काठमाडौं– केही दिनअघि अदालतले रिहा गर्न आदेश दिएको भोलिपल्ट नै सरकारसँग सम्झौता गरेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई राष्ट्रिय सभा सदस्य हुनसक्ने अनुमान बाहिर आएका छन् । यो विषयमा पनि सिकेसँग सम्झौता भइसकेको चर्चा सुरु भएको छ । तर, प्रधानमन्त्री तथा सरकारका कुनै पनि अधिकारी वा नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले यसबारे केही बोलेका छैनन् ।
सोमबार दिउँसो प्रधानमन्त्रीसँग निकट मानिएका एक नेताले फरक धारसँगको कुराकानीमा भने, ‘बाहिर आएका सम्झौताका बुँदाले नै अहिले अप्ठ्यारो परिसकेको छ, यो सहमति पनि भयो होला, केपी ओलीले कसैसँग सल्लाह गरेर काम गर्ने भए पो थाहा हुन्छ, उनको बानी पार्टीमा सल्लाह गरौँ भन्ने खालको नै छैन ।’
ती नेताले अहिले पार्टीका निर्णयमात्र नभएर सरकारका कतिपय निर्णय पनि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एक्लै गर्न थालेको आरोप पनि लगाए । ‘उहाँ सल्लाह गर्नुहुन्न, यो विषयमा हामीले कुरा गरेको थाहा भयो भने उहाँ हामीसँग टाढिनु हुन्छ,’ ती नेताले भने, ‘अहिले पार्टीभित्र पनि असहमति राख्दा नेतालाई एक्ल्याउने क्रम चलिरहेको छ ।’ ती नेताले सिके राउतलाई राष्ट्रिय सभामा ल्याउने खालको सहमति भएको हुनसक्ने सम्भावना अझ बढी भएको बताए ।
त्यसो त, यसअघि पनि कतिपय सरकारका निर्णय नै सार्वजनिक नगरेकाले सिके राउतसँग प्रधानमन्त्री केपी ओलीको राष्ट्रिय सभामा ल्याउनेमा सहमति भएको हुनसक्ने आधार भेटिन्छ । तर, प्रधानमन्त्रीका प्रेस सहयोगी रामशरण बजगाईंले भने यो कुरा अस्वीकार गरे ।
‘सहमति भएका कुरा त बाहिर आएकै छन् नि,’ उनले भने, ‘सहमति नभएका कुरा बाहिर आएका छैनन् र भएका पनि छैनन् ।’ उनले हचुवा वा अनुमानका आधारमा सिके राउतलाई राष्ट्रिय सभामा लैजाने भन्ने चर्चा चलाएको पनि बताए ।
तर, नेपाल कम्युनिस्ट पार्टीकै अर्का नेता भने यो सहमति भएको हुनसक्ने बताउँछन् । ‘प्रचण्डसँग पनि ओलीको आधा आधा समय प्रधानमन्त्री बन्ने सहमति भएको छ,’ उनले तर्क प्रस्तुत गरे, ‘यो पनि बाहिर आएको छैन । ओली आफूलाई सहज हुने काम गर्न जे पनि सहमति गर्न तयार छन् ।’
अर्कोतिर सिके राउतलाई मूलधारको राजनीतिमा ल्याउनु प्रदेश दुईमा ओलीप्रति भएका आशंकालाई हटाउने तयारी हो भन्ने पनि छन् । ‘ओलीले मधेशमा आफूलाई पनि स्थापित गर्न खोजेको बुझिन्छ,’ नेकपाका एक नेताले भने, ‘ओली आफ्नो स्वार्थका लागि राष्ट्रिय क्षतिपूर्तिबारे पूरै बेवास्ता गरेर अगाडि बढिरहेका छन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।