उनी देशमा केही गर्न दिनरात मिहिनेत गर्थे । हिमालमा जन्मेका, तराईमा हुर्केका, पहाडमा १० वर्ष बिताएका हिउँ, ताप र राफ अनि वर्षाको पानीमा चिरपरिचित उनी प्रायः सबैको प्रिय थिए। हिमालमा उनलाई पासाङले बोलाइन्थ्यो, तराईमा पहलवान भाइ अनि काठमाडौंमा पासा । उनको नाम जता गयो, त्यतै भिज्दै थियो परिवेशअनुसार।
काठमाडौंमा उनी एउटा कलेज पढ्ने विद्यार्थी थिए, २०६० सालमा खाल्डोमा छिरेका पासाङले ६२–६३ को जनआन्दोलनलाई प्रत्यक्ष नियालिरहेका थिए। तराईमा हुँदा उनी सानै थिए । धेरै कुरा थाहा थिएन, दुर्गमबाट एसएलसी दिएर पास भइयो भने अवसरको बाढी लाग्छ भनेर उनी तराईबाट जन्मस्थल छिरे । जहाँ माओवादीको जनवर्गीय आन्दोलन जारी थियो। उनीहरुले आफ्नो आन्दोलनमा उपस्थिति जनाउनैपर्ने परिस्थिति सिर्जना गरिरहेका हुन्थे। जता गयो, उतै लालसेना बारुदी बन्दुकधारी साथमा पेस्तोल र बम पहिरिएका गाउँमा उनीहरु छिरे भने सबैजना अनुशासित र सतर्क रहनु पर्थ्यो।
पासाङ ९ मा पढ्ने भएर होला, उनलाई माओवादी बन्न करकाप थिएन तर धेरैजसो उनका साथी अभियानमा लागेर कहिले जंगलमा मार्चपास गरिरहेको हुन्थे त कहिले गाउँ पसेर जनतालाई आफ्ना कमरेडहरुको खानबस्नको प्रबन्ध मिलाउन लगाइन्थ्यो। वर्षमा नौ महिना काम गरेर ६ महिना मुस्किलले अन्न पुग्ने त्यो गाउँठाउँमा प्रायः माओवादीलाई पनि पाल्नै पर्थ्यो। उनीहरुको यस्तो नियमको पालना नगरे जनकारबाहीमा पर्नुपर्ने बाध्यता थियो। अझ सरकारी कर्मचारी वा शिक्षकले आफ्नो मासिक तलबभत्ताबाट अनिवार्य चन्दा दिनै पर्थ्यो।
समयको चक्रमा पासाङलाई दुई वर्ष बिताउनैपर्ने, त्यसपछि त उसको गन्तव्य तय हुने प्रायः निश्चित थियो। त्यो दुई वर्ष उसको लागि अत्यन्तै कठिन थियो आज मरिने कि भोलि भन्दै दिन बिताउनुपर्ने। कहिले माओवादीको कार्यक्रम त कहिले जुलुसमा जानैपर्ने। हरेक दिन शाही सेनाको डर कुन दिन आएर मार्ने हुन् कुनै ठेगान हुँदैनथ्यो।
कुनै जिल्लामाथि आक्रमण गर्नुपर्ने अवस्थामा कोसौँ टाढाका बस्तीबाट हजारौँ सर्वसाधारणलाई प्रयोग गरिने त्यो समयमा उनलाई पनि कुनबेला ढाल बनाउने हो कुनै निश्चित नै थिएन। कहिले अर्घाखाँची त कहिले खलंगा हमला भयो भन्ने समाचार लगातार रेडियो नेपालमा गुन्जिदा मनै झसंग हुन्थ्यो।
पासाङलाई पनि कहिले लाने हुन् र जनयुद्धमै सखाप पार्ने हुन् भन्ने मनमा सधैँ डर भइरहन्थ्यो। माओवादीहरुको लडाइँमा आवश्यक पर्ने सामग्री नजुटाई नहुने परिस्थिति थियो । कहिले गोली बनाउनुपर्ने त कहिले अन्य किसिमको सहयोग गर्नुपर्ने त्यति नगरे स्कुल जान पनि मुस्किल पर्थ्यो। उनको स्कुल आफ्नो गाउँनजिकै नभएकाले अर्को गाउँमा पर्थ्यो । जहाँ उनीलाई जनसेनाबाट सिफारिस लिएर मात्र जान पाउँथ्यो। गोली बनाउन सरिया वा त्यस्तै फलामको जोहो गर्नुपर्थ्यो नबनाए स्कुलमा भाटेकारबाहीमा परिने।
धेरैजसो विद्यार्थीले भाटेकारबाही भोगेको उनलाई अझै ताजा छ। कतिपय गाउँलेलाई उनीहरुको आन्दोलनले आकालविकाल बनाएको थियो । त्यसैले उनीहरुलाई गाउँप्रवेशमा रोक लगाइएको थियो । तर, समूहको अगाडि गाउलेको के नै लाग्थ्यो र आखिर माओवादीलाई सहयोग नगरी सुख थिएन। पासाङ दिउँसो स्कुल जान्थे अनि साँझ बिहान घरको काम गर्थे भने झिसमिसेपछि खाना खाएर टुकीको प्रकाशमा आफ्नो गृहकार्य गर्थे।
जनयुद्धलाई उनले प्रत्यक्ष नियालेर हेर्न पाए । समाजमा भएको दुःखसुख के रहेछ भन्ने महसुस गर्न पाए। उनले अब एसएलसी परीक्षा दिनुपर्ने भयो । कोसौँ टाढा सदरमुकाम जानुपर्ने भयो। उनी सदरमुकाममा आफ्नो काकीको घरमा बस्ने भए । जहाँ आफ्नै परिवारको माया–ममतामा बस्न पाइने हुँदा उनी निकै हर्षित थिए। उनी त्यहाँ पुग्नुभन्दा केही हप्ताअघि मात्र माओवादीले सदरमुकाममा हमला गरेको थियो ।
जसको परिणाम पासाङले पनि प्रत्यक्ष देखेका थिए हजारौँ सर्वसाधारणको लामो लाइन उनको अगाडि लडाइँको लागि लामबद्ध लागेको थियो। त्यो युद्धमा माओवादीका वास्तविक कार्यकर्ता र लालसेना भन्दा बढी जनताको ज्यान गएको थियो । सयौँ लास सर्वसाधारणको हुन्थ्यो। उनी बसेको घरभित्र युद्धले छेडेका गोली जीवितै थिए। हरेक रात आफ्नो ज्यानलाई धरापमा राखेर पढ्नु पर्ने थियो।
उनले नजिकै आउँदै गरेको परीक्षाको पूर्ण तयारी गरिसकेको थिए। परीक्षाको पहिलो दिनमा उनको अनुभव सोचेभन्दा पृथक पाए सुरुमै परीक्षा केन्द्रमा नेपाल आर्मीको अनौठो चेकजाँच कसैले पनि केही साथमा लिएर जान असम्भव थियो। जनयुद्धको राप र तापबीच दिएको परिक्षामा उनले दोस्रो श्रेणीमा पास हुन सफल भए। नतिजा भने गोर्खापत्रमा छापिन्थ्यो । जुन दुई दिनपछि मात्र थाहा हुन्थ्यो । किनकि गाउँ सदरमुकामभन्दा टाढा थियो।
अबको उनको यात्रा काठमाडौंमा हुने निश्चितै थियो। उच्चशिक्षाको लागि उनी काठमाडौं हानिए। काठमाडौंको यात्रा अझ कठिन थियो । एम्बुसमाथि गुड्नुपर्ने थियो । कुन बेला कता धरापमा परिने हो थाहै हुँदैनथ्यो। बीचमा नेपाली सेनाको रोकथोक र जाँचबुझले घन्टौँ लाइन लागेर हिँड्नुपर्थ्यो सरसामानसहित। काठमाडौं पुग्नुअगावै घन्टौँ थानकोटको जाम हुने अनि सेनाले चेकजाँच गरेपछि मात्र छिर्न पाइने कठिन यात्रा थियो। उनी बल्लतल्ल काठमाडौं पुगे।
उनको बुवाले डेराको बन्दोबस्ती मिलाएका थिए। करिब १० वर्ष उनले काठमाडौंमा बिताए । स्नातकोत्तरको डिग्री त लिए । तर, काम पाउन मुस्किल थियो। उनलाई लोकसेवा आयोगभन्दा पनि विदेश जाने भूत सवार भयो। उच्चशिक्षाका लागि उनी युरोप छिरे।
उनलाई डेनमार्कले भिसा दियो । तर, डेनमार्कमा उनी गलत समयमा अर्थात् विन्टरमा आएकोले काम पाउन अनि कलेजको फी तिर्न सक्ने अवस्था थिएन । त्यसैले उनलाई त्यहाँ बस्न र पढ्न सहज नहुँदा धेरैजसोले पोर्चुगल जान सुझाए। पासाङ सोझोसाझो थिए । उनले सबैको कुरा मानेर पोर्चुगल छिर्ने निर्णय लिए। युरोपमा पोर्चुगल मात्र एउटा देश थियो, जसले सबैलाई लिगल बनाएर नागरिकता दिन्छ भन्ने उनले बिस्तारै बुझ्दै गए।
सुरुवातीमा काम पाउन निकै कठिन थियो । त्यसैले उनी कृषिमा ऐसेलु टिप्ने काममा लागे । जहाँ उनले काम गरेर पहिलो कार्ड बनाए। कार्ड पाउन त्यति सहज थिएन नियमले हप्तामा पाँच दिन काम गर्ने अनि दुई दिन छुट्टि हुने त्यहाँ उनी भने सातैदिन काम गर्थे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।