प्रश्न सुन्दा नै किन आक्रोशित हुन्छन् देउवा ?

काठमाडौं – मंगलबार दिउँसो पोखरामा पत्रकार माझ थिए, कांग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा । देउवालाई पत्रकारहरुले प्रश्न गर्ने कार्यक्रम थियो । 

सामन्यतयाः नेता र पत्रकारको सवाल जवाफ सौहार्द नै रहन्छ । तर, देउवाको हकमा त्यसो भएन । उनी पत्रकारहरुसँग रिसाएको र ‘अस्वाभाविक’ भावभङ्गीमा जवाफ दिएको तत्कालै भिडियो आयो । मंगलबार बाहिर आएको यो भिडियो सामाजिक सन्जालमा भाइरल हुन समय लागेन । 

अनि यही भिडियोले देउवाले यसअघि पनि सार्वजनिक कार्यक्रममा दिएको जवाफको तरिकालाई सम्झाइदियो । देउवा यसअघि आक्रामक बनेको त्यो कार्यक्रम थियो– साझा सवाल । बिबिसीबाट प्रसारित यो कार्यक्रममा सहभागि एक व्यक्तिलाई देउवाले ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ, चुप लाग्नुस्’ भनेका थिए । 

त्यसपछि देउवाको यो अभिव्यक्तिबारे अनेक अड्कलबाजी काटिए । कतिले त देउवा त्यो समय मदिराको प्रभावमा रहेको समेत भन्न भ्याए । देउवा स्वयं वा नेपाली कांग्रेस पार्टीले यस विषयमा केही पनि भनेन । 

मंगलबार फेरि पोखरामा गण्डकी मेडिकल कलेजमा भइरहेको आन्दोलनको विषयमा पत्रकारले प्रश्न गर्दा देउवा झडङ्गिए । देउवामाथि त्यहाँ पत्रकारले सामान्य प्रश्न नै सोधेका थिए– मेडिकल कलेजको आन्दोलनको विषयमा कांग्रेस किन मौन छ ? 

यही सन्दर्भमा डा. गोविन्द केसीको आन्दोलनको प्रसङ्ग पनि जोडिएको थियो । 



देउवाले यसलाई सहज उत्तर देलान् भन्ने अपेक्षा थियो । तर, देउवा आक्रोशित देखिए र भने– तपाईंले सुन्नुहुन्न ? 

किन देउवा यसरी जङ्गिएर पत्रकारको वा प्रश्नको सामना गर्छन् त ? 



‘यो सामान्य हो,’ मनोचिकित्सक वासु आचार्य भन्छन्, ‘उनी अहिले सत्तामा छैनन् । सत्तामा नहुँदा र आफू अप्ठ्यारो परिस्थितिमा हुँदा नेता जङ्गिन्छन् । यसलाई अन्यथा सोच्नै पर्दैन ।’

अर्कोतिर यो सामान्य अवस्था नभएको राजनीतिशास्त्रका विद्यार्थी मेघराज काफ्ले बताउँछन् । मेघराजको अनुमान देउवा यसरी आक्रामक बन्नु उनको कमजोरी त हो नै उनको राजनीतिक ‘इम्याचुरिटी’ पनि हो । 

‘देउवाले अहिले विकास भइसकेको राजनीतिक संस्कार सिक्न सकेका छैनन्,’ उनले भने, ‘देउवा अहिले पनि नेता भनेको एक स्तर माथिको मान्छे हो भन्ने भ्रममा भएका हुनसक्छन् । अन्यथा उनले आफूमाथि प्रश्न आउँदैमा त्यस्तो व्यवहार देखाउनु नपर्ने हो ।’

यसका साथसाथै पछिल्लो समय देउवामाथि भएको राजनीतिक दबाबलाई उनको आक्रोशको कारण मान्न सकिने उनको तर्क छ । संसदमा खुम्चिएको पार्टी, पार्टी भित्रको अवस्था र पार्टीका प्रतिपक्षीले पछिल्लो समय देउवालाई पेल्दै गएको सिनारियो, नेपाल विद्यार्थी संघलगायत कांग्रेसका विभिन्न भातृ संगठनमा देखिएका तनाव र यी सबलाई एड्रेस गरेर अगाडि जानु पर्ने कुराले पनि देउवालाई तनावमा पारेर उनले प्रश्नहरुको सामना गर्दा आक्रोश देखाएको हुनसक्ने मेघराज बताउँछन् । 

अर्कोतिर प्रतिपक्षी हुँदा हेपिएको महसुस हुने भएकाले पनि ससानो कुरामा नेताहरुमा रिसाउने प्रवृत्ति हुने मनोचिकित्सक आचार्य बताउँछन् । ‘विश्वभर नै यस्तो देखिन्छ, प्रतिपक्षी हुँदा नेताहरु अलिक बढी नै रिसाउँछन्,’ उनले भने ।

  • प्रकाशित मिति : फागुन २८, २०७५ मंगलबार १९:१८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया