जलस्रोत क्षेत्रमा प्रशासनिक काममा केही वर्ष भोटो फटाएका र त्यसैमा खोजमूलक अध्ययन गरेका द्वारिकानाथ ढुंगेलको पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ फेरि एकपटक चर्चाको केन्द्रमा छ ।
आज मदन पुरस्कार गुठीले उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरेको छ । मदन पुरस्कारका लागि आवेदन परेका ३१३ मध्ये ढुंगेलको पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ उत्कृष्ट पाँचमा छनोट भएको हो । छनोट भएका यी पाँच पुस्तकको सूचीबाट सर्वोत्कृष्ट एक पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ ।
मदन पुरस्कार–२०७९ का लागि छानिएको यो पुस्तक सिमल बुक्सले प्रकाशन गरेको हो । यसपटकको मदन पुरस्कारका लागि छानिएका पाँच पुस्तकमध्ये यो कृति एक मात्र गैरआख्यान पुस्तक हो ।
झण्डै २७ वर्ष निजामती प्रशासनमा बिताएका ढुंगेलले करिब तीन वर्ष जलस्रोत मन्त्रालयको सचिव भएर काम गरे । समाज विज्ञानमा विशेष दख्खल राख्ने ढुंगेलको समयमा नेपालको जलस्रोत क्षेत्रमा अनौठा–अनौठा घटना घटे ।
भारतसँग विद्युत् व्यापार सम्झौता, अमेरिकी बहुराष्ट्रिय कम्पनी एनरोनको कर्णाली चिसापानी १० हजार ८०० मेगावाट जलविद्युत् आयोजना बनाउने प्रस्ताव तथा अस्ट्रेलियन कम्पनी स्नोई माउन्टेन कर्पोरेसन (स्मेक)को पश्चिम सेती बनाउने नाममा विदेशी र उनका स्वदेशी एजेन्टको चलखेल यही तीन वर्षको अवधिमा भए । ठिक यहीँनिर नेपाली जलस्रोतमाथि विदेशी शक्ति कसरी हारालुछ गर्न तम्सिँदा रहेछन् भन्ने कुरा उनले नजिकबाट बुझ्न पाए ।
नेपालको पानीमा विदेशी स्वार्थको प्यासलाई नजिकबाट बुझेको उपयोग उनले ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ लेखेर गरे ।
‘नेपालको जलस्रोत क्षेत्रमा विगतमा के–कस्ता निर्णयदेखि चलखेल भएका रहेछन् भनेर वर्तमान र भविष्यको पुस्तालाई पनि जानकारी गराउन मैले यो खोजमूलक पुस्तक लेखेको हो,’ फरकधारसँगको कुराकानीमा ढुंगेलले भने,‘मैले जलस्रोत मन्त्रालयमा बस्दा देखे–भोगेको अनुभवका आधारमा नेपालको जलस्रोत कसरी चक्रव्यूहमा परेको रहेछ भन्ने कुरा बुझ्न पाएँ, त्यही कुरालाई पुस्तकमार्फत सार्वजनिक गरेको हुँ ।’
एक हजार पृष्ठभन्दा बढीको यो पुस्तकले नेपालले आफ्नो जलस्रोत शक्तिलाई गम्भीरतापूर्वक नलिएको र प्रस्ट राष्ट्रिय दृष्टिकोण बन्न नसकेको ढुंगेलको भनाइ छ । भन्छन्–‘एकातिर हाम्रो जलस्रोतको नीतिगत तहमा हामीमा परिपक्वता छैन, अर्कोतिर भारतसँग गरेका जलस्रोत सम्झौतामा पनि असमानता छ,’ ढुंगेल भन्छन्,‘त्यसका लागि हाम्रो राजनीतिक नेतृत्वले विदेशी स्वार्थलाई कसरी प्राथमिकतामा राख्दा रहेछन् भन्ने कुरा पनि देखियो ।’
नेपालको जलस्रोतमाथि छिमेकी मुलुक भारतको रणनीतिक स्वार्थ जगजाहेर छ भन्ने ढुंगेलको मत छ । उनले आफ्नो पुस्तकमा पनि भारतले कसरी नेपालको जलस्रोतमाथि आफ्नो आधिपत्य स्थापित गरीरहेको छ भन्ने कुरा धेरै ठाउँमा उल्लेख गरेका छन् । यदि यस्तै हो भने एकदिन नेपालको जलस्रोतको साँचो भारतको हातमा पुग्न सक्नेतर्फ उनी चिन्तित पनि सुनिन्छन् ।
नेपालले भारतसँग गरेको विवादित महाकाकली सन्धि नेपालको जलस्रोत इतिहासमा कालो धब्बा मानिनेछ । यसमा को दोषी थियो ? कर्मचारीतन्त्र कि राजनीतिक तह ? जवाफमा त्यसबेला जलस्रोत सचिव रहेका ढुंगेलले भने–मेरो भागमा परेको दोष म लिन्छु, त्यतिबेलाको निर्णयमा निर्णायक रहेको राजनीतिक तहले के गर्छ, उनीहरुले जान्ने कुरा हो ।’
यो पुस्तकलाई लिएर कतै ढुंगेलमाथि सरकारी गोपनीयता भंग गरेको बात लाग्ने त होइन ? उनका शुभचिन्तकले पुस्तक प्रकाशनअघि यस्तै आशंका व्यक्त गरेका थिए । जवाफमा उनले भनेका रहेछन्,‘नेपालको जलस्रोत क्षेत्रमा के के भएको रहेछ भन्ने कुरा अहिलेका र पछिका पुस्ताले पनि थाहा पाउनुपर्ने कुरा हो, यति गर्दा पनि मलाई समाते भने देखा जाएगा ।’
तर, त्यस्तो केही भएन । ढुंगेल अर्को पुस्तकको तयारीमा छन्,अहिले । मु्लुकको सार्वजनिक प्रशासनको सुधार र त्यसमा खेलिएका खेलमाथि यो पुस्तक केन्द्रित हुने उनी बताउँछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।