logo-img

एमालेलाई सरकारको होइन, देश र अर्थतन्त्रको चिन्ता हो  : ओली

यो एमाले सरकारमा जाने दाउ त होइन ? यो सुन तस्करीको हल्ला चलाएर एमाले सरकारमा जान खोजेको त होइन भन्ने खालको कुराहरू पनि आउन सक्छन् । तर नेकपा एमालेलाई सरकारमा रुचि होइन । चिन्ता सरकारको होइन, देशको हो चिन्ता । देशको अर्थतन्त्रको हो चिन्ता । 

जनताको दैनिकीको कुन अवस्थामा देश गइराखेको छ, कस्तो अवस्थामा पुगिराखेको छ ? उद्योगधन्दा के भइराखेको छ ? अव म स्पष्ट गर्न चाहन्छु–एमालेलाई अहिले सत्ता मोह, सत्ता लोलुपता, त्यतापटि सत्तातिर हामीले हेरेका छैनौँ । हामीलाई हेर्नु पनि छैन । तर यसको अर्थ हामीले हेरेको छैनौँ भनेपछि सरकारले जे गरेपछि हुन्छ, ढुक्क रहेछ भन्ने होइन । यो पनि गर्न सरकार पाउँदैन । 

आज निर्माण व्यवसायीहरू गिरफ्तार गरिन्छन् । उनीहरूका भनाई कसैले सुन्दैन । किनभने निर्माण व्यवसायीहरू सडकमा आउनुपर्ने अवस्था सरकारले बनाएको हो । र, निर्माण व्यवसाय जब चलेन, त्यसपछि पहिले त हार्डवेयर पसलहरू बन्द । यसको कारोबार बन्द । निर्माण व्यवसाय ठप्प भएपछि । मजदुरहरूले जब पाएनन् । 

त्यसपछि सिमेन्ट, रड, इँटा, बालुवा, गिटी अरू कुनै पनि चिजको कारोबार हुने कुरा भएन । अरू हार्डवेयरका सबै कामहरू बन्द हुने भए । यस्तो खालको स्थिति बन्छ । त्यसको चेन अफ इफेक्ट विकास, निर्माणमा प्रतिकुल असर पार्ने मात्रै होइन । रोजगारीदेखि लिएर सम्पूर्ण आर्थिक क्रियाकलापका प्रतिकुल असर पर्छ । अत्यन्तै गम्भीर असर पर्छ । 

त्यो कुरा ध्यान दिनुपर्दैन, त्यो कुरा सुन्नुपर्दैन ? तत्काल त्यो कुरा उहाँहरूलाई बोलाएर वार्ता गरेर त्यो समस्या समाधान गर्नुपदैन ? अनि उल्टै उहाँहरूले पाउनुपर्ने रकम पाउनुभएको छैन । व्यवसायीहरूलाई सहयोग गर्नुको साटो सरकार घाँटी निचोर्छ । ज्यादतीपूर्ण ढंगले, ज्यादती एक ठाउँमा मात्रै होइन । संसद् अवरोध हुनै हुँदैन । संसद् अवरोध गर्नै हुँदैन । गर्ने परिस्थिति ल्याउनु हुँदैन । 

संसद् देशका लागि, जनताका लागि काम गर्ने थलो हो । र, देश र जनताको काम त्यसले निर्बाध ढंगले गर्नुपर्छ । गर्न पाउनुपर्छ । संसद् देश र जनताको पक्षमा बोल्ने, आवाज उठाउने, देशका हित, जनताका हितको सरकारमा भए रक्षा गर्ने, सरकारमा नभए त्यसका निम्ति दबाब दिने थलो हो । संसद् निदाएर बस्ने ठाउँ होइन, सुतेर बस्ने ठाउँ होइन । चुप लागेर संसद्मा जे भए पनि चलोस् न त, चल्नुपर्छ तर बोल्नुहुँदैन भन्ने कुरा हुँदैन । 



देश र जनताको पक्षमा बोल्नुपर्छ । संसद् अवरुद्ध हुनुहुँदैन । देश र जनताको पक्षमा बोलिएका कुरालाई सरकारले तदनुसार नै लिनुपर्छ । सकारात्मक ढंगले लिनुपर्छ । गम्भीरताका साथ लिनुपर्छ । र, स्वस्थ बहस र स्वस्थ छलफलमा आउनु पर्छ । अहिलेको संसद्को अवरोध म सबै साथीहरूलाई भन्न चाहन्छु–अहिलेको संसद्को अवरोध तपाईँहरूले देख्नुभएको छ । 

हामी चलाउन खोजिराखेका छौँ । तर प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै सत्तापक्ष जर्‍याकजुरुक सबै उठेर हल्ला गर्ने, संसद्मा व्यवधान खडा गर्ने, बोल्न पनि नदिने, प्रतिपक्ष बोल्यो भने सुन तस्करीको सिलसिलेवार काण्डको पत्रकार साथीहरूलाई पनि म भन्न चाहन्छु, अरू सबै साथीहरूले पनि हामी सबै नेपालीले के बुझ्नुपर्छ भने देश यति अप्ठ्यारो गरी यति भयावह ढंगले देशमाथि प्रहार भइराखेको छ । 



देशको अर्थतन्त्रमाथि, देशको सुशासनमाथि प्रहार भइराखेको छ । देशको शासकीय, प्रशासकीय संरचना, मूल्यमान्यता सबै कुराहरूप्रति प्रहार भइराखेको छ । एउटा नाकाबाट दिनमा सय किलो सुन आइराखेको छ । सबै पास भएको छ । फेला परेको छैन । एक दिन एउटा खानतलासीमा सय किलो सुन निस्कन्छ । अनि के यो चुस्की लिने विषय हो ? कुराको चुस्की लिने विषय हो र यो ? यो पार्टीगत पक्षधरताको कुरा हो र ? यो देशप्रति, देशमा सुशासन हुनपर्छ भन्ने कुराप्रतिको हामी सबै नेपालीको उत्तिकै चिन्ता, चासो र सरोकार हुनुपदैन ? तसर्थ, संसद् अवरोध हामीले गरेको होइन । 

यो एउटा नाकाको मात्रै कुरा होइन । मैले भनिराखेको छु । अरू नाकाहरू चेक नै भएको छैन त ? राजश्व किन उठ्दैन ? राजश्वमा किन यति न्यूनता भन्दा भन्सारबाट कारोबार नै हुँदैन त । अन्तैबाट कारोबार हुन्छ । अब यस्तो स्थितिमा हामी सरकारको अयोग्यता, नाकायकीपन अथवा लाचारीपन अथवा बदमासी के हो त्यो ? राम्ररी छानबिन हुनुपर्‍यो । सरकारको संलग्नता छैन भने छानबिनले बताउँछ नि । सरकार किन पहिले नै तर्सिन्छ ? पहिले नै किन ढोका बन्द गर्छ सरकारले ? छानबिन । मैले एउटा कमेन्ट देखेको थिए । 

यो छानबिन समिति भनेको आफ्ना मान्छे राखेर, एमालेका कार्यकर्ता राखेर अनि तमासा गर्न खोजेको एमालेले भन्ने । त्यस्तो माग हो र हाम्रो ? हामीले आफ्नो होइन, न्यायिक छानबिन भनेका छौँ । बहालवाला र पूर्व न्यायाधीशको, कसैको नेतृत्वमा स्वतन्त्र, निष्पक्ष छानबिन । एसपीको नेतृत्वमा गरेपछि एसएसपीले निर्देशन दिएपछि त्यही सिद्धि गयो नि कुरो । 

एसपीको नेतृत्वमा तपाई छानबिन गराउनु हुन्छ । एसएसपीले यहाँ पुगेपछि यसो नगर्नु भनेपछि पालन गर्नुपर्छ आदेश । यति गम्भीर अवस्थामा देश पुगेको छ । अर्थतन्त्र यस्तो अवस्थामा पुगेको छ । यो त गोल्डेन टच भयो क्या । जे छोयो सुन । ब्रेक सु छोयो सुन । सिगरेट छोयो सुन । एउटा मोटर ल्यायो सुन । अर्को ल्यायो सुन । सुनै सुन । भन्सारबाट अहिले त जे ल्याउँदा पनि सुन । यस्तो खालको अवस्थामा देश छ । म आग्रह गर्न चाहन्छु । हामी सबै यो देश रित्याउने, सिध्याउने मामला हो यो । 

यो तरिका, यसबाट हामीले देशलाई बचाउनु पर्छ । त्यस कारण यो पक्ष, त्यो पक्ष होइन । सञ्चार माध्यमामा पनि कसको लगानी छ भन्ने छोडिदिऊँ । देशको पक्षमा हरेक सचेत नेपाली उभिन र बोल्नुपर्ने अवस्था हो यो । त्यसर्थ, किन निष्पक्ष छानबिन गर्न किन नहुने ? अनि छानबिन आयोग बनाउँदा खेरी विषयान्तर हुन्छ भनेको के ? त्यस विषयमा निष्पक्ष, उच्चस्तरीय छानबिन गराउँदा राज्य संयन्त्रलाई प्रयोग गरेर झन सारो निष्पक्ष छानबिन उसले गर्न सक्छ ।

 यसका कनेक्सनहरू कहाँ छन् ? यसको जरो कहाँ छ ? टुप्पो, टुप्पो मात्रै  हेरेर हुँदैन । जरो कहाँ छ ? स्पष्ट देखियो त । २३४ पल्ट कुनै गिरोहसँग लगातार संसद् एक दिन, दुई दिनको बीचमा कसरी हुन्छ मान्छेको ? यो फियर छ ? तैपनि सोधपुछ पनि गर्नुपर्दैन । यो पनि फियर छ ? यस्तरी पनि देश चल्छ ? यो पनि कुनै शासन, प्रशासन चलाउने तरिका हो ? अनि, बाहिर स्टन्ट दिएको छ । गफ दिएको छ । हाउभाउ गरेको छ । 

अनेक प्रकारका भ्रमपूर्ण प्रचार गरेको छ । प्रचारको सन्दर्भमा हामी दुख मात्रै भन्न सक्छौ कि हामी नेपालीहरू कहाँ छौँ ? कुन ठाउँमा छौँ हामी नेपालीहरू ? देश आज कता जाँदै छ, कहाँ पुग्दै छ देश ? कस्तो अवस्थामा जाँदै छ ? अनि सुनिल शर्मा । सुनिल शर्माको सर्टिफिकेटको बारेमा म जाँचकी पनि होइन । अनि, सर्टिफिकेट नजाँच भनेर हामीले भनेको छौँ ? तर यति बेला सर्टिफिकेट जाँच्नु पर्‍यो, पढेर पास गरेको कि चिट चोरेर पास गरेको ? यसको छानबिन यति बेला गर्नुपर्‍यो ? जति बेला सुनिल शर्माले मन्त्रीको राजीनामाको कुरा उठाए । 

यसको जरैसम्म गएर छानबिन हुनुपर्छ भने । त्यति बेलै यो त कमसेकम २५ वर्ष अगाडिको कुरा होला यो । २५ वर्षदेखि सरकार बने होलान् । अनि यति बेला एउटा कार्यकर्ताबाट उजुरी हाल्न लगाएर, यति बेला आजको भोली समाएर एउटा जन निर्वाचित सांसदलाई गिरफ्तार गर्दा सभामुखलाई जानकारी दिनु, इजाजत लिनुपर्दैन ? के कारण हो ? बताइनुपर्दैन ? अर्को, कहाँ छानबिन भएर दोषी प्रमाणित भयो र । एउटा कार्यकर्ताबाट उजुर हाल्न लगायो । 

अनि, त्यो कार्यकर्ताको उजुरीको भरमा मान्छे गिरफतार गर्ने हो भने त कोही पनि बाँकी रहँदैन त ? के दोषी प्रमाणित भएको छ ? यो सबैलाई बोल्न नदिने, तर्साउने, सांसदलाई त यस्तो गर्न सक्छन् भने सरकारले के गर्न सक्दैन भनेर तर्साउने । अहिले रिउमर छ । सब नेताहरूलाई पनि छानबिन गर्ने, यो गर्ने, त्यो गर्ने, जेलमा कोचिदिने भनेर हल्ला चलाइएको छ । जो यस्ता क्रियाकलापमा छन् । 

उनीहरूले अनेक प्रकारका रिउमर खडा गरेर ध्यान डाईभट गर्न खोजेको छ नेपाली जनताको । ध्यान अर्कातिर लैजान खोजेको छ । त्यस कारण हाम्रो पार्टी यसमा गम्भीर छ । यो छिचरो बहसको समय होइन । म साथीहरूलाई भन्न चाहन्छु–गम्भीर भएर सोच्न पर्ने र नेपाली जनताले त्यसमा स्पष्ट दृष्टिकोण लिनुपर्ने समय हो यो । गृहमन्त्रीले त खासमा रोष्टममा किन जानु आफैँ राजीनामा गर्न जानु बाहेक भनेको त्यो अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो, सुन हुन्छ । 

सुन भनेर पक्रियो, राखेको ठाउँबाट चोरी हुन्छ । कस्तो हो त्यो ? गृहमन्त्रीको जबाफदेहिता होइन त्यो ? अनि, गृहमन्त्री त्यहाँ क्विन्टलका क्विन्टल सुन । एउटा मात्रै माध्यमाबाट । एउटा कम्पनीबाट आएको छ । त्यस्तो मान्छेलाई नागरिकता कसेको सिफारिसमा कसले दियो ? आज त्यो नागरिकता सम्बन्धी त्यति बेलाको प्रतिवेदन कहाँ छ ? त्यो गायब गरिएको छ अहिले । यो त तार काट्ने, क्यामेराको मुन्टो अर्कोतिर फर्काउने, घाँटी मर्काउने कस्तो सरकार हो यो ? अनि, कुरा ठूलो गर्ने । अनि, देशको माया छैन, त्यही कुरा २ जना, ४ जना स्वार्थीहरूको कुराका पछाडि समूदबन्दी गरेर अगाडि कुद्ने, लाग्ने ।

 कस्तो दुखद स्थिति हो देशको । संविधान, संविधान, संविधान भनेर माला जप्यो । बिरालाले जस्तौ देब्रे हातले माला जपेको छ, दाहिनेले मुसा झ्याप्प पारेको छ । यो तरिकाको यो सरकारी क्रियाकलाप देखिन्छ । त्यस कारण हामीले यो छानबिन उच्चस्तरीय, यो स्वतन्त्र हुनुपर्‍यो । कर्मचारीहरूको निर्देशित यो होइन । त्यस कारण सरकारले यो स्वतन्त्र छानबिन गर्न नसक्ने बाध्यता यसै बुझ्न सकिँदैन । त्यसर्थ, संसदीय समिति पनि यसमा काम छैन । 

किनभने बहुमत उहाँहरूकै छ । हामीले त्यही सुनेर बस्नुपर्ने ? संसद्, संसदीय समिति, म आफैँ सांसद हो । संसद्को मर्यादा राख्नुपर्ने थियो, तर अहिलेको गठबन्धनले संसदीय मर्यादा राखेर निष्पक्ष छानबिन गर्न सक्दैन । दलीय गठबन्धन अगाडि आउँछ । सुन तस्करीको सम्बन्धमा छानबिन गरौँ भन्दा दलीय गठबन्धन आएर प्रतिपक्षको आवाज पनि त्यहाँ राख्न दिँदैन । प्रतिपक्षलाई बोल्न दिँदैन । संसद् अवरुद्ध गराउँछ । अनि, तपाईँहरू भन्नुहुन्छ, प्रतिपक्षले अवरोध गर्‍यो ।

आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा ओलीको सम्बोधनमा आधारित 

  • प्रकाशित मिति : साउन २८, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया