अर्थमन्त्री डा. प्रकाश शरण महतले देशको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित उद्यमशील युवा, सृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘अब बिस्तारै हाम्रो इकोनोमीले लय पक्रँदै छ । हिजो कोभिड थियो, बाह्य अरू पनि समस्याहरू थिए । बिस्तारै त्यो हट्यो । लय पक्रिँदै छ ।’
उनले कोरोना भाइरस र अन्य बाह्य कारणले नेपालको अर्थतन्त्र धराशायी बने पनि अहिले बिस्तारै लयमा फर्किएको दाबी गरे । उनले अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारको आवश्यकता रहेको बताए । उनले अहिले देशभर नकारात्मक विचारहरू बढी प्रचार हुँदा परिणाम सकारात्मक नदेखिएको बताए ।
उनले नेपालको अर्थतन्त्र संकटमा रहेको भन्दै विदेश जानुको विकल्प छैन भन्नेजस्ता प्रचारबाजी भएकाले अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताए । उनले नेपालमा केही छैन र अर्थतन्त्र संकटमा छ भन्ने जस्ता नकारात्मक विचार त्यागेर सकारात्मक उर्जा प्रदान गर्नुपर्ने बताए ।
मन्त्री महतले नेपालको पर्यटन, जलविद्युत र कृषिमा लगानी गर्न बिस्तारै विदेशी लगानीकर्ताहरू बढ्न थालेको बताए । अर्थमन्त्री महतले नेपालमा भएका अवसरलाई युवा पुस्ताले खोज्नुपर्ने बताए । नेपालमै अवसर खोज्ने हो विदेशको भन्दा राम्रो वातावरण भएको दाबी गरे ।
उनले भने, ‘अहिले सामाजिक सञ्जालमा थाहा छँदै छ नेगेटिभ कुरा चाँडो बिक्छ । नेगेटिभ कुराहरू धेरै सर्कुलेट हुने र पोजेटिभ कुराहरू हुँदैनन् । त्यसैले नयाँ डिस्कोर्स सुरु गरौँ । हाम्रो टुरिजम ठप्प थियो, ब्याक भइरहेको छ । मान्छेहरू आउन थालिरहेका छन् । त्यसले अवसर सिर्जन गर्नेछन् । त्यसको फाइदा धेरै पपुलेसनमा आधारित हुन्छ, धेरै रोजगारी दिन्छ । कोही पनि मानिसहरू नलेज छ, आइडिया छ, यहाँ आएर बिजनेस स्टार्ट गर्न चाहन्छ भने सक्नुहुनेछ ।’
अर्थमन्त्री महतले विदेश जाने बित्तिकै सबै चिज प्राप्त हुन्छ भन्ने मानसिकताबाट युवाहरू मुक्त हुनुपर्ने बताए । उनले विकसित मुलुकमा भन्दा नेपालमा धेरै अवसरहरू भएकाले उद्यमशीलताको नेतृत्व युवाले गर्नुपर्ने बताए । उनले उद्यमशीलताप्रति मोटिभेसन गर्ने कुरा एकदमै जटिल बन्दै गएको भन्दै अहिले आफन्त सबै बाहिर जाने क्रम चलेकोले आफू नगए पछि पर्छु भन्ने मानसिकता युवाहरूमा बढेको अर्थमन्त्री महतले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।