैसला अदालतले सुनाएको छ ।  बिहीवार साँझ अदालतमा उपस्थित भएका म्यानफोर्टले विगत दुई वर्ष आफ्नो जीवनको सबैभन्दा कठिन समय भएको बताएका थिए । 

आफू अपमानित र लज्जित भएको भन्दै उनले न्यायाधीशलाई आफूप्रति सहानुभूति राख्न अनुरोध गरेका थिए । उनले आफ्नो जीवन व्यावसायिक र आर्थिक रूपमा भद्रगोल भएको पनि स्वीकार गरे । तर न्यायाधीश टीएस एलिसले म्यानफोर्टले अनुचित गतिविधिमा संलग्न भएर पनि पश्चात्ताप नगरेकोमा आश्चर्य व्यक्त गरेका सञ्चारमाध्यममा जनाइएको छ । 

उनीमाथि लागेका अन्य १० अभियोगलाई भने अदालतले खारेज गरिदिएको छ । अमेरिकाको न्याय मन्त्रालयका विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले २२ महिनाअघि ट्रम्प र रुसको सम्बन्धबारे थालेको अनुसन्धान सम्पन्न हुन लागेको ठानिएको छ ।  तर म्युलरले गरेको छानबिनका आधारमा म्यानफोर्टलाई कुनै अभियोग लगाइएको थिएन । 

न्यायाधीशले म्यानफोर्ट रुससँग मिलेको भन्ने विषयसँग अहिलेको मुद्दाको सम्बन्ध नभएको बताएका सञ्चारमाध्यमहरूले जनाएका छन् । म्युलरले आफ्नो प्रतिवेदन चाँडै महान्यायाधिवक्तालाई बुझाउने अपेक्षा गरिएको छ । 





  • प्रकाशित मिति : फागुन २५, २०७५ शनिबार ८:४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया