नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सभापति आदरणीय श्री शेरबहादुर देउवा ज्यू, म हजुरलाई व्यक्तिगतरूपमा अत्यन्त उच्च सम्मान गर्छु । तत्कालीन पार्टी सभापति आदरणीय स्व. गिरिजाप्रसाद कोइरालाले २०६४ सालमा संविधान सभाको पहिलो निर्वाचनमा कैलाली जिल्ला क्षेत्र नं. २ मा मलाई नेपाली कांग्रेसको तर्फबाट संविधान सभा सदस्यको उम्मेदवार बनाउनु भएको थियो ।
प्रचारप्रसार गर्न अत्यन्त कठिन र जटिल अवस्था रहेको २०६४ सालको संविधान सभाको निर्वाचनमा म कैलाली–२ बाट नेपाली कांग्रेसको उम्मेदवारको रूपमा निर्वाचन लड्दै गर्दा लम्की, कैलालीको हजारौं नागरिकहरू जम्मा भएको चुनावी सभामा मलाई चुनाव जिताउन ‘टीका मेरो छोरी हो । उसलाई जिताउनुस् । म तपांईंहरूको सुख दुःखमा सधैं साथमा रहन्छु ।’ भनेर हजारौं आम मानिसको मन छुनेगरी हजुरले गर्नु भएको हृदयस्पर्शी भाषण जीवनभर भुल्न सक्दिनँ । जसले हजारौं मानिसलाई अत्यन्त भावुक बनाएको थियो । जसले हजारौं मानिसको मन छोएको थियो ।
आज पनि हजुरको त्यो मर्मस्पर्शी र भावनात्मक भाषण त्यहाँका मानिसहरूले सम्झिरहेका हुन्छन् र बेलाबेलामा कुरा गर्छन् । हजुरलाई ‘शेरबहादुर दाइ’ भनेर सम्बोधन गरे पनि मनभित्रबाट हजुरलाई सदैव ‘पितातुल्य’ सम्मान नै गर्छु र जीवनभरी हजुरलाई ‘पितातुल्य’ सम्मान गरी नै रहन्छु । राजनीतिको यात्रामा हजुरसँग थोरै सहमति र धेरै विमतिको प्रष्ट बाटोमा हिँडियो । हजुरसँग नीतिगतरूपमा भविष्यमा पनि सहमति र विमतिको प्रष्ट बाटो हिँडिन्छ । तर पनि हजुरप्रति हृदयदेखि नै मेरो सदैव उच्च सम्मान नै रहिरहेको छ र जीवनभरी रहिरहने नै छ ।
हजुर नेपाली कांग्रेसको दोस्रोपटक केन्द्रीय सभापति र पाँचपटक नेपालको प्रधानमन्त्री भइसक्नुभएको एक परिपक्व राजनीतिज्ञ हुनुहुन्छ । हजुर नेपाल विद्यार्थी संघको संस्थापक सदस्य र दोस्रो केन्द्रीय सभापति पनि हुनु भइसकेको र बहुदलीय लोकतन्त्र र विधिको शासनको लागि आफ्नो सम्पूर्ण जीवन र जवानी अर्पण गर्नु भएको बहुदलीय लोकतन्त्रको एक अथक योद्धा हुनुहुन्छ ।
सुदूरपश्चिममा हामी हजुरले बहुदलीय लोकतन्त्र पुनर्बहालीको लागि गरेको संघर्ष र दुःखका कथाहरू सुनेर हुर्किँयौं । हजुरले बहुदलीय लोकतन्त्रको लागि सहेको जेलनेल र यातनाका साथै चट्टानी अडानका साथ आफ्ना आस्था र आदर्शहरू संगालेका कथाहरू सुनेर सुदूरपश्चिममा हजाराैँ मानिसहरू नेविसंघमा लागे र नेपाली कांग्रेस भए । तर आजकल हजुरले गर्नु भएका निर्णयहरू विगतमा हजुरले नै हिँड्नु भएको र हिँड्न सिकाउनु भएको विधिको शासनको विपरीत किन देखिन्छ ?
म पनि नेविसंघमा र नेपाली कांग्रेसमा लागेर रगत र पसिना बगाएको मानिस हुँ । जन आन्दोलनमा अग्र भागमा रहेर हजारौं विद्यार्थी र महिलाहरूको नेतृत्व गरेको र रगत बगाएको मानिस हुँ । काठमाडौंका सडक र गल्लीमा साथै पद्मकन्या क्याम्पसको न्यानो माटोमा आज पनि जन आन्दोलनमा बगेको हाम्रो रगतको डोबहरू देखिन्छ होला र त्यहाँको हावामा हामीले हजारौंको जुलुसमा चर्को स्वरमा लगाएको गुञ्जायमान नाराहरूको आवाज प्रष्ट सुनिन्छ होला ।
आफूले रगत पसिना बगाएको, आफ्ना ऊर्जाशील उमेरहरू समर्पित गरेको, कडा मिहिनेत गरेको र निःस्वार्थ भएर काम गरेको संगठनमा गलत भइरहेको देख्दा मन दुख्छ र छाती पोलेर आउँछ । कसलाई भन्ने र कहाँ भन्ने थाहा भएन । यसैले हामी सबैको आदरणीय अभिभावक आदरणीय पार्टी सभापति ज्यूलाई सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दैछु र भन्दैछु । गौरवशाली संस्था नेविसंघमा आजसम्म काम गरेका वा नेविसंघको नाम सुनेका कसैले पनि परिकल्पनासम्म पनि नगरेका वा गर्न नसक्ने वा सपनामा पनि नसोचेका ७११ जनाको केन्द्रीय तदर्थ समिति ? यस्तो पनि हुन सक्छ ? विश्वास नै लाग्दैन ।
आदरणीय केन्द्रीय सभापति ज्यू, के मलाई यति पनि लेख्ने अधिकार छैन र ? मनमा लागेका यी भावनाहरू पोख्ने अधिकार छैन र ? कहाँ लेख्ने हो र भावनाहरू कहाँ पोख्ने हो ? थाहा नभएर फेसबुकमा लेख्दैछु ।
हिजोको दिनमा पार्टीका आदरणीय संस्थापक नेता एवं पूर्वपार्टी सभापति आदरणीय स्व. वीपी कोइराला, आदरणीय संस्थापक नेता एवं पूर्वपार्टी सभापति आदरणीय स्व. सुवर्ण शमसेर र आदरणीय संस्थापक नेता आदरणीय स्व. गणेशमान सिंहको साथसाथै पूर्वपार्टी सभापतिहरू आदरणीय स्व. कृष्णप्रसाद भट्टराई, आदरणीय स्व. गिरिजाप्रसाद कोइराला र आदरणीय स्व. सुशील कोइरालाले पनि नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघको तदर्थ समिति गठनहरू गर्नु भएको थियो । तर कसैले पनि ती संस्थाहरूको विधानमा तोकिएको केन्द्रीय कार्य समितिको आकारभन्दा ठूलो आकारमा विस्तार गर्नु भएन । अर्थात् अहिलेको जस्तो नेविसंघ ७०० भन्दा ठूलो, तरुण दल ४०० भन्दा ठूलो र महिला संघ १०० भन्दा ठूलो आकारमा जसरी गठन गरिएको छ, यसले नत देशलाई नत नेपाली कांग्रेसलाई नत सम्बन्धित संस्थालाई नै कुनै फाइदा हुन्छ, यो तथ्य र सत्यलाई अत्यन्त प्रष्टसँग हजुरले बुझ्नुभएको छ ।
तपाईँ जस्तो राजनीति शास्त्र पढ्नुभएको, देश र विदेशको राजनीतिको मर्यादा र गम्भीरता बुझ्नु भएको, कम बोल्ने तर धेरै टाढासम्मको देख्न सक्ने र बाहिर नदेखिने तर भित्रभित्रै धेरै पुस्तकहरू अध्ययन गर्ने अत्यन्त अध्ययनशील व्यक्तिबाट कुनै पनि नेपालीले यस्तो निर्णयको अपेक्षा गरेका थिएनन् र गरेका छैनन् पनि । भर्खरै नेपाली कांग्र्सको केन्द्रीय समितिको बैठक सकियो । केन्द्रीय समितिको बैठकमा सबैले विधि र विधानको जिज्ञासा उठाउनु भएको तथ्य हामीले फेसबुक लाइभ हेरेर थाहा पायौँ । तर बैठकमा लेखिएको माइन्युटको मसी पनि सुक्न नपाउँदै नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति जसरी गठन भयो यसले आम मानिसमा हजुरको र पार्टीको राम्रो छविमा आँच पुर्यायो । यस सत्यलाई हजुरले पनि गम्भीरतापूर्वक प्रष्टसँग बुझ्नु भएको छ । तर पनि यस्तो निर्णय किन आउँछ ?
यति ठूलोठूलो आकारको समितिहरू निर्माण गर्न जसले हजुरलाई सल्लाह दिई रहेका र बाध्य बनाइरहेका छन्, तिनीहरू हजुरको र पार्टीको शुभ चिन्तक होइनन् । यो अत्यन्त तितो सत्य हो । केन्द्रीय समितिको बैठकमा चर्कोचर्को स्वरमा ‘विधि र विधान’ र ‘नीति र नियम’को कुरा गर्ने पार्टीका उप सभापतिहरू, महामन्त्रीहरू, सहमहामन्त्रीहरू र केन्द्रीय सदस्यहरू किन मौन हुनुहुन्छ ?
नेविसंघको ७११ जनाको केन्द्रीय तदर्थ समिति सबै जनाको सहमतिबाट निर्माण भएको हो भन्ने तथ्य सबै जनाको मौनताले स्पष्ट गर्दछ । बाहिर बाहिर चर्को चर्को कुरा गर्ने तर भागबन्डा मिलेपछि सबैजना मौन हुने प्रवृत्तिले पार्टी र यस्तो प्रवृतिप्रति जन विश्वासमा कमी आउँछ । यो तीतो सत्यलाई कहिल्यै पनि कसैले पनि नभुल्नु होला ।
अब कसैले पनि पार्टीभित्र र पार्टी बाहिर चर्कोचर्को कुरा नगर्नु होला किनकी कसैले राम्रै कामको लागि बोले पनि अब मानिसहरूले यी सबै चर्को कुराहरू भागबण्डाको लागि गरेको र भागबन्डा नमिल्दासम्म मात्र गरेको भनेर बुझ्नेछन् । आदरणीय केन्द्रीय सभापति ज्यू, हजुरलाई सबै कुरा राम्रोसँग थाहा छ । हजुरले पार्टीभित्रको र पार्टी बाहिरको राजनीतिको सबै प्रकारको आरोहअवरोह पार गरेर आउनु भएको छ र पार्टीभित्रका सबैलाई राम्रोसँग चिन्नु भएको छ ।
देश र विदेशको राजनीति गम्भीररूपले बुझ्नु भएको तथा राजनीति शास्त्र र नीति शास्त्रका सयौं पुस्तकहरू अध्ययन गर्नु भएका हजुरले भातृ संस्थाहरूमा यस्तो निर्णय कसरी गरिरहनुभएको छ, म व्यक्तिगतरूपमा आश्चर्यचकित भएको छु र दुःखी पनि छु । आफैंले जन्माएको, आफैंले हुर्काएको, आफैंले नेतृत्व गरेको गरेको संगठन नेपाल विद्यार्थी संघ र आफैंले सिकाएको संगठनको आस्था, आदर्श, विधान, विधि, नियम, मर्यादा र आत्मसम्मानको पवित्र पृठभूमिमा हजुर जस्तो नेपाली कांग्रेसको दुईपटक पार्टी सभापति भइसक्नु भएको र पाँचपटक नेपालको प्रधानमन्त्री भइसक्नु भएको र साथसाथै नेविसंघको संस्थापक सदस्य र पूर्वकेन्द्रीय सभापति भइसक्नु भएको बहुदलीय लोकतन्त्रका अथक योद्धा र परिपक्व असल राजनीतिक व्यक्तिबाट कम्तीमा मैले यस्तो निर्णयको अपेक्षा गरेको थिइन । अत्यन्त दुःख लाग्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।