काठमाडाै– सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे माओवादीमाथि प्रतिबन्ध लगाउने घाेषणा गरेकाे छ । मंगलबार बसेकाे मन्त्री परिषद् बैठकले याे निर्णय गरेकाे हाे ।
क्याबिनेट मिटिङमा सहभागी एक मन्त्रीले फरकधारसँगकाे कुराकानीमा बताएअनुसार पछिल्लाे समय सशस्त्र द्वन्द्वमा रहेकाे विप्लव नेतृत्वकाे माओवादीले विभिन्न ठाउँमा आपराधिक कार्यक्रम गरेकाले समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेकाे हाे ।
उक्त समूहले पछिल्ला दिनमा सुरक्षा निकायलाई थ्रेट दिएकाे, व्यापारीहरुलाई चन्दा मागेर हैरान बनाएकाे र नागरिककाे सुरक्षामाथि धावा बाेलेकाे सरकारले निष्कर्ष निकालेकाे हाे ।
विप्लव समूहमाथि प्रतिबन्ध लगाउने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीकाे चाहनामा नै आएकाे ती मन्त्रीले बताए ।
यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहमाथि निकै कडा रुपमा प्रस्तुत हुँदै आएका थिए । स्वतन्त्र मधेश गठबन्धनका संयाेजक सिके राउतसँगकाे सम्झाैता गर्ने दिन उनले विप्लव समूहले आफूलाई लुटेरा नामाकरण गरे हुने बताएका थिए ।
गत शुक्रबार मात्र प्रहरीले विप्लवकाे घर भएको कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–९, सुन्दरी डाँडा गाउँमा बिहीबार बिहान ‘स्विप अपरेसन’ चलाएको थियाे ।
यस क्षेत्रमा चन्द नेतृत्वको पार्टीले सैन्य शिविर चलाउने गरेको थियो । प्रहरीको सुरक्षा निगरानी कम भएका कारण सो पार्टीले आफ्ना गतिविधि निर्वाध रूपमा सञ्चालन गर्दै आएको थियो । लामो निगरानीपछि प्रहरीले बिहीबार बिहान सो गाउँभरि अपरेसन चलाएको हो ।
जंगल क्षेत्र पर्ने सुन्दरी डाँडामा बिहीबार बिहान साढे ३ बजेदेखि प्रहरी परिचालन गरिएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । छापाका क्रममा प्रहरीले आधुनिक स्वचालित हतियार, पेस्तोल र गोलीहरू बरामद गरेको छ ।
अपरेसनका क्रममा प्रहरीले शिवराज नगरपालिका–९ अञ्चलपुरका ४० वर्षीय दुर्गाबहादुर रोकालाई गोली हानी पक्राउ गरेको छ । हतियारसहित फेला परेका रोकालाई पक्रन खोज्दा उनी भागेपछि नियन्त्रण लिन गोली चलाएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।