नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आफ्नो २७ औँ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउँदै छ । शुक्रबार इक्यानले शैक्षिक परामर्श क्षेत्रमा आबद्ध तथा यस व्यवसायसँगको सहकार्यमा रहेका महिला व्यवसायी तथा उद्यमशीलताको साझा समस्या, अवसर तथा चुनौतीका सम्बन्धमा छलफल कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रमको औपचारिक उद्घाटन इक्यानका अध्यक्ष शेषराज भट्टराईले पानसमा बत्ति बालेर गरेका थिए । इक्यानको साताव्यापी कार्यक्रमको दोस्रो दिन प्रमुख अतिथिका रूपमा सभामुख इन्दिरा राना उपस्थित थिइन् । कार्यक्रममा शैक्षिक क्षेत्रमा आबद्ध रहेका महिलाको उल्लेख्य सहभागिता थियो । यससँगै कार्यक्रममा विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरूको पनि उपस्थिति देखिन्थ्यो ।
कार्यक्रममा अभिनेत्री रेखा थापा, मोटिभेसनल स्पिकर तथा अभिनेत्री सोविता सिम्खडा, मिडिया पर्सन बविता बस्नेत, फरकधार मिडियाका निर्देशक महेश शमशेर राणा, इक्यानका पूर्व अध्यक्ष विष्णुहरी पाण्डे, दीपक गुरुङ, इक्यानका पूर्वसल्लाहकार सरोजकुमार बस्नेत, इक्यानका पूर्वसदस्य यशोदा भट्टराई, इक्यानका पूर्व पदाधिकारी सुनिता श्रेष्ठलगायतको सहभागिता थियो ।
कार्यक्रममा उपस्थित मञ्जु धमला थापाले छाता संगठन इक्यानले धेरै कुरा सिकाएको बताइन् । ‘पहिलेको दाँजोमा अहिले यो क्षेत्रमा धेरै अवसरका साथै चुनौती पनि छन् । छाता संगठनले सबैलाई समेटेर अघि बढिरहेको देख्दा खुसी लाग्छ,’ उनले भनिन् ।
इक्यानकी पूर्व सदस्य यशोदा भट्टराईले महिला शिक्षा प्रदायकले पुरुषको दाँजोमा चुनौतीको सामना धेरै गर्नुपर्ने बताइन् । कार्यक्रममा बोल्दै उनले भनिन्, ‘यस क्षेत्रमा महिलाको तुलनामा पुरुषलाई धेरै सेवा, सुविधा दिएको पाइन्छ । महिलाले पुरुषसरह नै काम गर्ने भए पनि महिला र पुरुषलाई गर्ने व्यवहार फरक हुन्छ । त्यसैले महिलालाई यस क्षेत्रमा सजक र सतर्क भएर काम गर्न जरुरी छ ।’
कार्यक्रममा सहभागी महिलाले एउटा महिला सफल हुनका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने बताएका थिए । ‘महिला आफैँमा सक्षम छन् । यो क्षेत्रमा आउन चाहने महिलाले देखासिकिको भरमा आउनु हुँदैन । यस क्षेत्रमा पैसासँगसँगै समाज, साथीभाइ, सहयोगी कमाउन सक्नुपर्छ । अवसर त छ, साथै चुनौती पनि धेरै छ । आत्मबल बलियो बनाएर यस क्षेत्रमा आउँदा फाइदा नै हुन्छ,’ इक्यान पूर्वसदस्य यशोदाले भनिन् ।
यस्तै, माटिभेसनल स्पिकर सोविता सिम्खडाले जीवनलाई योग, ध्यानसँग जोड्न आवश्यक रहेको बताइन् । ‘मानिस जति नै व्यस्त छु भने पनि हामीले तन, मन र दिमागलाई स्वस्थ राख्नका लागि दिनको एक वा आधा घण्टा योग, ध्यान साधनामा व्यतीत गर्न महत्वपूर्ण छ,’ उनले भनिन् ।
अभिनेत्री रेखा थापाले एउटा नारीले आफ्नो छुट्टै पहिचान बनाउन आवश्यक रहेको औंल्याइन् । ‘हरेक महिला सक्षम हुन जरुरी छ । कसैको आमा, कसैको बुहारी, श्रीमतीका रूपमा परिचित भएसँगै आफ्नो छुट्टै पहिचान बनाउनु आजको आवश्यकता हो,’ अभिनेत्री थापाले भनिन् ।
इक्यानले २७ औं स्थापना दिवसको अवसरमा ‘सबैका लागि समान शिक्षा, पहिले देश अनि विदेश’ भन्ने मूल नाराका साथ आफ्नो स्थापना दिवस मनाउन लागेको हो । शैक्षिक परामर्श व्यवसायीका माध्यमबाट विद्यार्थीहरू विदेश पठाउने मात्र होइन, उपयुक्त वातावरणको निर्माण गरि विदेशी विद्यार्थीलाई पनि उच्च शिक्षा अध्ययनका लागि नेपालमा ल्याउन सकिने सन्देश समेत प्रवाह गरेको छ ।
इक्यानले भदौ ७ देखि भदौ १६ गतेसम्म विद्यार्थी, अभिभावक, साझेदार संस्था, समाज र सामाजिक उत्तरदायित्वलाई लक्षित गरि रचनात्मक गतिविधि सञ्चालन गरेर मनाउँदैछ । सोहीअनुसार इक्यानले बिहीबार (हिजो) रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो ।
इक्यानले भदौ ११ गते बिहान ११ बजेदेखि १ बजेसम्म शैक्षिक परामर्श क्षेत्रका समस्याका विषयमा सरोकारवालासँग भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । यसका साथै इक्यानले भदौ १२ गते जनचेतना मुलक र्यालीको आयोजना गर्ने, १३ गते औपचारिक कार्यक्रमकाबीच २७औं स्थापना दिवस मनाउने कार्यक्रम तय गरेको छ ।
इक्यानले भदौ १६ गते साँझ ५ बजेदेखि काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा नेपालका चर्चित हास्यकलाकार मनोज गजुरेल सहित सैलेन्द्र सिम्खडा, टिका भण्डारी, सुवोध गौतम, म्याक्सम गौडेल, सुन्दर खनाल, प्रभात लामा, प्रविना अधिकारी लगायतका कलाकारहरूको साथमा ‘८० सालको गाईजात्रा ईक्यानको साथमा’ मनाउने योजना बनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।