७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

वरिष्ठ समालोचक चापागाईंलाई दाहाल यज्ञनिधि सम्मान

साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको नाममा स्थापित सम्मान वरिष्ठ समालोचक निनु चापागाईंलाई प्रदान गरिएको छ । दाहालको पाँचौँ वार्षिक स्मृतिका अवसरमा सो सम्मान प्रदान गरिएको हो ।

मण्डिखाटारस्थित ‘सुधाको डिही’मा दाहाल यज्ञनिधि सुधा सदनद्वारा आज आयोजित कार्यक्रममा इतिहासकार ज्ञानमणि नेपालले एक लाख ५० हजार राशिको सो सम्मान चापागाईंलाई प्रदान गरे । गत वर्ष यो सम्मान राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनलाई दिइएको थियो ।



यसैगरी दरबार हाइस्कुलमा गत वर्षको परीक्षामा नेपाली विषयतर्फ सर्वोत्कृष्ट छात्र–छात्रा निखिलकुमार साह र लुनिभा कार्कीलाई छात्रवृत्ति स्वरूप १०–१० हजार राशिको दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कार प्रदान गरिएको छ । 

दाहाल यज्ञनिधिले लामो समय उक्त विद्यालयमा अध्यापन गर्नाका साथै रेडियो नेपालको ‘साहित्य संसार’ कार्यक्रम सञ्चालन गरेका थिए । उनकी धर्मपत्नी सुधा दाहालको नेतृत्वमा गत वर्ष उक्त सदन स्थापना भई सम्मान, पुरस्कार वितरण र प्रकाशनका लागि ५१ लाखको अक्षयकोष घोषणा गरिएको थियो ।



इतिहासकार नेपालले नेपाली समाज र संस्कृतिको रूपान्तरणमा दाहालको योगदान अविस्मरणीय भएको बताए । समालोचक प्रा.डा. माधवप्रसाद पोखरेलले दाहालका रचनामा नेपाली माटोप्रतिको अगाध आस्था प्रकट हुने गरेको जनाए । दाहालका विभिन्न पाँच कृति छन् ।

पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत सहभागी कार्यक्रमको पहिलो सत्रमा प्रा.डा. बद्रीविशाल भट्टराई, प्रमोद प्रधान र डा. रमेश शुभेच्छुले दाहालको कृतित्व र व्यक्तित्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए । 

साहित्यकार अनिल पौडेल र सृजना शर्माले दाहालसँगका प्रेरक स्मरण सुनाएका थिए । कार्यक्रममा गायिका लोचन भट्टराईले दाहालका गीत र कवि देवकुमारी लुइँटेलले दाहालका कविता प्रस्तुत गरेकी थिइन् । 

खोटाङको धारापानीमा विसं २०१० साउन ८ गते जन्मिएका दाहालको २०७९ साउन २५ गते मिर्गौलारोगका कारण निधन भएको थियो । 



तत्कालीन लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चका संस्थापक र नागार्जुन साहित्यिक प्रतिष्ठानका पूर्वअध्यक्ष दाहालले शिक्षा, साहित्य, संस्कृति, सञ्चार र समाजसेवाका क्षेत्रमा दिएको योगदान स्मरणीय छ ।

  • प्रकाशित मिति : २५ साउन, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया