नागढुंगा–नौबिसे सुरुङमार्गको आकस्मिक कामका लागि प्रयोग हुने ‘रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’ भएको छ । सोमबार चार वर्षअगाडि शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङमार्ग निर्माणको काम पूरा भएको हो ।
सुरुङमार्ग निर्माणको क्रममा एक मिटर रेस्क्यु टनेललाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो । ब्रेक थ्ररूमा उपस्थित कार्यक्रमा बोल्दै मन्त्री ज्वालाले नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेलको ‘ब्रेक थु्र’ भएसँगै नेपालको यातायात क्षेत्रमा सुरुङ युगमा प्रवेश गरेको बताए ।
मन्त्री ज्वालाले नेपाल पहाडले भरिएको देश भएकाले छिटो छरितो यातायातको लागि देशमा सुरुङ मार्गको आवश्यकता रहेको बताए । नागढुंगा–नौबिसे सुरुङमार्गको आकस्मिक रेस्क्यू टनेल ‘ब्रेक थ्रु’ भएको र केही महिनापछि मुख्य टनेलको पनि ‘ब्रेक थ्रु’ गरिने उनले बताए । सरकारले नियमित रूपमा अनुगमन गरी सुरुङमार्ग निर्माणको कामलाई छिटोभन्दा छिटो सम्पन्न गरी एक वर्षभित्रै टनेलमा यातायातका साधन सञ्चालनमा ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाए । नागढुंगा–नौबिसे सुरुङमार्गको आकस्मिक ‘रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’ हुँदा अत्यन्त गौरवको अनुभूति भएको बताए ।
आजको दिन नेपालको यातायात क्षेत्रको लागि ऐतिहासिक दिन भएको पनि उनले उल्लेख गरे । उनले नेपाल सरकार अब निरन्तर रूपमा सुरुङमार्ग निर्माणको अभियानमा लाग्ने बताए । उनले सुरुङमार्ग बनाउन सहयोग गर्ने जापान सरकार जाइकालाई धन्यवाद दिए ।
सोमबार ब्रेक थ्रु भएको रेस्क्यु टनेलको लम्बाइ २.५ किलोमिटर रहेको भने २.६ किलोमिटर लम्बाइको मुख्य टनेलको काम करिब १८ प्रतिशत बाँकी रहेको छ । नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माणको काम जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले गरिरहेको छ ।
नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको साढे १३ अर्ब रुपैयाँको सहयोगमा निर्माण भएको हो । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुखनजिकै २ वटा फ्लाइओभर समेतसँगै बनिरहेका छन् । उक्त आयोजना २०७६ कात्तिक ४ मा शीलान्यास गरेका थिए ।
शीलान्यास भएको ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम सुरु भएको थियो । तर, कोरोना, लकडाउन र मुआब्जालगयतका अवरोधले सुरुङमार्ग निर्माणमा ढिलाइ भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।