काठमाडौं– स्वतन्त्र मधेशको माग राख्दै अभियान चलाइरहेका मधेशका नेता सिके राउतबारे सरकारसँग भएका ११ बुँदे सम्झौताले नेपाली प्रयोगकर्तालाई सामाजिक सन्जालमा निकै तताएको छ । शुक्रबार भएको सम्झौता पछि दर्जनौँ प्रतिक्रिया सामाजिक सन्जालमा आइरहेका छन् । यो विषयमा चासो दिनेमा नेपाली कलाकार पनि अग्रपंक्तिमा नै छन् ।
यो विषयमा कतिले सरकारको आलोचना गरेका छन् भने कतिले यसलाई सहज अवतरणका रुपमा लिएका छन् । नेपाली कलाकारमध्ये दीपकराज गिरीले पनि यसमा निकै चासो देखाएका छन् । सिके राउतसँगको सम्झौता पछि उनले फेसबुकमा दुई स्टाटस लेखेका छन् र निकै धेरै नै प्रतिक्रिया पनि पाएका छन् ।
उनले लेखेको एउटा स्टाटस चाहिँ राउतको पक्षमा छ । त्यसमा उनले लेखेका छन्, ‘राउतलाई डाउट गरेर काम छैन अब ।’ यतिमात्र होइन, नेपाली अधिकांश नेताको विगत बन्दुक वा विखण्डनसँग जोडिएको पनि उनले जोड्न भ्याएका छन् ।
पछिल्लो समय नयाँ नेपाली फिल्मको निर्माणमा केन्द्रित हुन थालिसकेका गिरीले यही विषयमा अर्को स्टाटस पनि लेखेका छन् । उनले त्यसमा लेखेका छन्, ‘देशले अन्याय गरेको छ भने बोलिहाल्नु पर्छ, देशै मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नु पर्छ ।’
यो पछिल्लो स्टाटसमा दीपकलाई समर्थन गर्ने कमेन्टहरु निकै छन् । केहीले त उनले अहिलेसम्मकै राम्रो कुरा उल्लेख गरेको पनि लेखेका छन् । नानु घले थिङले चाहिँ यो स्टाटसमा कमेन्ट गरेकी छिन्, ‘गोली हान्ने हिम्मत सरकारले गरेको भए आज देशको हालत यस्तो किन हुन्छ र ? सरकारले गोली हान्छ तर निर्दोष गरिब जनतालाई, जो देशको शत्रु हो, उसलाई छुँदैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।