दिवंगत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर सांगीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) बन्ने भएको छ । निर्माता तथा निर्देशक राजीव गुरुङले श्रद्धाञ्जलि दिन तयार पारिएको सामग्री बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिने जानकारी दिए ।
‘अभिनेता ताम्राकारले यस चलचित्रको लेखनदेखि नै गर्नुभएको मिहिनेतलाई सानै रूपमा भए पनि उहाँका प्रशंसकमाझ ल्याउँदै छौँ । यसमा उहाँको आवरण (लुक्स)सँगै पर्दा पछाडिका कामलाई पनि देखाएका छौँ ।’
निर्देशक गुरुङले चलचित्रकै लागि तय गरिएको गीतमा अभिनेता ताम्राकारको दृश्यलाई जोडिएको बताए ।
अभिनेता ताम्राकारले बर्दियाको छायांकन तालिका पूरा गरेर काठमाडौंको सुरुआत गरेका थिए । प्रोडक्सन म्यानेजर अरुण रेग्मीले सारुकलाई श्रद्धाञ्जलि (ट्रिब्युट टु सारुक) कार्यक्रममा चलचित्रको निर्माण समूहसँगै अभिनेता ताम्राकारका नजिकको साथीहरूको उपस्थितिमा हुने जानकारी दिए ।
बर्दियाको छायांकन तालिका सकिएसँगै काठमाडौंमा छायांकनकै क्रममा अभिनेता ताम्राकारले गत असार २१ गते आत्महत्या गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।