logo-img

एसिया कपमा ‘नम्बर वान’ बन्ने होड : यसपालि पनि जयसूर्याको रेकर्ड तोडिन मुस्किल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

१६ औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता यही १३ भदौदेखि पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ । एसिया क्षेत्रमा प्रतिष्ठित मानिने यस प्रतियोगिताको इतिहास हेर्दा सबैभन्दा सफल टोली भारत मानिन्छ । उसले हालसम्म सर्वाधिक ७ संस्करणको एसिया कप उपाधि जितेको छ । 

भारतपछि श्रीलंकाले ६ पटक यस प्रतियोगिताको ट्रफी हात पारेको छ । यस्तै, पाकिस्तान दुईपटक एसिया कप च्याम्पियन बन्दा सबै संस्करणमा भाग लिएको बंगलादेशले भने उपाधि जित्न सकेको छैन । 

एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने ब्याटरको चर्चा गर्दा श्रीलंकाका खेलाडी हाबी देखिन्छन् । यस प्रतियोगितामा सर्वाधिक रन बनाउने मामलामा शीर्ष र दोस्रो स्थानमा श्रीलंकाका सनथ जयसूर्या र कुमार सांगाकारा रहेका छन् । 



जयसूर्याले सन् १९९० देखि २००८ सम्म एसिया कप खेले । जसमा उनले ६ शतक र ३ अर्धशतकको मद्दतमा सर्वाधिक १ हजार २२० रन बनाएका छन् । 

एसिया कप खेल्न छाडेको १५ वर्ष हुँदा पनि जयसूर्याको रेकर्ड भंग हुन सकेको छैन । यो सूचीको दोस्रो स्थानमा रहेका सांगाकाराले २४ खेलमा ४ शतक र ८ अर्धशतकको सहयोगमा १ हजार ७५ रन बनाएका छन् । 

जयसूर्या र सांगाकाराकै सानदार ब्याटिङको मद्दतमा श्रीलंकाले सन् २००४ र २००८ मा लगातार एसिया कप जितेको थियो । एसिया कपमा सर्वाधिक रन बनाउने सूचीको तेस्रो स्थानमा भारतका महान क्रिकेटर सचिन तेन्दुकरको नाम आउँछ । 



सन् १९९० देखि २०१२ सम्म एसिया कप खेलेका सचिनले २३ खेलमा २ शतक र ७ अर्धशतकको मद्दतमा ९ सय ७१ रन बनाएका छन् । यस्तै, यो सूचीको चौथो स्थानमा पाकिस्तानी ब्याटर सोयब मलिक अटाएका छन् । 

उनले सन् २००० देखि २०१८ सम्म एसिया कप खेले । त्यसक्रममा मलिकले १७ खेलमा ३ शतक र ३ अर्धशतकको मद्दतमा ७८६ रन बनाए । एसिया कपमा सर्वाधिक रन बनाउने मामलामा पाँचौं स्थानमा भारतीय कप्तान रोहित शर्माको नाम आउँछ । 

सन् २००८ मा एसिया कपमा डेब्यू गरेका उनले अहिलेसम्म २२ खेलमा एक शतक र ६ अर्धशतकसहित ७ सय ४५ रन बनाएका छन् । एसिया कपमा सर्वाधिक रन बनाउने ५ ब्याटरको चर्चा गर्दा यसपटक पनि सनथ जयसूर्याको रेकर्ड कायमै रहने सम्भावना बलियो छ । 

हाल क्रिकेट खेलिरहेका रोहित शर्मा उनीभन्दा अझै ४७५ रनले पछाडि रहेका छन् । १६ औँ संस्करणको एसिया कपमा यसपालि पनि ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसपल्ट भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र नेपालले एसिया कप खेल्न लागेका हुन् । 

६ मध्ये नेपालले पहिलोपटक एसियामा प्रतिस्पर्धा गर्न लागेको हो । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल १३ भदौमा पाकिस्तान र १८ भदौमा भारतको सामना गर्ने तालिका छ । प्रतियोगिताका लागि नेपाली टोली पाकिस्तान प्रस्थान गरिसकेको छ ।  

  • प्रकाशित मिति : भदौ १०, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया