नेपालमै पहिलोपटक वेद कण्ठस्थ प्रतियोगिता

काठमाडौँ– नेपालका पहिलो वेदाचार्य एवं वेद विषयका पहिलो प्राध्यापक सोमनाथ पौडेलको स्मृतिमा देशमै पहिलोपटक वेद कण्ठस्थ प्रतियोगिता आयोजना गरिएको छ ।

२००९ मा पुतलीसडकमा नेपाल राजकीय संस्कृत महाविद्यालय स्थापना भएसँगै पौडेलले पहिलोपटक वेद प्राध्यापन गरेका थिए । महाविद्यालय पछि वाल्मीकि विद्यापीठमा नामाकरण भएको थियो । 

कान्तिभैरव गुरुकुल गोकर्णेश्वर–४ उत्तरवाहिनीले आयोजना गरेको प्रतियोगितामा सात गुरुकुलको सहभागिता थियो । प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत गुरुकुलका ३५ विद्यार्थीको सहभागिता थियो । सहभागीले डेढ घण्टासम्म वेद कण्ठ सुनाएका थिए । प्राचीनकालमा वेद गुरुले शिष्यलाई सुनाएरै कण्ठ गराउने परम्परा रहेकाले श्रुति पनि भनिन्छ । 

शिक्षामा आधुनिकताको प्रवेशसँगै वेदको अध्ययन अध्यापनमा कमी आयाे । फलस्वरुप वेद कण्ठ हुने मानिस पाउनु दुर्लभप्रायः बन्दै गएकाले प्रतियोगिता आयोजना गरिएको गुरुकुल सञ्चालक समितिका सचिव डा. श्रीराम अधिकारीले बताए । 

प्रतियोगितामा आयोजक कान्तिभैरव गुरुकुल नै पहिलो भयो । भागवत सन्यास आश्रम गुरुकुल पशुपति राममन्दिर दोस्रो, शङ्कराचार्य पीठ वेद वेदाङ्ग गुरुकुल साधुटार, झापा तेस्रो र सप्तमाई संस्कृत माध्यमिक विद्यालय गुरुकुल इलामले सान्त्वना पुरस्कार पाएका थिए । 

प्रत्येक गुरुकुलका पाँच जनाको समूहले वेद कण्ठस्थ सुनाएका थिए । पुरस्कार पाउने सबै विद्यार्थीलाई दक्षिणास्वरुप एक हजार १०० पुरस्कार, प्रमाणपत्र र दोसल्लाले शिक्षा सचिव खगराज बरालले सम्मान गरे। सहभागीलाई आउने, जाने, खाने एवं बस्ने व्यवस्था आयोजक गुरुकुलले नै गरेको थियो । 

सो अवसरमा गुरुकुललाई आर्थिक सहयोग गर्ने निर्मला अर्याल र श्रीचन केसीलाई पनि सम्मान गरिएको थियो । २०६५ मा स्थापना भएको गुरुकुलमा हाल १०० भन्दा बढी विद्यार्थी आवासीय सुविधासहित अध्ययनरत रहेको गुरुकुलले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन २६, २०७५ आइतबार १२:२५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया