२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

सिडिओले घरमै पुगेर ८९ वर्षीया गिठादेवीलाई दिए नागरिकता

बझाङ जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका । गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ । सोही गाउँमा छन्, ८९ वर्षीया गिठीदेवी जोशी ।


गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाइन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सदरमुकाम नजिकै बस्नेले जन्मेको नौ दशकसम्म पनि नागरिकता नपाएकोबारे मनमा प्रश्न उब्जनु स्वाभाविक हो तर, प्रश्नको जवाफ सोही गिठीदेवी हुन् । 



उनी नागरिकताको आवश्यकताबारे थाहा नहुँदा नागरिकताबिहीन थिइन् । सरकारले दिने सेवाबारे उनी जानकार थिइनन् जसले उनी सरकारबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ)नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि भने प्रशासनको कामप्रति स्थानीय खुसी देखिए । “आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गर्नुभएको थियो । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएका हौँ”, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने ।



नातिभन्दा पछि बज्यैको नागरिकता 

मष्टा गाउँपालिका-३ भातेखोलाका कृष्णप्रसादले २०२० सालमा कान्छी श्रीमतीको रूपमा गिठीदेवीलाई भित्र्याए । जेठी श्रीमतीबाट एउटा मात्र छोरा हुँदा थप सन्तान प्राप्त गर्न गिठीदेवीलाई ल्याएका थिए। तर, उनीबाट सन्तान भएन । जेठी श्रीमतीबाट २०१९ सालमै जन्मिएका थिए गौरीलाल । उनी अहिले ६१ वर्षको भए ।

गौरीलालले २०४२ सालमै नागरिकता लए । गौरीका छोरा छोरी पनि नागरिकता लिइसकेका छन् । कान्छी श्रीमतीलाई नागरिकता दिनेबारे कृष्णप्रसादले पनि चासो देखाएनन् ।

पञ्चायतकालमा सरकारले दिएको अस्थायी निस्साको कागजले सानोतिनो काम चल्दै आएको हुँदा नागरिकता नबनाएको गौरीलालको भनाइ छ । उनी भन्छन्, “सानोतिनो काम चिनारीको रूपमा त्यसै कागजले चलिहाल्थ्यो । अरू आवश्यकता केही भएन । त्यसैले बनाउन पाइएन ।”



गाउँमा धेरै जनाले सदरमुकाम गएर नागरिकता बनाउन सुझाव दिएपछि प्रशासनलाई जानकारी गराएर उनीहरूले घरमै आएर नागरिकता दिएको गौरीलालले बताए । रासस

  • प्रकाशित मिति : २७ साउन, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया