लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणलाई एक महिनाभित्र सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
उपाध्यक्ष लामाले विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीको अधुरो सडकका कारण सास्ती पाएकाले हेलचेक्रयाइँ नगर्न निर्माण कम्पनीलाई सचेत गराएका छन् । लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणाधीन सडक, पार्किङ, गेट एवं विद्युत् पोल र स्ट्रिक लाइटको आज निरीक्षण एवं अनुगमनपछि उपाध्यक्ष डा लामाले एक महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
लुम्बिनी गुरुयोजनाअन्तर्गत दुई वर्षअघि ४४ किमि ड्रेन, १३ किमि सडक कालोपत्रे, १२ किमि सडक ब्लक, आठ वटा गेट र दुई हजार दुई सय पोललगायतका स्ट्रिक लाइट निर्माणका लागि छुट्टाछुट्टै चार निर्माण व्यवसायीले निर्माण सम्झौता गरी काम गरिरहेका छन् । तर सम्झौताको म्याद सकिनै लाग्दासमेत निर्माण कार्य आधा पनि हुन नसेपछि उपाध्यक्ष डा लामाले आज अनुगमन गरेका हुन् ।
उपाध्यक्ष लामासहित स्थलगत अनुगमनमा सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कार्यकारिणी सदस्य नेत्र शाही, परिषद् सदस्य गोपिकृष्ण शर्मासहितको टोली गएको थियो । निर्माण व्यवसायीसँग पहिलो चरणको ठेक्का सम्झौता सकिनै लाग्दा पनि कामको गति नबढेकाले एक महिनाभित्र भौतिक प्रगति बढाउनुपर्ने र वाहनाबाजी गरेमा म्याद थप नगर्ने उपाध्यक्षले लामाले चेतावनी दिए ।
निर्माण कम्पनीले तोकिएको समयमा काम नगरेको पाइएकाले कोषले सचेत गराएको सदस्य सचिव सानुराजा शाक्यले बताए । त्यस्तै योजना प्रमुख सरोज भट्टराईले कोषले यसअघि पनि पटकपटक सचेत गराएको र अहिले उपाध्यक्षले एक महिनाभित्र भौतिक प्रगति हासिल गर्ने गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन भएको बताए ।
कोषका अनुसार चारवटा निर्माण व्यवसायीमध्ये दुई वटाले ५० देखि ५५ प्रतिशत र दुई वटाको २८ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।