Sat, 11 Jul, 2020


बैंकको तरलता समस्या समाधान भएकै हो ?
फरकधार / फागुन २७, २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारमा देखिएकाे तरलता समस्या समाधान भएको बताएकाे छ । पछिल्लो केही हप्ता लगानीकर्ताले कर्जा आवश्यक परेको बेला ऋण नपाएका मात्रै होइन, निक्षेपकर्ताले बैंकमा जम्मा गरेको रकम मागेको बेला पनि नपाएको गुनासो गरिरहेका थिए । 



नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा अहिले बैंकमा तरलता समस्या नरहेको दाबी गर्छन् । ‘तरलताको समस्या अहिले मत्थर भएको छ,’ उनले भने, ‘अब बैंकमा गएर कर्जा लिन सकिन्छ ।’

राष्ट्र बैंकले तरलता समाधानकै लागि ५ अर्बको रिपो जारी गरेको थियो । तर, एक हप्तामा परिपक्व हुने गरि जारी गरेको रिपोले तरलता समाधान गर्न भने सकेन । 

यता, राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल समस्या समाधानको लागि राष्ट्रबैंकले धेरै नीतिगत सुधार गरेको बताउँदै एक पटक रिपो जारी गर्दैमा समस्या समाधान नहुने तर्क गरे । 

पौडेल बैंकको निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी भएकै कारण यो समस्या आएको भन्दै बैंकको सिसिडी रेसियोमा परिर्वतन गरेपछि त्यसमा सुधार हुने दाबी गरे । राष्ट्र बैंक तरलता समस्या समाधान गर्न लागि परेको तर अहिले नै समस्याको समाधान भइनसकेको पौडेल स्वीकार्छन् ।

सिभिल बैंकका सिइयो गोविन्द गुरुङपनि तरलता समस्याकै कारण ब्याजदर बढे र अहिले नै तरलता समस्या समाधान भइनसकेको दाबी गर्छन् ।  

जनता बैंकका सिइयो परशुराम क्षेत्रीले थप कर्जा प्रबाह गर्न नसकिएपनि बचतकर्तालाई दिनै नमिल्लने अवस्था भने नरहेको बताउँछन् । पछिल्लो समयको राजनीतिक स्थिरता र उर्जा क्षेत्रको सुधारले औद्योगिक लगानी ह्वात्तै बढ्दा कर्जाको माग बढेको तर्क क्षेत्रीको थियो । ‘नयाँ उद्योग खोल्नेदेखि उद्योगको विस्तार गर्न लगानीकर्ता उत्साहित छन्,’ उनले भने, ‘त्यसैले मागअनुसारको कर्जा दिन सकिएको छैन ।’ राष्ट्र बैंकले पछिल्लो समय गरेको नीतिगत सुधारलाई स्वागत गर्दै उनले तरलता रातारात समाधान नहुने र स्रोतसाधन जुटाउनु नै सबैभन्दा ठुलो समस्या रहेको बताए । 

कर्जाको माग बढ्दा मूल्य बढ्ने भन्दै क्षेत्रीले तरलताकै कारण ब्याजदर बढेको प्रस्ट पारे । ‘हामीले त्यसलाई नियन्त्रण गर्ने सक्दो प्रयास गरिरहेका छौ,’ उनले भने, ‘ब्याजदर बढे उत्पादनको लागत र व्यापार घाटा बढ्नेमा हामी सचेत छौं ।’ 

अर्थशास्त्रको सिद्धान्तले पनि तरलता र ब्याजदरबीच विपरित सम्बन्ध देखाउछ । तरलता बढेमा ब्याजदर घट्छ, तरलता घटेमा ब्याजदर बढ्छ । अर्काेतर्फ तरलताको असर मुद्रा स्फीतिमा पनि देखिन्छ । बजारमा कर्जाको परिचालन कम भयो भने स्वभाविक रुपमा मुद्राको प्रवाह कम हुन्छ । पैसाको अभावले गर्दा बजारमा महङ्गी बढ्छ । ब्याजदरमा भएको वृृद्धिले पनि उद्योगको उत्पादन लागत बढाउँछ र महङ्गी बढाउँछ । 

लागत धेरै हुँदा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै ब्याजदरको समस्या समाधानको लागि उद्योगीहरु प्रधानमन्त्रीलाई गुहार्न पुगे । केही हप्ता अगाडि मात्रै नेपाल उद्योग परिसंघका सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री कार्यालयमा भेटेर ब्याजदर घटाउन अनुरोध गरेका थिए ।

नेपाल वाणिज्य महासंघले पनि प्रधानमन्त्रीलाई भेटेर ब्याजदर कम गर्न अनुरोध गरेको थियो । बैंकले ब्याजदर बढाउँदा लागत बढ्न गई उद्योगहरु प्रतिस्पर्धामा जान नसकेको उनीहरुको गुनासो थियो । 

प्रधानमन्त्रीले भने समस्या समाधानका लागि बैंकहरुसँग छलफल गर्ने आश्वासन दिएका थिए । अर्थमन्त्री डा. युवराज खतिवडा ब्याजदरमा सहमति खोज्न उद्योगी तथा बैंकलाई आग्रह गरिरहेका छन् । उनले गतहप्ता एक कार्यक्रममा ब्याजदरमा सहमति नगरे सरकारले हस्तक्षेप गर्ने चेतावनी समेत दिएका थिए । 

खुल्ला बजारले निर्धारण गर्ने बैंकको ब्याजदर जस्तो विषयमा पनि प्रधानमन्त्री गुहार्नुले हाम्रो स्वतन्त्र बजारमा हस्तक्षेप हुनसक्ने कतिपयको भनाइ छ । यता, बैंकरहरु बजारमा तरलता समस्या समाधान नभएको भन्दै ब्याजदर घटाउन नसकिने बताउछन् । 

बैंकको बचत बढेमा ब्याजदर समस्या आफैं सामाधान हुने क्षेत्रीको दाबी छ । राष्ट्र बैंक भने रिफाइनान्सको रेट ९ बाट ८ प्रतिशतमा झारेको तथा एक्सपोर्ट रिफाइनान्सको रेट ३ बाट १ प्रतिशतमा ल्याएकोले अब तरलता समाधान हुने बताउँछ । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्