निरन्तर वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ । चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह ९ मिटर ३३ सेन्टिमिटर पुगेको छ ।
पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर आठ सेन्टिमिटर पुगेमा खतरा तह मानिन्छ । गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले सतर्कता अपनाउने आग्रह गरिन् ।
‘पहाडी क्षेत्रमा भारी वर्षा भएको छ । नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ,’ उनले भनिन्, ‘यही रफ्तारमा पानीको सतह बढेमा तटीय क्षेत्रमा जोखिम बढ्छ । जोखिम क्षेत्रका नागरिक सुरक्षित रहनुहोला ।’
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज थप भारी वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । पछिल्लो २४ घण्टामा चिसापानीमा ६७ मिलिमिटर वर्षा मापन भएको गेजरिडर गुरुङले जानकारी दिइन् ।
यस्तै, विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियामा पछिल्लो २४ घण्टामा ३७ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले जानकारी दिए ।
वर्षा निरन्तर भइरहेकाले कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले जोखिम क्षेत्रमा ‘साइरन बजाएर’ सूचना दिन थालेका छन् । ‘पानीको सहतबारे जानकारी, नदीको अवस्थाबारे जानकारी र अन्य पूर्वतयारीका कुरा साइरनमार्फत सबैलाई निरन्तर जानकारी दिन थालेका छौँ,’ विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले भनिन्, ‘तालिमप्राप्त टिम, बरघर, नगर प्रहरी, विपद् व्यवस्थापन समितिका सदस्य सबै तयारीमा बसेका छौँ ।’
टीकापुरको सत्ती पुलमा पनि नदीमा पानीको बहाव मापनका लागि पालिकाले ‘गेज स्केल’ निर्माण गरेको छ । पानीको सतह बढ्दै गएमा नागरिक सुरक्षित रहन सहयोग पुगोस् भनी पालिकाले सत्ती पुल नजिक गेज स्केल बनाएको टीकापुर नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बलिराम चौधरीले बताए ।
‘नदीमा पानीको बहाव बढ्न थालेपछि नागरिक नदीसम्म हेर्न जाने र फर्कने गरेका छन्,’ उनले भने, ‘यसअघि आएको बाढीले त्रसित भएका केही दिनयता निदाउन सकेका छैनन् ।’ रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।