राष्ट्रपति रामचन्द्र पौडेलले जननायक बिपी कोइराला स्मृति ट्रस्टले बर्सेनि प्रदान गर्ने बिपी साहित्य सम्मानबाट जनकपुरका डा. राजेन्द्र बिमललाई पुरस्कृत गरेका छन् । सो पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
त्यस्तै, ट्रस्टले प्रदान गर्ने बिपी प्रजातन्त्र सेनानी सम्मान रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपानेलाई उनले पुरस्कृत गरे । सो पुरस्कारको राशि ५१ हजार नगद र सम्मानपत्र रहेको छ ।
ट्रस्टले कोइरालाको एक सय १०औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरेको बिपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा सो पुरस्कार प्रदान गर्दै राष्ट्रपति पौडेलले नेपालको इतिहासमा जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन कठोर जेलनेल एवं निर्वासनसहितको लामो संघर्षपूर्ण जीवनयात्रामा समर्पित कोइरालाको बहुआयामिक व्यक्तित्व राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा रहेको चर्चा गरे ।
राष्ट्रपति पौडेलले नेपालको राजनीतिमा सदैव उच्चस्थानमा रहेका बिपीमा रहेको साहित्यिक प्रतिभाले समेत उनको बहुआयामिक व्यक्तित्वलाई प्रस्टयाएको पनि बताए ।
कार्यक्रममा ट्रस्टका सदस्य एवम् प्रतिनिधिसभाका सांसद डा. शशांक कोइरालाले धन्यवाद ज्ञापन गर्दै बिपीको लोकतन्त्रप्रतिको निष्ठा, विचार र दर्शनलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए ।
ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले विपीको समग्र व्यक्तित्वको अध्ययन अनुसन्धानका लागि ट्रस्टले आफ्नै भवन निर्माण गरी अनुसन्धान केन्द्र बनाउन लागेको जानकारी गराए ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, सांसदहरु तथा विभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्तिहरुको सहभागिता थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।