भारतीय अभिनेत्री दिव्या दत्ताले बाल्यकालमा आफूले सीतामाताको भूमिका निर्वाह गर्न नपाएको बताएकी छन् । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’मा सञ्चालित ‘सीताको परीक्षा दक्षिण एसियामा महिला संघर्ष’ विषयक सत्रमा (सेसन)मा सहभागी भएकी अभिनेत्री दत्ताले विद्यालयमा हुँदा सीताको भूमिका गर्न सबै छात्रा उत्साहित हुने गरेको बताइन् ।
‘बाल्यकालमा उहाँको बारेमा जति पढेकी छु, सुनेकी छु । त्यही कारणले पनि मलाई उहाँको शालीनतालाई प्रस्तुत गर्न मन थियो, तर त्यो सपनामै सीमित रह्यो,’ अभिनेत्री दत्ताले भनिन्, ‘उहाँलाई पर्दामा मैले प्रस्तुत गर्न पाएँ भने बाल्यकालमा बुझेकी सीता नै प्रस्तुत गर्नेछु ।’
सीताको नाम जहिले राम्रो कार्यका लागि लिने गरेको अनुभव सुनाउँदै उनले भनिन्, ‘आशीर्वाद दिँदा होस् या जोडी राम्रो होस् भन्दा पनि सीतारामको जस्तो होस् भनिन्छ । किनकि त्यसको प्रभाव वा सुन्दरता नै फरक छ,’ अभिनेत्री दत्ताले भनिन् । महोत्सवमा सहभागी हुन नेपाल आएकी अभिनेत्री दत्ताले नेपाली भाषा सुन्दर लागेको भन्दै भाषा सिकिरहेको बताइन् । उनी महोत्सवअन्तर्गत चल्ने विभिन्न सत्रमा सहभागी हुनेछिन् ।
त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ ललितपुरमा शुत्रबारबाट सुरु भएको हो । यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही भदौ १७ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवको उद्घाटन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले यस कार्यक्रमले दक्षिण एसियाका संस्कृति आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘महोत्सव नेपाललाई केन्द्र बनाएर काठमाडौंमा आयोजना हुनु हाम्रो लागि सुखद् पक्ष हो । काठमाडौंसँग वनारस, जनकपुरलाई अयोध्यासँग, विराटनगरलाई कुरु क्षेत्र हस्तिनापुरसँग जोड्न सकेनौँ भने हामी अधुरो हुन्छौँ,’ उनले भने, ‘संस्कृति र भाषाका कारण हामी एकअर्कासँग जोडिएका छौँ । हाम्रो समानता संस्कृत भाषा हो ।’
विभिन्न देशबाट नेपाल आएका साहित्यकारलाई यहाँको संस्कृति र सुन्दरतासँग रमाउन र आनन्द लिन परराष्ट्रमन्त्री साउदले आग्रह गरे । काठमाडौं केएलएफकी निर्देशक तथा यशस्वी प्रज्ञाप्रतिष्ठानकी संस्थापक रञ्जना निरौलाले साहित्यिक र सांस्कृतिक गतिविधिलाई प्रवर्धन गर्न महोत्सवको आयोजना गरिएको जानकारी दिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।