पढ्दैनन् नेकपाका नेता, पुग्दैनन्  पुस्तकालय, संग्रौलाको टिप्पणी– दलालहरुको पार्टीमा किन पढ्न पर्यो ?

कुनै समय यस्तो थियो– प्रशिक्षण नलिइ कोही पनि कम्युनिस्ट पार्टीका सदस्यसमेत बन्न पाउँदैनथे । कम्युनिस्ट पार्टीको सदस्य हुँ भन्नेहरुले कुनै न कुनै पुस्तक पढिरहेकै हुन्थे । पन्चायती व्यवस्थाविरुद्ध लड्दा नेताका घरमा पुस्तक हुन्थे, प्रहरीले छापा मार्दा आफूसँग भएका लेनिन, माक्र्स वा माओेवाका पुस्तक वा अन्य कुनै सैद्धान्तिक पुस्तक भेटिँदा प्रहरीले समात्ने डरले नेताहरु पुस्तक लुकाउँथे । पछि माओवादी सशस्त्र द्वन्द्वमा पनि प्रहरीले घरघरमा छापा मार्दा पुस्तकहरुलाई पनि आधार बनाउँथ्यो । 

औपचारिक शिक्षाबाट विभिन्न कारणले वन्चित भए पनि नेपालमा कम्युनिस्ट नेताहरुलाई अध्ययनशील मानिन्थ्यो, उनीहरु कुनै न कुनै पुस्तक पढिरहेका हुन्थे । तर, केही वर्ष यता नेपाल कम्युनिस्ट पार्टीमा अध्ययनको बानी घट्दै गएको छ । 

कतिसम्म भने तत्कालीन माओवादीले आफ्नो केन्द्रीय कार्यालयमा स्थापना गरेको पुस्तकालयमा माओवादीकै नेता पुगेका छैनन् । पेरिस डाँडामा व्यवस्थित पुस्तकालय त छ, तर त्यहाँ पुस्तक पढ्ने हेतुले पुग्ने नेता कमै छन् । 

नेपाल कम्युनिस्ट पार्टीका नेता अग्नि सापकोटाको नेतृत्वमा स्थापना भएको यो पुस्तकालयबाट आजसम्म नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा पनि पुस्तक लगेका छैनन् । अरु नेताले पनि खासै लगेका छैनन् । 

त्यहाँको पुस्तकालय हेर्ने लाइब्रेरियन दीपा शर्माका अनुसार पुस्तकालयमा नेता, कार्यकर्ता, अनुसन्धानकर्ता, विद्यार्थीलगायत अध्ययनमा रुची राख्नेहरु कहिलेकांही चाहिँ आउँछन् ।

‘यहाँ आउनुभएको बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस्तकालयमा चासो त राख्नुहुन्छ, यसो हेर्नुहुन्छ अनि फर्किनुहुन्छ,’ उनले भनिन्, ‘तर, आजसम्म उहाँले पुस्तक लैजानु भएको छैन ।’



उनका अनुसार पुस्तकालयमा कृष्णबहादर महरा सभामुख हुनुभन्दा अगाडि मात्र पुगेका थिए । त्यसपछि उनी पुस्तकालय गएका नै छैनन् । बरु महराले सभामुख हुनुभन्दा पहिले पुस्तक लगेका थिए, अरु नेताले त्यहाँको पुस्तकालयबाट पुस्तक लगेका छैनन् । 

शर्मा बेलाबेलामा पुस्तकालय पुग्ने नेताको नाममा झक्कु सुवेदीको नाम लिइन् । ‘उहाँ पत्रपत्रिकाका लागि आउनुहुन्छ,’ उनले भनिन्, ‘किताबका लागि कुमार पौडेल पनि आउनुहुन्छ ।’



पेरिस डाँडामा रहेको पुस्तकालयको सिस्टम पनि व्यवस्थित छैन, शर्माले पुस्तकालयबाट नेताले किताब लैजाँदा खासै रेकर्ड राख्दिनन् । बरु रिसर्चका लागि पुस्तक घरमा लैजान खोज्नेहरुको चाहिँ उनले रेकर्ड राखेकी छिन् । ‘मैले खासै किताब इस्यु गरेको छैन,’ उनले भनिन्, ‘कतिबेला मात्रै गर्छु भने रिसर्च गर्नेहरू, राजनीतिकशास्त्रमा एमफिल गर्नेहरू, पिएचडी गर्नेहरुले किताब लैजाँदा चाहिँ गर्छु । अन्य मानिसहरु आउँदा पनि गर्छु ।’

खासमा त्यो पुस्तकालय त्यहाँ गएर पढ्नेहरुका लागि लक्षित गरेर खोलिएको हो । ‘केहीअघि एकजना समाजवादमा पिएचडी गर्दै छु भनेर आउनुभएको थियो,’ उनले भनिन्, ‘उहाँ लगातार ६ महिना आउनुभयो, उहाँले किताब घर लैजानु पनि भयो । समयमा फिर्ता पनि गर्नु भयो ।’

नेपाल कम्युनिस्ट पार्टी बन्नुभन्दा अगाडिको एमालेको पनि बल्खुस्थित पार्टी कार्यालयमा पुस्तकालय थियो । तर, भूकम्पले भवन भत्काएपछि त्यहाँको पुस्तकालय पनि भताभुङ्ग भयो । पार्टी कार्यालय धूमबाराहीमा सारियो, पुस्तकालय बालकोटस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा । पार्टी मुख्यालय धूमबाराहीमा पुस्तकालय राख्नु पर्ने आवश्यकता नै देखिएन !

अहिले नेकपाका कार्यकर्ताले त्यो पुस्तकालय जान पर्यो भने बालकोट पुग्नु पर्छ । तर, त्यहाँकै लाइब्रेरी पनि समयमा वा नियमित खुल्दैन । पहिले लाइब्रेरी हेरेका रामचन्द्र बोहोरा अहिले पार्टीको मुख्यालयमा नै भेटिन्छन् । त्यसैले पहिलेको एमालेको लाइब्रेरी आजभोलि सन्चालनमा नै आएको छैन । त्यहाँ न कोही नेता पुग्छन्, न कोहीले त्यहाँ भएका पुस्तकबारे ध्यान नै दिन्छन् ।

तर, यो समस्या नेपाल कम्युनिस्ट पार्टीमा मात्र नभएर समग्र समाजमा नै भएको बताउँछन् नरेन्द्रजंग पिटर । उनले भने, ‘समाजमा पठन संस्कृति अत्यन्त कम छ, त्यसमा पनि अझ दर्शन, राजनीति र गम्भीर विषयका पुस्तक पढ्ने त निकै कम छन् ।’

विश्लेषक पिटरले सिद्धान्तको राजनीति अन्त्य भएर सुविधाको राजनीतिकोे सुरुवात् भएकाले अध्ययन संस्कृति पनि हराउँदै गएको बताए । उनले भने, ‘सिद्धान्तको राजनीति अन्त्य भएर सुविधाको राजनीति सुरुवात भइसकेपछि दर्शन, राजनीति, अर्थशास्त्र, यी सबैमा अध्ययन कम हुनुको एउटै कारण यो हो कि राजनीतिक पार्टीमा लाग्नलाई अब सिद्धान्त, विचार चाहिएन । संस्कृतिको विषय चाहिएन । त्यसैले पनि पढ्नेहरु कम हुँदै गएका हुन् ।’


यसरी बनाएँ पेरिसडाँडाको लाइब्रेरी: अग्नि सापकोटा 

हामीले त्यो लाइब्रेरी २०६९ साल मंसिरमा सुरु गरेका हौँ । म सञ्चार विभाग प्रमुख तथा पार्टीको प्रवक्ता भएपछि नै त्यो लाइब्रेरी सुरुवात भएको थियो । 

एउटा पार्टी भनेको विचारको पुन्ज हो, विचारले निर्देशित गर्ने संस्था हो । विचार अध्ययनबाट आउँछ । पार्टीको पुस्तकालय पार्टीको अभिन्न अंग हो । एउटा व्यवस्थित पुस्तकालय बनाउनुपर्छ भनेर मैले त्यो पुस्तकालय सुरुवात गरेँ । 

मेरो सोच पेरिसडाँडामै पुस्तकालयका लागि छुट्टै हल बनाउने भन्ने थियो । तर, त्यो त्यत्तिकै भइरहेको छ । म पार्टी विभागको जिम्मेवारी र प्रवक्ताकबाट हटेँ । पार्टी पनि एकीकरण भयो । 

अहिले म पार्टीमा अर्कै जिम्मेवारीमा छु, त्यसमा ध्यान दिन सकेको छैन । हामीले सुरु गरेको त्यो पुस्तकालयमा धेरैजसो त किनेकै किताबहरू छन् । मलाई यकिन त थाहा भएन सुरुमा २ लाख रुपैयाँ खर्चेर त्यो पुस्तकालय बनाइएको थियो । 

पार्टी एकीकरण भएपछि पनि अहिले पनि पार्टीको स्कुल विभागले पुस्तकालय, मुखपत्र प्रकाशन आदिका लागि आवश्यकताअनुसार छुट्टै बजेट छुट्ट्याउँछ । मलाई चाहिँ त्यो पुस्कालयलाई अनुसन्धान केन्द्रसम्म बनाउन मन छ । म मेरोतर्फबाट सक्दो गर्छु । अब पार्टीले के गर्छ थाहा छैन । तर, अनुसन्धान केन्द्र भयो भने मात्रै कम्युनिस्ट पार्टी बन्छ, नत्र बन्दैन ।

पुस्तकालय र पार्टी भनेका एकअर्काका परिपूरक हुन् । पुस्तकालय नभएको पार्टीको त कल्पना पनि गर्न सकिँदैन । पुस्तकालय भनेको विचारको थलो हो, पार्टी पनि विचार हो । विचारविनाको कुनै पार्टी हुनै सक्दैन । विचार विकास गर्न पार्टी चाहिन्छ, त्यसलाई पुस्तकालयले सहयोग गर्छ । 

तर, पछिल्लो समय हाम्रो पार्टीमा अध्ययन संस्कृति हराएको छ । पार्टी अल्मल्लिएको जस्तो लागेको छ । अध्ययन गर्ने वामपन्थीले नै हो । कम्युनिष्टहरूले नै हो । अहिले वामपन्थीहरूमा अध्ययन गर्ने बानी कम भएको छ । वास्तावमा भन्ने हो भने अध्ययन गर्ने, वैचारिक रूपमा बहस गर्ने बानी हराउँदै गएको छ । कम्युनिष्टहरूका महान् नेता माक्र्सले जति अरू कसले पढ्नुभयो होला र ? उहाँ त लगातार १८ घण्टासम्म पढ्नुुहुन्थ्यो । कहिलेकाँही त २२ घण्टासम्म पनि पढ्नुहुन्थ्यो । कम्युनिस्टहरू सबैभन्दा बढी पढ्ने हुन् । कम्युनिस्टहरू विचारले चल्ने हुन् ।  अहिले हामीकहाँ अध्ययन गर्ने, वैचारिक बहस गर्ने कुरामा असाध्यै कमी भइरहेको छ । यो चिन्ताको विषय हो । 

 

अध्ययन संस्कृतिलाई उत्साहित गर्नुपर्छ: नारायणकाजी श्रेष्ठ, प्रवक्ता नेकपा 

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य समस्या नै वैचारिक, साँस्कृतिक चिन्ता भएको बताए । उनले भने, ‘नेपाली कम्युनिष्ट आन्दोलनमा अहिलेको मुख्य समस्या नै अध्ययन संस्कृति कमजोर हुँदै जानु हो ।’

उनले पार्टीमा अध्ययनको संस्कृति कमजोर हुँदै गएकाले अध्ययन संस्कृतिलाई उकास्नुपर्ने बताए । त्यसका लागि केन्द्रले पार्टी स्कूल सञ्चालन गर्ने र कार्यकर्तालाई कामको रूपमा अध्ययन पनि हो भनेर स्थापित गर्नुपर्ने उनको धारणा छ । 

उनले भने, ‘नेपाली कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीमा अहिलेको आवश्यकता वैचारिक सैद्धान्तिक स्तर उकास्ने, उन्नत बनाउने दिशामा छौं । त्यसकारण अध्ययनको संस्कृति कमजोर भएर गएको छ त्यसलाई सच्याउनुपर्छ । अध्ययनको संस्कृतिलाई उत्साहित गर्नुपर्छ भन्ने आवश्यकता छ । केन्द्रले पार्टी स्कूल सञ्चालन गर्ने, हरेक पार्टी कार्यकर्ताहरूलाई एउटा काम अध्ययन पनि हो भनेर स्थापित गर्नुपर्ने आवश्यकता छ ।’  

 


पठन संस्कृतिप्रति खगेन्द्र संग्रौलाको टिपप्णी

लेखक तथा वामविश्लेषक खगेन्द्र संग्रौलाले नेकपा पार्टीभित्र अध्ययन संस्कृति कम हुनुको कारण आर्थिक, वर्गीय र विश्व परिस्थितिको प्रभाव परेको बताए । 

नेकपालाई डबल नेकपाभन्दै उनले पार्टी कम्युनिस्ट नभएको बताए । उनले भने, ‘धृष्ट शब्दमा भन्ने हो भने (नेकपा डबल) यो कम्युनिस्ट पार्टी होइन, समाजवादी पनि होइन ।’ उनले नेकपा पार्टी विचौलिया, दलाल, ठेकेदारहरूका स्वार्थको प्रतिनिधित्व गर्ने एउटा ठूलो जमात भएको बताए । मानव सभ्याताको इतिहासभरि सूचना, ज्ञान, दर्शन, काव्य प्रायः परिवर्तनको पक्षमा रहेने बताउँदै त्यसले सत्ताहरूमाथि प्रश्न गर्ने संग्रौलाको टिप्पणी छ । 

यतिमात्र होइन, संग्रौलाकै शब्दमा भन्ने हो भने नेकपा डबलमा पुस्तक पढ्नेप्रति वितृष्णा भएको पनि उनले बताए । पार्टीका अध्यक्ष दाहालले पुस्तक बढी पढ्ने मानिस बौलाउँछ भनेको प्रसङ्ग स्मरण गर्दै उनले भने, ‘दाहालले सार्वजनिक समारोहमा भन्नुभयो– जसले पुस्तक बढी पढ्छ त्यो बौलाउँछ ।’ 

दाहालले यो आहुतिप्रति लक्षित अभिव्यक्ति दिएका थिए । यसलाई जोड्दै संग्रौलाले प्रश्न उठाए, ‘दाहालको कुरा मान्ने हो भने पुस्तक नपढ्नुप¥यो– सद्दे हुन, सज्जन हुन, सन्तुलित हुन, मयर्नदित हुन । पार्टीको सर्वोच्च नेताले नै त्यसो भन्छ भने पार्टीको कार्यकर्ताले पुस्तक किन पढ्ने ?’

प्रधानमन्त्री ओलीले एक सार्वजनिक सभामा बुद्धिजिवीतर्फ संकेत गर्दै भनेको प्रसङ्ग निकाल्दै संग्रौलाले भने, ‘तपाईंहरूले बोल्दा अथवा लेख्दाखेरी विचार गरेर बोल्नुस् । विचार गरेर लेख्ुनस् । किनभने रेकर्ड राखिन्छ ।’ 

संग्रौलालाई यस्तो अभिव्यक्ति त तानाशाही व्यवस्थामा मात्र आउने हो भन्ने लाग्छ । 

‘पठन संस्कृतिको प्रश्नको उत्तरको सोझो, ठाडो जवाफ अपूर्ण हुन्छ, यसमा धेरै कारण हुन सक्छन्,’ उनले भने, यसको सजिलो, सोझो जवाफ भन्ने हो भने नेकपा डबल भन्ने पार्टी, ज्ञानविरोधी, सूचनाविरोधी, प्रश्नविरोधी, आलोचनाविरोधी छ । त्यसले पढ्नु आवश्यक नै छैन ।’ 

  • प्रकाशित मिति : फागुन २५, २०७५ शनिबार १६:२७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया