logo-img

एसिया कप खेल्न लागेका १७ नेपाली खेलाडीको कस्तो छ विगत प्रदर्शन ? [भिडियोसहित]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि पाकिस्तानमा सुरु हुँदैछ । प्रतियोगितामा नेपालले उद्घाटन खेलमै आइसिसी ओडिआई वरियताको ‘नम्बर वान’ टिम पाकिस्तानको सामना गर्दैछ । 

नेपाल र पाकिस्तानबीचको खेल अपरान्ह ३ः१५ देखि मुल्तान क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाली टिम डेब्यू एसिया कपमै उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटलाई आफूतर्फ आकर्षित गर्ने ध्याउन्नमा छ । 

त्यसका लागि भारत र पाकिस्तानजस्तो शक्तिशाली टिमविरुद्ध राम्रो प्रदर्शन गर्न नेपाली खेलाडी लयमा देखिन भने आवश्यक छ । यसैबीच, एसिया कपमा पहिलो खेल्न खेल्नुअघि नेपाली टोलीमा समावेश १७ खेलाडीको प्रदर्शनको चर्चा गर्दैछौँ :

कुशल भुर्तेल 

नेपाली टिमका प्रारम्भिक ब्याटर कुशल भुर्तेलले ७ सेप्टेम्बर २०२१ मा पपुवा न्यूगिनीविरुद्ध खेल्दै एकदिवसीयमा डेब्यू गरेका थिए । उनले हालसम्म ४४ एकदिवसीय खेल खेलेका छन् । जसमा कुशलले एक शतक र ६ अर्धशतकको मद्दतमा ९ सय ८६ रन बनाएका छन् । 



ओडिआईमा उनको उच्चतम स्कोर ११५ रन हो । यस्तै, कुशलले बलिङतर्फ ४ विकेट लिएका छन् । उनले पछिल्लो ५ खेलमा २३ को औसतमा ११५ रन बनाउँदा ६ विकेट लिएका छन् । आक्रामक ब्याटिङ गर्न रुचाउने कुशल ठीकठाक लयमा छन् । 



आसिफ शेख 

अर्का ओपनिङ ब्याटर आसिफ शेखले पनि ७ सेप्टेम्बर २०२१ पपुवा न्युगिनीविरुद्ध नै डेब्यू गरेका थिए । उनले हालसम्म ४१ खेलमा एक शतक र ९ अर्धशतकको सहयोगमा १ हजार १ सय ८७ रन बनाएका छन् । यस प्रारूपमा विकेटकिपर आसिफको उच्च स्कोर ११० रन हो । 

उनले पछिल्लो ५ खेलमा १२ को औसतले ५९ रन मात्र बनाएका छन् । खराब लयमा रहेका आसिफ एसिया कपमा लयमा नफर्किएमा नेपालको सुरुवात सम्झनलायक नहुनसक्छ । 

भीम सार्की

पछिल्लो समय प्रशिक्षक र कप्तानले भीम सार्कीलाई तेस्रो नम्बरमा ब्याटिङ गर्ने जिम्मा दिएका छन् । तर, उनी हाल यस नम्बरमा जम्न सकिरहेका छैनन् । २२ मार्च २०२२ मा पपुवा न्यूगिनीविरुद्ध डेब्यू गरेका भीमले हालसम्म १९ खेलमा ३ अर्धशतकको मद्दतमा ४५२ रन बनाएका छन् ।  

एकदिवसीयमा भीमको उच्च स्कोर अविजित ७७ रन हो । पछिल्लो ५ खेलमा उनले ९ को औसतमा ४७ रन मात्र बनाउन सकेका छन् ।  

रोहितकुमार पौडेल 

कप्तान रोहितकुमार पौडेलले ३ अगस्ट २०१८ मा नेदरल्याण्ड्सविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पर्दापण गरेका थिए । हालसम्म ५२ एकदिवशीय खेल खेलेका उनले १ हजार ४ सय ६९ रन बनाएका छन् । जसमा रोहितको एक शतक र आठ अर्धशतक सामेल छ । 

उनी यो संरचनामा सर्वाधिक रन बनाउने नेपाली ब्याटर हुन् । नेपालका लागि ओडिआईमा रोहितको उच्च स्कोर १२६ रन हो । उनले पछिल्लो ५ खेलमा २२ को औसतमा १ सय ११ रन मात्र बनाएका छन् ।

पाकिस्तान र भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने हो भने मध्यमक्रममा ब्याटिङ गर्ने रोहितको ब्याट चल्न आवश्यक छ ।  

दीपेन्द्र सिंह ऐरी

नेपाली टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले १ अगस्ट २०१८ मा नेदरल्याण्डविरुद्ध खेल्दै डेब्यू गरेका थिए । हालसम्म ५० एकदिवशीय खेल खेलेका उनले एक शतक र तीन अर्धशतकसहित ८ सय ५७ रन बनाएका छन् । 

एकदिवसीयमा दीपेन्द्रको उच्च स्कोर १०५ रन हो । उनले बलिङतर्फ ३६ विकेट लिएका छन् ।

दीपेन्द्रले पछिल्लो ५ खेलमा ४८ को औसतमा १४५ रन बनाउँदा ४ विकेट लिएका छन् । राम्रो लयमा रहेका ऐरी एसिया कपमा पाकिस्तान र भारतविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्दै आफूतिर विश्वक्रिकेटको ध्यान खिच्न चाहन्छन् ।   

आरिफ शेख

१ अगस्ट २०१८ मा नेदरल्याण्ड्सविरुद्ध खैल्दै एकदिवसीयमा डेब्यू गरेका अर्का अलराउन्डर आरिफ शेखले हालसम्म ४७ खेलमा ८ सय ७८ रन बनाएका छन् । जसमा उनको ६ अर्धशतक सामेल छ । आरिफले अन्तिम ५ खेलमा २० को औसतले ८० रन मात्र बनाएका छन् ।

कुशल मल्ल

आक्रामक युवा अलराउन्डर कुशल मल्लले ८ फेब्रुअरी २०२० मा यूएईविरुद्धको खेलमा डेब्यू गरेका थिए । अहिलेसम्म २७  ओडिआई म्याच खेलेका उनले एक शतक र चार अर्धशतकको सहयोगमा ६ सय २६ रन बनाएका छन् । यस प्रारूपमा कुशलको उच्च स्कोर १०८ रन हो । 

बलिङतर्फ १८ विकेट लिएका उनले पछिल्लो ५ खेलमा १९ को औसतमा ७५ रन बनाएका छन् । 

अर्जुन साउद

१४ नोभेम्बर २०२२ मा डेब्यूको मौका पाएका विकेटकिपर अर्जुन साउदले अहिलेसम्म ९ खेल खेलेका छन् । जसमा उनले एक अर्धशतकको मद्दतमा १७४ रन बनाएका छन् । पछिल्लो ५ खेलमा अर्जुनले १६ को औसतमा ६६ रन बनाएका छन् । 

गुलशन झा

युवा अलराउन्डर गुलशन झाले १७ सेप्टेम्बर २०२१ मा अमेरिकाविरुद्ध डेब्यू गरेका थिए । हालसम्म २२ ओडिआई खेलेका उनले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

गुलशनले अहिलेसम्म तीन अर्धशतकको सहयोगमा ४५२ रन बनाउँदा २१ विकेट लिएका छन् । उनले पछिल्लो ५ खेलमा ३३ को औसतमा १३१ रन बनाउँदा २ विकेट हात पारेका छन् ।  

सन्दीप जोरा

सन् २०१९ मा यूएईविरुद्ध डेब्यू गरेका ब्याटर सन्दीप जोराले अहिलेसम्म ५ खेल खेलेका छन् । जसमा उनले ५ खेलमा ११ को औसतमा ५६ रन मात्र बनाएका छन् । 

अहिलेसम्म सन्तोषजनक प्रदर्शन गर्न नसकेका जोराले एसिया कपमा खेल्ने मौका पाएमा त्यसको फाइदा उठाउन पूरा कोसिस गर्नेछन् । 

सोमपाल कामी

सोमपाल कामी एसिया कप खेल्ने अनुभवी नेपाली खेलाडीमध्ये एक हुन् । तीव्र गतिको बलिङका साथै ब्याटिङ पनि गर्नसमक्ष उनले १ अगस्ट २०१८ मा नेदरल्याण्ड्सविरुद्ध एकदिवसीयमा डेब्यू गरेका थिए । 

टोलीका प्रमुख फास्ट बलर सोमपालले हालसम्म ४७  एकदिवशीय खेलमा ६३ विकेट लिएका छन् उनको उत्कृष्ट बलिङ ३३ रन दिएर ५ विकेट लिनु हो । ब्याटिङतर्फ सोमपालले २ अर्धशतकसहित ४ सय ७८ रन बनाएका छन् । १०८ रन बनाउनुका साथै ७ विकेट लिएका छन् ।  

करण केसी

करण केसी नेपाली टिमका सबैभन्दा बढी उमेरका खेलाडी हुन् । १ अगस्ट २०१८ नेदरल्याण्डविरुद्ध नै डेब्यू गरेका ३१ वर्षीय केसीले अहिलेसम्म नेपालको लागि ४६ एकदिवसीय खेलमा ७७ विकेट लिएका छन् । यस प्रारूपमा उनको उत्कृष्ट बलिङ पनि ३३ रन दिएर ५ विकेट लिनु हो । 

करणले ब्याटिङतर्फ ३४९ रन बनाएका छन् । उच्च लयमा रहेका उनले पछिल्लो ५ खेलमा उनले १२ विकेट लिएका छन् । 

सन्दीप लामिछाने

सन्दीप लामिछाने नेपाली टिमका सर्वाधिक सफल बलर हुन् । १ अगस्ट २०१८ मा नेदरल्याण्ड्सविरुद्ध नै डेब्यू गरेका उनले ४९ एकदिवशीय खेलमा सर्वाधिक १११ विकेट लिएका छन् । ओडिआईमा सन्दीपको उत्कृष्ट स्पेल ११ रन दिएर ६ विकेट लिनु हो । 

उनले ब्याटिङमा १५ को औसतमा ३ सय ६७ रन बनाएका छन् । पछिल्लो ५ एकदिवशीय खेलमा सन्दीपले ६ विकेट लिएका छन् । एसिया कपमा उनीमाथि विश्व क्रिकेटको नजर हुनेछ ।     

ललितनारायण राजवंशी

ललितनारायण राजवंशी नेपाली टिमका अर्का महत्वपूर्ण स्पिनर हुन् । २५ जनवरी २०१९ मा यूएईविरुद्ध ओडिआईमा डेब्यू गरेका उनले नेपालका २१ खेलमा २८ विकेट लिएका छन् । ललितको उत्कृष्ट बलिङ २० रन दिएर ५ विकेट लिनु हो ।

उनले पछिल्लो ५ खेलमा ६ विकेट लिएका छन् ।  

प्रतिश जिसी

बलिङ अलराउण्डर प्रतिश जिसीले २७ फेब्रुअरी २०२३ मा  पवुवा न्युगिनीविरुद्धमा ओडिआईमा डेब्यु गरेका थिए । उनले अहिलेसम्म ३ खेलमा २ विकेट लिएका छन् । प्रतिशले पछिल्लो ५ खेलमा २ विकेट लिएर ११ को औसतमा ३४ रन बनाएका छन् । उनी बलिङ/ब्याटिङ दुवैमा चलेका छैनन् ।  

किशोर महतो

१७ जुलाई २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका युवा तीव्र गतिका बलर किशोर महतोले अहिलेसम्म २ खेलमा मौका पाएका छन् । उनले यसक्रममा २ विकेट लिएका छन् । 

श्याम ढकाल

एसिया कपका लागि टोलीमा रहेका स्पिनर श्याम ढकालले भने अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्न बाँकी छ । एक मात्र लिस्ट ‘ए’ खेलका उनले २ विकेट लिएका छन् ।  

टोलीमा परेका सबै खेलाडीको पछिल्लो प्रदर्शन नियाल्दा अधिकांश सदस्य लयमा छैनन् । यद्यपि प्रतियोगिताको अघिको अभ्यासले भने उनीहरूलाई एसिया कपमा राम्रो गर्न मद्दत पुर्याएको हुनसक्छ ।

प्रतियोगितामा नेपालले बुधबार पाकिस्तान र सोमबार भारतको सामना गर्ने तालिका छ ।      


  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया