आर्थिक महानगर ओशाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुती दिएसँगै लोकरक ब्याण्ड नेपथ्यले यो वर्षको श्रृंखलावद्ध जापान यात्रालाई विश्राम दिएको छ । अघिल्ला दुई शहर टोकियो र फुकुओकाजस्तै ओशाकामा पनि नेपथ्य प्रस्तुतिलाई भव्य दर्शक उपस्थितिले साथ दियो ।
‘यो शहरमा आजसम्म पाँच/छ सयभन्दा बढी नेपालीहरूको जमघट भएको रेकर्ड छैन,’ आयोजक टोलीका सबिन थकाली भन्छन्, ‘१७ सय दर्शकहरू एकैपटक कन्सर्ट हेर्नका निम्ति उपस्थित भएको यो नै आजसम्मकै सबैभन्दा ठूलो नेपाली भेला बन्न पुग्यो ।’
ओशाकाको ‘नाम्बा ह्याच सभागृह’ का ढोकाहरू बेलुकी ठीक साँढे ५ बजे खुला गर्नासाथ दर्शकको उल्लेख्य उपस्थिति भइसकेको थियो । त्यसको ठ्याक्कै एक घण्टामा शो सुरु भयो ।
गायक अमृत गुरुङको नेतृत्वमा नेपथ्य टोलीले मञ्च प्रवेश गर्नासाथ पहिलो गीत ‘कोशीको पानी यो जिन्दगानी’ प्रस्तुत गरेको थियो । कार्यक्रम अवधिभर दर्शकसँग संवादसमेत गरेका अमृतले उपस्थित सबैलाई घरी नेपाल पुगेका बेला डाँडा–काँडाको यात्रा गर्न प्रेरित गरेका थिए भने घरी नेपाली भाषा र संस्कृतिलाई जीवित राख्न अनुरोध गरेका थिए ।
‘यो जिन्दगानी’ गीत प्रस्तुत गर्नुअघि उनले हाम्रो समाज परम्परादेखि परोपकारी चरित्रको रहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन आह्वान पनि गरे । एकवर्ष यता नेपथ्यले सडक आश्रित मानवहरूका निम्ती खाना र बसोबासमा समर्पित मानवसेवा आश्रमसँग सहकार्य गर्दै आएको छ । ‘मानवताको लागि संगीत’ नाम दिएर सुरुभएको त्यो अभियानले नै जापान यात्रामा पनि निरन्तरता पाएको हो ।
कन्सर्ट हेर्नका निम्ति ओशाका मात्र नभइ पर–परसम्मका दर्शक उपस्थित भएका थिए । स्थानीय आयोजकहरुका अनुसार नागोया सहरबाट पनि उल्लेखीय दर्शक आइपुगेका थिए । यस्ता दर्शकमा नेपाली मात्र नभइ जापानी अनुहार पनि देखिन्थे ।
तिनैमध्येका एक थिए रियोसुके इमानिशी । रियोसुकेको परिवारसँग नेपाली समाजको पुरानो साइनो छ । सबैभन्दा पहिले त हाम्रो मुलुकमा रहेको विश्वकै सर्वोच्च शिखरमध्ये पर्ने मनास्लु हिमालमा रियोसुकेका हजुरबुवा तोशियो इमानिशीले नै सबैभन्दा पहिलो मानव पाइला टेकेको रेकर्ड छ ।
‘मलाई नेपालै पुगेजस्तो महसुस भयो,’ परिवारका साथ आएर कन्सर्ट हेरिसकेपछि रियोसुकेले भने, ‘यस्तो अवसर जुराइदिएकोमा म आयोजकहरूलाई धन्यवाद दिन चाहन्छु ।’
नेपथ्यको प्रस्तुतिमा विशेष गरेर पर्दामा देखाइने नेपालका दृश्यहरू र गायकका बीच मिलेको तालमेलले आफूलाई सर्वाधिक प्रभाव पारेको उनले उल्लेख गरे । ‘जापान आइपुगेको नेपालको नयाँ पुस्ता नेपथ्यकै कारण खुसीले रोइरहेको चिच्याइरहेको दृश्य देख्न पाइयो,’ रियोसुकेले थपे, ‘नेपालीहरूको यो उत्साहलाई सलाम गर्न चाहन्छु ।’
दर्शकमध्येकै एक थिए नागोयाबाट आएका उज्ज्वल गुरागाइँ । ‘गीत संगीत त छँदैछ,’ उज्ज्वल भनिरहेका थिए, ‘ठ्याक्क समयमा सुरुहुने यत्तिको व्यवस्थित नेपाली कार्यक्रम अरूबेला अनुभव गर्न नपाइने भएकाले पनि नेपथ्य कन्सर्ट छुटाउन मन लाग्दैन ।’
दुईवटा म्युजिक भिडियो र १६ वटा गीत प्रस्तुत गरिएको कन्सर्ट दुई घण्टासम्म निरन्तर चलेको थियो । अन्तिममा पुग्नैलाग्दा ‘गाउँ गाउँबाट उठ’ गीतले जताततै उफार्न थालेको दर्शक ‘रेशम’ र ‘तालको पानी’ सम्म आइपुग्दा चरम उत्तेजनामा पुगिसकेका थिए । त्यो ऊर्जालाई बिहीबार बेलुकीकै अन्तिम गीत ‘रातो र चन्द्रसूर्य’ ले थप अघि बढाएको थियो ।
कार्यक्रममा अमृतलाई ध्रुव लामा (ड्रमसेट), सुरज थापा (किबोर्ड), सुबिन शाक्य (बेस गितार), निरज गुरुङ (गितार) र शान्ति रायमाझी (मादल)ले सघाएका थिए । ओशाकामा श्रृंखलाको अन्तिम कन्सर्ट सम्पन्न भएसँगै नेपथ्यको जापान यात्राले यो वर्षका लागि विश्राम लिएको छ ।
‘यो वर्षदेखि हामीले जापानमा पनि श्रृंखलावद्ध कन्सर्टको थालनी गरेका छौँ,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘जापानका दर्शकहरूले तीनवटै कन्सर्टमा देखाएको हौसलाबाट आगामी दिनका लागि हामी थप उत्साही बनेका छौँ ।’
जापान यात्रा सम्पन्न भएसँगै १४ सदस्यीय नेपथ्य टोली अब नेपाल फर्कने तयारीमा जुटेको छ ।
तस्बिरहरू : दिपित राज / नेपालय
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।