भौगोलिक अखण्डता कमजाेर पार्ने सहमति गर्न कसैलाई छुट छैन् – काङ्ग्रेस

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

काङ्ग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत उक्त सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्योल सिर्जना भएको जनाएको छ ।

मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई कमजोर पार्ने गरी कसैले पनि कुनै सम्झौता, सहमति गर्ने छुट नपाउने विज्ञप्तिमा उल्लेख छ । 

‘सहमतिमा प्रयोग गरिएको जनअभिमतको आशय सिके राउत पक्षले स्वतन्त्र मधेस राष्ट्रको लागि जनमतसङ्ग्रह हो भन्ने धारणा व्यक्त गर्दै आएको छ ।

सहमतिपश्चात् सिके राउतको जनकपुर भ्रमणमा प्रदर्शन गरिएका ब्यानर, प्लेकार्ड तथा लगाइएका नाराले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई गम्भीर प्रतिकूल प्रभाव पार्ने अवस्था सिर्जना भएको छ’, विज्ञप्तिमा उल्लेख छ । 

सहमतिप्रति दुवै पक्ष इमान्दार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर हुनुपर्नेमा त्यस्तो नदेखिएकाले आशङ्का उत्पन्न भएको प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेद्वारा संयुक्तरूपमा जारी विज्ञप्तिमा जनाइएको छ ।

काङ्ग्रेसले राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामाथि आँच आउन प्रश्रय दिने सहमति तथा क्रियाकलापप्रति घोर आपत्ति प्रकट गरेको छ । 






  • प्रकाशित मिति : फागुन २८, २०७५ मंगलबार १०:२२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया