पुराना गीतसंगीत र कलाकारहरूको महत्त्व त आफ्नो ठाउँमा छदै छ, तर अहिलेका गीतसंगीत पनि मोहनी लगाउने खालकै छन् । जस्तो कि नयाँ पुस्ताका गायकहरू सुजन चापागाईँ, स्वप्न सुमन, सुशांत केशी, सज्जनराज वैद्यलगायत कलाकार पछिल्लो समय युवापुस्ताको ढुकढुकी नै बन्न सफल भएका छन् । शब्द, संगीत र आफ्नै शैलीको गायनका कारण यी गायकले गाएका गीतहरूले चर्चासँगै सफलता पाएका छन् । र, यी गायक युवापुस्ताको रोजाइमा परेका छन् ।
लाखौँ मध्यका एक २१ वर्षीय आदित्य आचार्य गायक सुजनका डाइहार्ट फ्यान हुन् । किन उनलाई सुजनका गीतहरू बिछट्टै मन पर्छन् ? जवाफमा उनी भन्छन्, ‘क्लासिकल र पप समीश्रण गरेर गीत गाउने शैली मलाई निकै मन पर्छ,उनको गीत युवापुस्ताकैलागि बनेजस्तो लाग्छ ।’
नेपाल आइडलको सिजन–३ मा टप–३० बाटै फालिएका सुजन चापागाईँ पछिल्लो समय निकै हिट गायकका रूपमा चिनिन्छन् । उनको गायनमा मौलिकता र छुट्टै मिठास भरिएको हुन्छ । उनको आवाज मन नपराउने सायदै भेटिएलान् ।
‘तीन पाते’ गीतबाट गायन सुरु गरेका उनले गाएका सबैजसो गीत उत्तिकै हिट छन् । चाहे त्यो ‘घुमी घुमी’ होस वा ‘गाला पुक्क’,‘फुलथुङ्गे रानी’ वा ‘उनको स्वीटर’ नै किन नहोस् । जति सुने पनि धीत नमर्ने खालका छन्, उनका गीत ।
खासमा सुमन थापा हो नाम उनको । तर, चिनाए स्वप्न सुमन भनेर र बनेर । उनले आफ्नो सांगितिक यात्राको सुरुवात युट्युबमार्फत कवर सङ गाएर गरेका थिए ।
स्वप्न सुमन सधैँ आफ्नो रोमान्टिक गीतका कारण दर्शक श्रोता माझ प्रख्यात छन् । उनको गीतमा परम्परागत र समकालीन दुवै शैलीको मिश्रण पाइन्छ । सुमनका गीतहरू सुनौँ, सुनौँ लाग्ने खालका लाग्छन् भन्छन् २० वर्षीय सर्जन पाण्डे । उनी भन्छन्, ‘स्वप्नसुमनका हरेक जसो गीतहरू ट्रेण्डिङमा आउने भएकोले मलाई उनका गीतहरू मन पर्छन् ।’
‘कसरी भनूँ तिमीलाई’ गीत एकाएक हिट भएपछि उनको हरेक जसो गीतले सफलता पाउन थाल्यो । उनको ‘जे छौ जसो छौ’, ‘वाचा भयो’,‘उपहार’ युवा जमातमाझ निकै लोकप्रिय छ ।
आफ्नो गायन कलाले मात्र नभई विभिन्न म्युजिक बिट्स अनि म्युजिक रचनाका कारणले पनि चर्चित पप गायक सुशान्त केसी अहिले हरेक युवा पुस्ताको रोजाइका गायकको सूचीमा पर्छन् । ‘आमा’ गीत एकदमै सफल भएपछि उनी दर्शक, श्रोतामाझ चिनिन थाले ।
२० वर्षीय सर्जन पाण्डे सुशान्तका फ्यान हुन् । किन त ? उनले सुनाए, ‘एकान्तमा कतै गएर स्पिकर लगाएर सुनौँ सुनौँ लाग्छ मलाई सुशान्त गीतहरू ।’
आफ्नो हरेक गानामा नयाँ - नयाँ म्युजिकल कम्पोजिशन ल्याउने सुशांतको ‘मायामा’,‘मुस्कुराएर’,‘बेहोस’ जस्ता गीतहरूले उनलाई सफलताको चुचुरोमा पुर्यायो । उनको गीत ‘सारंगी’ अहिले चर्चामा छ ।
सज्जनराज वैद्य नेपाली सांगितिक जगतमा एक प्रतिभाशाली गायकका रूपमा परिचित छन् । मनै छुने स्वर र रैथाने नेपाली रचनाले उनलाई युवा पीढीमाझ लोकप्रिय बनाइरहेको छ ।
सज्जनका जबरजस्त फ्यान हुन्, २० वर्षीया अञ्जली नकर्मी । उनलाई सज्जनका गीतहरूले किन चुम्बकीय शैलीमा आकर्षित गर्यो त ? जवाफमा उनी भन्छिन्,‘समाजका अन्तर्वस्तुलाई केलाएर गीत प्रस्तुत गर्ने सज्जनको शैलीका कारण उनका गीतहरू मन पर्छन् ।’
‘हावा झैँ’ बोलको गीतबाट परिचित हुन थालेका सज्जनको ‘चिठ्ठी भित्र’ ले युट्युबमा सबैभन्दा धेरै दर्शक पाएको छ । उनको ‘सस्तो मुटु’, ‘अनगिन्ती माया’,‘हतारिँदै’ जस्ता गीतहरूले दर्शक स्रोतामाझ अविस्मरणीय छाप छोड्न सफल देखिन्छ ।
युवा पीढीमाझ आफ्नो गीत, संगीत र स्वरको जादु छर्दै आएका यी उम्दा गायकहरूले आउने दिनहरूमा पनि आफ्नो प्रतिभाको रङ देखाउने नै छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।