प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जेबी टुहुरे क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताएका छन् ।
उनले भने, ‘जेबी टुहुरे नेपालको प्रगतिवादी साहित्यिक एवं साङ्गीतिक आन्दोलनको एक सिद्धहस्त नेता, राजनीतिक सामाजिक रूपान्तरणका एक अविचलित अभियात्री र जनताका पिर मर्का, दुख व्यथा, सामन्ती एकात्मक पितृसत्तात्मक सत्ताले जनतामाथि गरेको उत्पीडन र त्यसका विरुद्ध विद्रोह चेत पैदा गर्ने जनप्रिय जनबोलीका गायक हुनुहुन्थ्यो ।’
आइतबार जनगायक जेबी टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘जनबोलीका अविश्रान्त गायक’को लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले टुहुरेको योगदानको कदर गर्दै सरकारले उनलाई जनगायकको उपाधि दिएको बताए ।
‘बाल्यकालदेखि नै देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहनुभएका टुहुरेको सिंगो जीवन ऊर्जाले भरिएको छ, सकारात्मक जीवन शक्तिद्वारा ओतप्रोत छ, जनताको मुक्ति र परिवर्तनको दृढ आकाङ्क्षाले भरिपूर्ण छ भन्ने तथ्य उहाँका सिर्जना, जीवन र कर्मले प्रमाणित गर्दछ,’ उनले भने, ‘नेपालको वाम लोकतान्त्रिक राजनीतिक आन्दोलन एवं साङ्गीतिक क्षेत्रमा उहाँले पुर्याउनुभएको विशिष्ट योगदानकै कारण भर्खरै बसेको मन्त्रिपरिषद्को बैठकले टुहुरेलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गरेको छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।