वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाइ’ लोकार्पण गरिएको छ । रिसालको ९६औँ जन्मोत्सवको अवसर पारेर आज आयोजित कार्यक्रममा सो पुस्तक लोकार्पण गरिएको हो ।
पुस्तकमा रिसालको ‘रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, ‘दुई सय रुपैयाँ घुस’, ‘हाम्रै हो लिम्पियाधुरा’, ‘सुशीला, सरकारी पत्रकार’, ‘चर्पी नबनाउनेको घरमा चिया खान्न म’, ‘जेल जीवन र राजनीति’, ‘चुनाव’, ‘गाउँको विकास’, ‘पत्रकार’, ‘उहिले बाजेको पालामा’, ‘लोभी पशुपति’, ‘राजासँगका भ्रमण’लगायत अनुभूति समेटिएका छन् ।
पुस्तक लोकार्पण गर्दै मानवअधिकारकर्मी गौरीशंकरलाल दासले पुस्तकले भैरवको जीवनलाई उजागर गरेको बताए । उनले जीवनमा प्राप्त गरेको उपलब्धि पुस्तकमा समेटिएको बताए ।
अधिकारकर्मी दासले भैरव रिसालसँगको अनुभूति स्मरण गर्दै भने, ‘म र भैरव भाइ सँगसँगै काम गरेका थियौँ, हाम्रो पुरानो सम्बन्ध छ । पुस्तकमार्फत उहाँले जीवनको भोगाइ समेट्नुभएको छ ।’
वरिष्ठ पत्रकार रिसालले ज्येष्ठ व्यक्तित्वबाट पुस्तक लोकार्पण गराएका थिए । मानिसको जिन्दगी कर्कलाको पातको पानी जस्तो भएको उल्लेख गर्दै उनले जीवित रहुञ्जेल राम्रो काम गर्नुपर्ने बताए । आफूले पुस्तकमार्फत जिन्दगीको अनुभव साटेको उनको भनाइ थियो ।
दलित अधिकारकर्मी राम वादीले रिसाललाई दीर्घायुको शुभकामना व्यक्त गरे । कार्यक्रममा संस्कृतिविद् डा. गोविन्द नेपालीले रिजाललाई दीर्घायुको कामना गर्दै भोजपत्रको माला लगाइदिएका थिए । भक्तपुर दधिकोटका सधियारे बालचन्द्र मिश्रले असारे भाकामा वरिष्ठ पत्रकार रिसाललाई शुभकामना दिए ।
समारोहमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, राष्ट्रिय सभा सदस्य वामदेव गौतम, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, एमाले सांसद रघुजी पन्त र सूर्य थापा, नेकपा (माले)का महासचिव सिपी मैनाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायत विशिष्ठ व्यक्तित्वले रिसालको सुस्वास्थ्य, दीर्घायु र सक्रिय जीवनको शुभकामना दिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार रिसाललाई देशविदेशबाट प्राप्त शुभकामना सन्देशसम्बन्धी भिडियो प्रदर्शन गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।