logo-img

एक रातको कथामा ‘महानगर’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौं) एक रातको कथामा आधारित छ । ३७ रात छायांकन गरिएको चलचित्रमा महानगर भित्रिनेको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गरिएको छ । 

सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक रातले ल्याएको परिवर्तनलाई चलचित्रमा उतारिएको लेखक तथा निर्देशक मोहन राईले जानकारी दिए । उनले भने, ‘विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई देखाउने कोसिस गरेका छौँ । यहाँ बाहिरिया भएर बाँच्नु र सं३र्ष गर्नुको मेरो आफ्नै भोगाइ छ । मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले चलचित्र तयार गरेँ । खासमा यो ‘ह्युमन कनेक्सन’ र ‘होप’ बारेको चलचित्र हो ।’

निर्देशक राईले उच्च शिक्षा हासिल गर्न तराईदेखि काठमाडौं आएपछि जीवनशैली सोचभन्दा भिन्न तरिकाले अगाडि बढेको केही भोगाइलाई चलचित्रमा समावेश गरिएको बताए । 

‘महानगरमा मेरा आफन्त थिए । तर, समय अभावका कारण उहाँमार्फत मार्गदर्शन नपाउँदा सपनाको सहरमा बस्नसमेत सकस भएको भयो किनकि हामीले बाहिरबाट महानगरलाई बुझ्न सक्दैनौँ । यस्तोमा दोष कसैको छैन किनकि यहाँ सबैको जीवन आफ्नै गतिमा अगाडि बढिरहेको छ,’ निर्देशक राईले भने, ‘भौतिक रूपमा प्रगति हुँदै गर्दा देखिने दुई विभाजनलाई खुसी र आशिषको पात्रमार्फत व्यक्त गर्ने कोसिस गरेको छु । खुसी आफूलाई परिवर्तन गर्न सक्दिनन् भने आशिष सहरले उब्जाएको रहरमा आफूलाई भुलिसकेको छ । उनीहरूको एक रातको भेटको कथा चलचित्रमा छ ।’

चलचित्रमा खुसीको भूमिका निर्वाह गरेकी अभिनेत्री मेनुका प्रधानले रातको सुन्दरतालाई बुझ्न पाएको बताइन् । उनले भनिन्, ‘हामीले रातको दृश्यलाई सोही समयमा छायांकन गरेका हौँ । रातभर छायांकन गर्ने र दिनभर सुत्ने भएका थियौँ । यसले मलाई रातको संसारसँग परिचित गरायो ।’

पात्रका केही स्वभाव आफूसँग मिल्ने भए पनि पूर्ण रूपमा अलग रहेको जानकारी उनले दिइन् । उनले भनिन्, ‘खुसीमार्फत समाजलाई गहन रूपमा बुझ्ने मौका पाएँ ।’ चलचित्रमा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारले अभिनय गरेका छन् । 



चलचित्रमा नरेन्द्र मैनालीले छायांकन, परीक्षित झाले सम्पादन, किशोर आर्चायले ध्वनि सम्पादन तथा पुष्पा संगममले संगीत सिर्जना गरेका छन् । चलचित्रले विभिन्न महोत्सवमा सहभागी भएर ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनलगायतका विधामा अवार्ड जितेको थियो ।



  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया