चर्चित डेउडा गायक महेशकुमार औजी ‘डेउडा रत्न पुरस्कार’ बाट सम्मानित भएका छन् । सोमबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा उनी १ लाख २५ हजार १ सय ५१ राशिको हिमाल डेउडा रत्न पुरस्कार २०८० बाट सम्मानित भएका हुन् ।
हिमाल डेन्टल अस्पतालले दिँदै आएको हिमाल डेउडा रत्न पुरस्कार यसवर्ष गायक औजीले पाएका हुन् । हिमाल डेन्टल हस्पिटलका अध्यक्ष डा. राजेन्द्र भट्टको उपस्थितिमा पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र केपी शर्मा ओलीले उक्त पुरस्कार गायक औजीलाई हस्तान्तरण गरे ।
लामो समयदेखि सुदूरपश्चिमको लोक गायनमा समर्पित औजीको योगदानको कदर गर्दै नगदसहित पुरस्कृत गरिएको अस्पतालका अध्यक्ष भट्टले बताए । प्रत्येक वर्ष हिमाल डेन्टल अस्पतालले डेउडा गायक तथा सर्जकलाई हिमाल देउडा रत्न पुरस्कार दिँदै आएको छ ।
यसअघि डेउडा गायक अन्तराम विष्ट पनि नगदसहित हिमाल डेउडा रत्न पुरस्कारबाट सम्मानित भएका थिए । हिमाल डेउडा रत्न पुरस्कारबाट सम्मानित हुँदा खुसी लागेको र अझैं आफ्नो कला संस्कृतिलाई चिनाउनको लागि लागिपर्ने गायक औजीले बताए ।
सुदूरपश्चिमी भाषाका ५ सयभन्दा बढी गीत सिर्जना गरेका उनले सयौं गीतमा स्वर पनि दिएका छन् । बैतडीको पञ्चेश्वर बिजुलमा जन्मिएका औजी अहिले राष्ट्रिय कलाकारका रूपमा स्थापित छन् ।
‘अनिता एै बिराना देश मत’, ‘कलेजी कटौन्या माया’ लगायत थुप्रै चर्चित डेउडा गीत गाएर आफ्नो पहिचान बनाएका औजी दर्शक/स्रोतामाझ लोकप्रिय छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।