काठमाडौं महानगरले रोजगारीका लागि आवेदन आह्वान गरेको छ । महानगरका मेयर बालेन शाहले सोमबार सामाजिक सञ्जालमा यसबारे विस्तृत जानकारी दिएका छन् ।
महानगरमा भएका बेरोजगार तथा रोजगारदातालाई एउटै प्लेटफर्ममा ल्याएर रोजगारीको अवसर बढाउने तथा श्रम बैंकमा भएका कामदारलाई पूर्वाधार विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक विकासका क्षेत्रमा रोजगारीको अवसर सिर्जना गराउने लक्ष्यका साथ श्रम बैंक परियोजना सञ्चालन गर्न गइरहेको उनले बताएका छन् ।
महानगरले स्थापना गर्ने श्रम बैंकले बेरोजगार युवाहरूको विवरण संकलन गर्ने, उनीहरूलाई शून्य बेरोजगार गौरवको योजना मार्फत आवश्यक प्रशिक्षण दिने, रोजगारदाताको आवश्यकता अनुसार श्रममा पठाउने, निजी क्षेत्रको उद्योग कल कारखाना, व्यवसायमा पठाउने, सरकारी विकास निर्माणका कार्य तथा अन्य परामर्श कार्यमा लगाउनेजस्ता कार्य गर्छ ।
काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष ०८०–८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति अनुरुप , सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता दिन तथा सूचिकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत रोजगार उपलब्ध गराउने उद्देश्य ले श्रम बैंक परियोजना सञ्चालनमा ल्याइएको उनले बताए ।
‘यसै उद्देश्य अनुरुप महानगरपालिका क्षेत्रभरी चालू आर्थिक वर्षको लागि माथि उल्लेखित कार्यहरुमा श्रम गर्न इच्छुक व्यक्तिहरुले तोकिएको फाराम अनुसूची (१) www.kathmandu.gov.np/ बाट डाउनलाेड गरेर आवश्यक विवरण भरी आफू बसेको वडा कार्यालय वा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा अथवा तल दिइएको लिंक मा क्लिक गरी आवेदन फारम भरी पेस गर्न सक्नुहुन्छ,’ उनले भनेका छन्, ‘साथै काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा काठमाडौं महानगरपालिकावासीलाई विशेष प्राथमिकतामा राखी स्वीकृत दर रेटका आधारमा पारिश्रमिक पाउने गरी श्रमशक्तिको उपयोग गरिनेछ र आ व ०८०–८१ मा महानगरका लागि आवश्यक श्रमशक्ति दैनिक ज्यालादारी वा पटकेमा लिँदा यसै सूचीकरण बमोजिम मात्र लिइने व्यहोरा समेत जानकारी गराइन्छ ।’
श्रम बैंकमा आबद्ध हुन आवश्यक न्यूनतम योग्यता
सो श्रम बैंकमा आबद्ध हुनका लागि काठमाडौं महानगरको स्थायी बासिन्दा वा महानगरको करदाता वा महानगरभित्र बसोबास गर्ने नेपाली नागरिक हुनुपर्नेछ । आवेदक १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ ।
आवेदन दिनका लागि नेपाली नागरिकताको प्रतिलिपि, बसाइसराइको कागजात, भाडामा बस्ने भए घर बहाल सम्झौताको प्रतिलिपि र करदाता भए कर तिरेको प्रमाण पत्र पेस गर्नुपर्नेछ ।
थप जानकारीका लागि श्रम बैंक फोकल पर्सन सरिता राईलाई ९८५११११६०० र रोजगार संयोजकलाई ९८५१२७९३०३ मा सम्पर्क गर्न सकिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।