नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै नेता यादवले सोङको अभिव्यक्ति कूटनीतिक मयार्दाको विपरीत रहेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भने,‘नेपालका लागि चिनियाँ राजदूतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ, वास्तवमा यो नेपालमा यसले एक किसिमले तरंग ल्याएको छ । यो कूटनीतिक मयार्दाको विपरीत हो । नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक हो । हामी कोसँग मित्रता राख्छौँ ? कोसँग व्यापार गर्छौं, यो हाम्रो निजी मामिला हो ।’
उनले नेपालको अरू देशसँग सम्बन्ध बिगार्न उनलाई कसैले पनि अधिकार दिएको छैन भन्दै थपे, ‘चीनसँग पनि हाम्रो मित्रवत् व्यवहार छ । चिनियाँ राजदूत भनेको यहाँ दुई देशबीचको सम्बन्ध बलियो बनाउन आउनुभएको हो । तर, नेपालको अरू देशसँग सम्बन्ध बिगार्न उहाँलाई कसैले पनि अधिकार दिएको छैन । उहाँले जुन बोल्नुभएको छ, नेपालको सार्वभामिकतामाथि हनन हो । नेपालीलाई उहाँले अपमानित गर्नुभएको छ ।’
यादवले अहिलेको सरकारले भ्रष्टाचारको सवालमा कारबाही अघि बढाएकोमा खुसी व्यक्त गरे । तर, सरकारले आफ्नो मान्छे बचाउने र अरुलाई प्रतिशोध साँध्ने काम गरेको उनको आरोप थियो । उनले भने,‘सबैले भ्रष्टाचार नहोस् भनेर चाहेका छन् । सबै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा गरेका छन् । अहिलेको सरकारले आफ्नो मान्छे र अरुको मान्छे गरेको छ । मान्छे हेरेर कारबाही अघि बढाएको छ ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाण निर्दोष रहेको दाबी गरे । उनले भने,‘खासमा निर्दोष बालकृष्ण खाणलाई फसाइएको छ । दोष केही पनि छैन । जसको प्रमाण छ, बादल र उनको श्रीमतीको नाम आएको छ । सुन काण्डमा पनि नेताका छोरा पक्राउ परेका छन् । भ्रष्टाचारको सवालमा सरकारले गर्ने कारबाहीमा समानता भइरहेको छैन ।’
उनले खाण निर्दोष हुनुको कारण उनीमाथि कुनै जाहेरी नपरेको स्पष्ट पारे । उनले भने,‘बालकृष्ण खाणमाथि कुनै जोहरी छैन । कसैले पनि पैसा लिएको भनेर भनेको छैन । प्रहरी र अदालतको बयानमा कसैले पनि उहाँले पैसा मागेको भनेर भनेको छैन । खाणजीको खातामा कतै पनि अस्वाभाविक रकम देखिएको छैन ।’
सो कार्यक्रमबाट बाहिरिएर गाडी चढ्न लाग्दा यादवमाथि धारिलो हतियारबाट आक्रमण भएको थियो ।
धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यादवमाथि धारिलो हतियारले आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । यादवमाथि आक्रमण गर्ने नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।