वैदेशिक रोजगारका लागि सबैभन्दा खतरनाक– मलेसिया !

काठमाडौं– नेपालबाट वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा धेरै घाइते, अंगभंग र मृत्यु हुने देश मलेसिया रहेको छ । यसकारण पनि मान्न सकिन्छ वैदेशिक रोजगारीका लागि खुल्ला गरिएका देशमा सबैभन्दा बढी जोखिम मलेसियामा छ । 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार पछिल्लो एक दशकमा विदेश गएका मध्ये ६ हजार ७ सय ६६ पुरुष र १ सय ५५ महिला गरि ६ हजार ९ सय २१ जनाको मृत्यु भएको छ । यसमा ३६ प्रतिशत मलेसिया गएका कामदार रहेका छन् । मलेसिया गएका २ हजार ४ सय ६३ पुरुष र ३३ महिला गरि २ हजार  ४ सय ९३ को मृत्यु भएको बोर्डले जनाएको हो । 

गत वर्षमा पनि सबैभन्दा धेरै मृत्यु हुनेमा मलेसिया पुगेका नेपालीहरु नै रहेका थिए । आव ०७४–७५ मा वैदेशिक रोजगारीमा भएका ७ सय ९६ पुरुष र २१ महिलामध्ये ८ सय १८ जनाको मृत्यु भएको थियो । यसको ३५ प्रतिशत अर्थात् २ सय ८९ मलेसियामा गएका कामदारहरुको मृत्यु भएको थियो । जसमा पुरुष २ सय ८५ र ४ जना महिला रहेका छन् । 

मलेसियामै सबैभन्दा धेरै घाइते–अंगभंग 

वैदेशिक रोजगारी प्रवद्र्धन बोर्डका अनुसार वैदेशिक रोजगारमा गएकामध्ये सबैभन्दा धेरै विरामी वा अंगभंग भएर फर्किनेमा पनि रोजगारी लागि मलेसिया पुगेकाहरु नै छन् । 

पछिल्लो एक दशकमा वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा अशक्त भइ १२ सय ५२ जना कामदार स्वदेश फर्केका बोर्डकै तथ्याङ्कमा देखिन्छ । यसमा १२ सय १६ पुरुष र ३६ महिला छन् । 



जसमा ४० प्रतिशत मलेसियाबाट फर्केका छन् । मलेसियाबाट यो दश वर्षमा ५ सय पुरुष र ७ महिला गरि ५ सय ७ जना विरामी वा अंगभंग भएर घर फर्केका छन् । 
गत वर्ष पनि मलेसियाबाट नै सबैभन्दा धेरै विरामी भएर फर्केका थिए । मलेसियाबाट १ सय ९ जना पुरुष र १ महिला गरि १ सय १० जना विरामी भइ फर्केका थिए ।

कस्तो काममा जान्छन् नेपाली ?



‘डर्टि, डेन्जर र डिफिकल्ट अर्थात्, थ्रि डि’ पछिल्लो समय वैदेशिक रोजगारीमा गएका नेपालीहरु माझ यो स्लोगन नै बनेको छ । प्रायः जस्तो वैदेशिक रोजगारीमा जाने नेपालीलाई यस्तै फोहोर, खतरनाक र गाह्रो काममा लगाइन्छ । स्वदेशमा रोजगारीको अवसर नहुँदा यस्तै असुरक्षित काममा पनि परिवार छोडेर नेपालीहरु विदेशिन बाध्य छन् । 

धेरै नेपालीहरु रोजगारीको लागि विदेश जाँदा आधारभुत ज्ञान तथा सीप नभएकोले पनि जोखिमपूर्ण काममा जान बाध्य रहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका प्रवक्ता दीनबन्धु सुवेदी बताउँछन् । 

‘नेपालबाट विदेश जाने भनेको अदक्ष वा अल्पदक्ष कामदार हुन्, त्यसैले पनि विदेशमा गएर काम गर्दा बढि जोखिम मोल्नु पर्छ,’ उनले भने ।

‘डर्टि, डेन्जर र डिफिकल्ट अर्थात्, थ्रि डि’ पछिल्लो समय वैदेशिक रोजगारीमा गएका नेपालीहरु माझ यो स्लोगन नै बनेको छ । प्रायः जस्तो वैदेशिक रोजगारीमा जाने नेपालीलाई यस्तै फोहोर, खतरनाक र गाह्रो काममा लगाइन्छ ।

नेपालले वैदेशिक रोजगारीका लागि १ सय १० देशलाई खुल्ला गरेको छ । त्यसमध्ये पनि मध्यपूर्वका ‘खाडी’ देश र मलेसिया वैदेशिक रोजगारीका लागि जाने आर्कषक देशहरु हुन् । बहुसंख्यक नेपालीहरु यीनै देशमा जाने गरेका छन् । 

त्यसमा पनि पछिल्ला वर्षहरुमा मध्यपूर्वका देश कतार, साउदी अरब, युएई भन्दा पनि मलेसियामा परेको देखिन्छ । अहिले ५ लाखको हाराहारीमा नेपालीहरु मलेसियामा काम गरिरहेको बताइन्छ । नेपालको जस्तै मौसम भएकाले पनि मलेसिया नेपालीको रोजाइमा परेको हो । 

गत वर्ष मात्रै ३ लाख ५४ हजार ८२ नेपाली वैदेशिक रोजगारीको लागि जाँदा १ लाख ४ हजार २ सय ९ मलेसिया पुगेको तथ्याङ्क वैदेशिक रोजगार विभागसँग छ । यस्तै आव २०७३÷७४ मा पनि ३ लाख ३८ हजार ४ सय ९३ नेपाली रोजगारी खोज्दै विदेश जाँदा ९५ हजार ३ सय ७८ मलेसिया पुगेका थिए ।

किन जोखिमपूर्ण छ मलेसिया ?

वैदेशिक रोजगार विभागका प्रवक्ता भोलानाथ गुँरागाई मलेसियामा गरिने कामको प्रकृतिले गर्दा धेरै जोखिम रहेको दाबी गर्छन् । मलेसियामा पनि औद्योगिक क्षेत्रमा धेरै कामदारको माग हुने हुनाले जोखिम पनि बढी भएको उनले बताए । 

‘पछिल्लो समय वैदेशिक रोजगारीको लागि मलेसियाबाट सबैभन्दा धेरै माग आएको छ,’ उनले भने, ‘माग धेरै हुँदा मलेसिया जाने पनि धेरै छन् र धेरै क्रियाकलाप हुने हुँदा मृत्यु तथा घाइतेको संख्या पनि बढेकोे हुनसक्छ । तर हाम्रो लागि वैदेशिक रोजगारका सबै देश उत्तिकै जोखिमका छन् ।’

विभाग भने वैदेशिक रोजगारीको जोखिमको विषयमा कुनै काम सुरु नगरेको उनी स्वीकार्छन् । ‘हामी श्रम स्वीकृति दिने, गुनासो सुन्ने काममा नै व्यस्त भएकोले गर्दा जोखिमको विषयमा ध्यान दिन सकेका छैनौं,’ उनले भने ।

यस्तै वैदेशिक रोजगारी प्रवद्र्धन बोर्डका प्रवक्ता दीनबन्धु सुवेदी कामदारको दक्षताको कारणले नै विदेशमा जाँदा जोखिम मोल्नु परेको तर्क गर्छन् । 
‘नेपालका धेरै कामदार अर्धदक्ष भएको र काम गर्ने स्थान, भाषाको बारेमा राम्रो जानकारी नभएको कारणले पनि बढि जोखिममा परेका हुन्,’ सुवेदीले भने, ‘हाम्रोमा विदेश जाँदा काम, मेसिन र उद्योगको बारेमा जानकारी नलिई विदेश जाने परम्पराले गर्दा जोखिम बढेको छ ।’ सुवेदी कृषि फर्ममा काम गर्ने भन्दा उद्योग र कन्ट्रक्सनमा गएर काम गर्ने श्रमिकको बढी मृत्यु भएको बताउँछन् । 

तर, अहिले बन्द छ मलेसिया 

सबैभन्दा धेरै वैदेशिक रोजगारीको लागि जाने देश मलेसिया अहिले बन्द छ । गत ३ जेठमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारबाट चर्काे असुली भएको भन्दै मलेसियामा कामदार पठाउन रोक लगाएका थिए । उनले भिएलएन, बायोमेट्रिक, ओएसजी, जिएससी र माइग्राम खारेज गरेको घोषणा गरेका थिए । स्वास्थ्य परिक्षण गर्ने यस्ता संस्थाहरुले ठगी गरेको सरकारको ठहर थियो । 

त्यसपछि गत कार्तिक १२ गते नेपाल सरकारले मलेसिया सरकारसँग श्रम सम्झौता गर्यो । तरपनि मलेसिया खुलेन । पछि कलिङ भिसा आएकाहरुलाई पठाउने कुरा भएपनि अहिलेसम्म खुलेको छैन । 
 

  • प्रकाशित मिति : फागुन २८, २०७५ मंगलबार १४:५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया