१६ औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाकिस्तान र नेपाल प्रतिस्पर्धा गर्दै छन् ।
नेपाल र पाकिस्तानबीचको खेल अपरान्ह ३ः१५ देखि मुल्तान क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपालले पहिलोपटक पाकिस्तानसँग अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपाल पहिलो भेटमै उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई स्तब्ध पार्ने रणनीतिमा छ ।
गत वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल पहिलोपटक एसिया कपमा छनोट भएको थियो । नेपाल डेब्यू एसिया कपमै सम्झनलायक प्रदर्शन गर्ने सोचमा छ ।
पाकिस्तान नेपालविरुद्ध सहज जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । त्यसका लागि पाकिस्तानले मंगलबार नै नेपालविरुद्ध खेल्ने बलियो प्लेइङ–११ घोषणा गरिसकेको छ । उसले प्लेइङ–११ मा सबै प्रमुख खेलाडीलाई समावेश गरेको छ ।
नेपालले भने प्लेइङ–११ घोषणा गर्न बाँकी छ । विभिन्न अन्तर्राष्ट्रिय क्रिकेटसम्बन्धी अनलाइनले नेपालको प्लेइङ–११ को प्रारम्भिक ब्याटरमा कुशल भुर्तेल र आसिफ शेखले निरन्तरता पाउनेछन् ।
यस्तै, तेस्रो नम्बरमा भीम सार्की, चौथोमा कप्तान रोहितकुमार पौडेल पाँचौँमा कुशल मल्लले मौका पाउने सम्भावना प्रवल छ । क्रिकेट सम्बन्धी अनलाइन इएसपीएनक्रिकइन्फोका अनुसार नेपालले पाकिस्तानविरुद्ध छैटौँमा दीपेन्द्र सिंह ऐरी, सातौँमा गुल्शन झा, आठौँमा सोमपाल कामी, नवौँमा करण केसी, दशौँमा सन्दीप लामिछाने र ११ औँ ललितनारायण राजवंशीलाई मौका दिने सम्भावना छ ।
यस एसिया कपमा नेपाली टोली रोहितकुमार पौडेल तथा पाकिस्तानी टोलीको बाबर आजमको कप्तानीमा मैदानमा उत्रनेछन् । हालसम्म पाकिस्तानले दुईपटक एसिया कपको उपाधि जितेको छ ।
एसिया कपअन्तर्गत नेपालले दोस्रो खेलमा १८ भदौमा भारतको सामना गर्ने तालिका छ । नेपाल र भारतबीचको खेल श्रीलंकाको क्यान्डीमा हुनेछ । भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि एसिया कपको ९ खेल श्रीलंकामा हुन लागेका हुन् ।
प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।
नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटपिकर), भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।
पाकिस्तानको प्लेइङ–११ : फखर जमान, इमाम-उल-हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहीन शाह अफ्रिदी, हरिस रौफ र नसीम शाह ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।