सेलेब्रिटीका शनिबार योजना

काठमाडौं– शनिबार आएपछि आम नेपालीको मनमा नयाँ उत्साह सन्चार हुन्छ, घरमा समय दिने होस् या आफूलाई रिफ्रेस गर्ने दिनका रुपमा मानिसहरु शनिबारलाई लिन्छन् । शनिबार बिदा दिने चलन बसेपछि साताभरको थकानबाट विश्राम लिने दिनका रुपमा पनि शनिबारलाई लिनेहरु नभएका होइनन् ।

नेपालमा साताको एक दिन बिदा हुन्छ । तर, केही युरोपेली तथा अन्य देशमा सातामा दुई दिन विदा हुने चलन पनि छ । केही समयअघि गरिएको एउटा अध्ययनले मान्छेले आफूलाई पर्याप्त समय दिन नसकेकाले ऊ डिप्रेसनको शिकार हुँदै गएको छ । त्यसैले केही देशले काम गर्ने सातामा दुई दिन बिदा गर्ने कि भन्ने अवधारणा पनि ल्याएका छन् । 

हामी जो ‘रेगुलर’ काममा छौँ, हामीलाई त शनिबार रमाइलो गर्ने दिनजस्तो लाग्नु वा आफूमा स्फूर्ति भर्ने दिनजस्तो लाग्नु स्वभाविक हो । तर, के सबैलाई यस्तो हुँदो हो ? झन्, कलाकारितमा लागेका कलाकारहरु शनिबारको योजना के बनाउँदा हुन् ? 

‘अहिले त शनिबार विशेष बार हो जस्तो नै लाग्दैन,’ निर्देशक तथा अभिनेता निश्चल बस्नेत भन्छन्, ‘पहिले पहिले शनिबार आयो भन्दा खुब रमाइलो लाग्थ्यो, अहिले यो दिन काम, यो दिन रेस्ट भन्ने कुरा बारले निर्धारण गर्दैन ।’

शुक्रबार साँझ भोलि त शनिबार, के छ तपाईंको योजना भन्नेवित्तिकै निश्चलले भने, ‘आजभोलि त काम नभएको दिन सधैं बिदा, काम भएको दिन सधैं काम, कुन बार भन्ने नै भएन ।’ 

यस्तो हुँदाहुँदै पनि निश्चल शनिबारको दिन सुटिङ परेको छैन भने घुम्न जान्छन् । कहिलेकांही घरमा नै मुभी हेरेर बिताउँछन् । ‘कहिलेकांही त सुतेर नै पनि बित्छ,’ उनी भन्छन्, ‘कहिलेकांही बाइक राइडमा जान्छु, भ्यालीबाहिर भयो भने त निकै रमाइलो हुन्छ ।’



अर्कोतिर अभिनेत्री निता ढुङ्गाना चाहिँ शनिबारलाई रमाइलो रुपमा लिन्छिन् । ‘सुटिङ नै भए पनि शनिबार विशेष रमाइलो हुन्छ, शनिबार हो नि भन्ने सोच्दा मात्रै पनि दिमाग र मन खुसी हुन्छ,’ निताले भनिन्, ‘सानो छँदाको प्रभावले पनि होला, शनिबार कामै गरेपनि ह्याङओभर वा थकान महसुस हुँदैन ।’

शनिबार हो भन्ने थाहा भयो भने त्यो दिन विशेष भइहाल्ने निताको अनुभव छ । सुटिङ रहेनछ भने त झन् शनिबार निता घुम्न निस्किन्छिन् । ‘बिहान भाई र परिवार सँग बिताउँछु र दिउँसो पार्टी, इभेन्ट्स तथा साथीहरुसँग रमाइलो गरेर,’ निताले फोनमा कुरा गर्दा पनि शनिबारको खुसी सेयर गरिन्, ‘म साथी भनेपछि हुरुक्कै हुने मान्छे हो, त्यसैले पनि साथीहरुसँग घुमेर, भेटेर, मुभी हेरेर मेरो बिदाको दिन बित्छ ।’



उनलाई शनिबार निकै विशेष लाग्छ । शनिबार सुटिङ नपरे हुन्थ्यो भन्ने कामनासमेत उनी गर्छिन् । ‘शनिबार त साथी र परिवारसँग बिताउन पाए हुन्थ्यो जस्तो लाग्छ,’ उनी भन्छिन् । 

तर, अर्की अभिनेत्री ऋचा शर्मालाई शनिबारसँग खासै त्यस्तो ठूलो मोह छैन । उनलाई शनिबार त्यति ठूलो उत्सव हो भन्ने पनि लाग्दैन । सानोमा परिवारसँग रमाइलो गरेर शनिबार बिताए पनि आजभोलि त्यस्तो प्रभाव नपर्ने उनको अनुभव छ । ‘पहिले त मिठोमिठो खाने दिन शनिबार हो जस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले चाहिँ शनिबार भन्नेवित्तिकै बाटोमा ट्राफिक कम, बन्द पसलहरु, सुनसान बाटो सम्झन्छु ।’

तर, शनिबार बाटोमा गाडीहरु कम हुने भएकाले नै ऋचाले गाडी सिक्न पाइन् । ‘म त शनिबार गाडी सिक्न बाटोमा निस्कन्थेँ,’ उनले हाँस्दै भनिन्, ‘मैले त्यसरी नै विस्तारै गाडी चलाउन सिकेकी हुँ ।’

आजभोलि चाहिँ सुटिङ परेको रहेनछ भने उनी साथीभाइ, परिवार, पार्टीलाई समय दिन्छिन् । ‘शनिबार नै रेस्ट गर्नपर्छ भन्ने आजभोलि लाग्दैन,’ उनले भनिन्, ‘अहिले त रेस्ट भनेको काम नभएको दिन त हो ।’

केही समययता चाहिँ ऋचा विभिन्न अन्तर्क्रियाहरु, वर्कसप तथा सेमिनारमा पनि पुग्न थालेकी छिन् । त्यसैले उनको शनिबार कार्यक्रमहरुमा बढी बित्न थालेको छ । 

अभिनेता दयाहाङ राईलाई पनि शनिबार हो भन्दा दिमागमा छुट्टीको दिन हो भन्ने त पर्छ तर आजभोलि उनी शनिबार आउँदैमा रेस्ट गर्न चाहिँ पाउँदैनन् । ‘घरमै बस्छु, रेस्ट गर्छु भन्न त आजभोलि पाइँदैन, असम्भव जस्तै भइसक्यो,’ उनी भन्छन्, ‘त्यसैले पनि शनिबार अब खासै ठूलो महत्वको लाग्दैन ।’

उनका लागि पनि अन्य कलाकारलाई जस्तै आजभोलि सुटिङ नभएको दिन बिदा हो, शनिबार बिदा नै हो भन्ने चाहिँ होइन । ‘आजभोलि शनिबार फुर्सद भयो भने मण्डला जान्छु, घरमा किताब पढ्छु, सिनेमा हेर्छु,’ उनी भन्छन्, ‘फुर्सद भएका अरु दिन पनि त्यस्तै हुन्,’ उनले भने, ‘शनिबार कहिलेकांही मण्डला पनि जान्छु ।’

  • प्रकाशित मिति : फागुन २५, २०७५ शनिबार १३:५५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया