\
दुईपटकको संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको गत मंगलबार हृदयाघातका निधन भयो । सरकारले नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गर्यो । सोही बमोजिम बिहीबार उनको अन्त्येष्टि सम्पन्न भयो । उनको निधनको शोकमा सरकारले बिहीबार देशभर राष्ट्रिय बिदा नै दियो ।
नेम्वाङको शवयात्रामा राजनीतिक दलका नेता–कार्यकर्ता मात्रै होइन, आमसर्वसाधारण बुद्धिजीवी र सरकारका उच्चपदस्थहरुको उल्लेख्य सहभागिता रह्यो । निधन भएको दिन शिक्षण अस्पतालदेखि एमले पार्टी कार्यालय च्यासलसम्म नेम्वाङलाई श्रद्धाञ्जली दिनेको ठूलो घुइँचो लाग्यो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत माओवादी नेताहरू, कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू, एमले अध्यक्ष केपी ओलीलगायत नेताहरू, राप्रपाका नेताहरूले नेम्वाङको पार्थिव शरीरमा फूलअबिर चढाएर उनलाई श्रद्धाञ्जली दिए ।
तर, नेम्वाङलाई श्रद्धाञ्जली दिनेहरूको लहरमा देशको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कहीँ कतै देखिएनन् । नेम्वाङको निधन भएको दिन मंगलबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिनुबाहेक लामिछानेको कहीँकतै उपस्थिति देखिएन ।
नेम्वाङको निधन भएको दिन भदौ २६ गते बिहान ७ः४४मा उनले सामाजिक सञ्जाल फेसबुकमा नेम्वाङलाई श्रद्धाञ्जली दिँदै लेखेका थिए– संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवम् शालीन नेता सुवासचन्द्र नेम्बाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु ।
बिहीबार नेम्वाङको अन्तिम संस्कार हुँदै थियो । सर्वसाधारणदेखि सबै उच्चपदस्थ र राजनीतिक दलका नेताहरु आर्यघाटमा उनलाई अन्तिम बिदाइ गर्न उपस्थित भएका थिए । तर, नेम्वाङको अन्त्येष्टि कार्यक्रममा पनि रास्वपा अध्यक्ष लामिछाने देखिएनन् । उनी उपत्यकामा नभएका कारण सो अन्तिम संस्कारमा सहभागी नभएका भने होइनन् ।
संयोगवश, बिहीबार जन्मदिन परेको थियो । त्यति मात्रै होइन आज कुशेऔँशी अर्थात् हिन्दू संस्कारअनुसार बुबाको मुख हेर्ने दिन पनि थियो । त्यसैकारण पनि हुन सक्छ रवि नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति नगई आफ्नो जन्मोत्सव मनाउन व्यस्त रहे । जन्मोत्सव कार्यक्रमपछि उनी श्रीमती निकितासहित आफ्ना ससुरा राप्रपा नेता उद्धव पौड्याललाई भेट्न गए । उनले आफ्ना पारिवारिक कार्यक्रमका तस्बिर सामाजिक सञ्जालमा पनि राखेका छन् ।
यहाँ रविले आफ्नो जन्मोत्सव मनाउनै हुने थिएन वा बुवा (ससुरा)को मुख हेर्न जानै हुन्थेन भन्न खोजिएको होइन । राष्ट्रिय शोक भए पनि उनले व्यक्तिगत रूपमा आफ्नो जन्मदिन मनाउन वा बुवाको मुख हेर्न पाउँछन् । तर, जन्मदिनका दिन केकको साटो ‘जुजु धौ’को कतहरामा दियो बालेको तस्बिर सामाजिक सञ्जालमा राखेर चर्चा कमाउन लालायित उनले आफू देशको चौथो ठूलो दलको सभापति र पूर्वगृहमन्त्री हुँ भन्ने कुरा हेक्का नराखेको देखियो ।
स्वतन्त्र पार्टीका सभापति लामिछाने आफ्ना व्यक्तिगत उत्सव मनाउन स्वतन्त्र छन् । आफ्ना व्यक्तिगत उत्सव मनाएरै पनि समय निकालेर उनी राष्ट्रिय नेताको अन्त्येष्टिमा सहभागी हुनुपर्थ्यो । यदि कुनै कारणवश उपस्थित हुन नपाएको भए पनि त्यसबारे आमसर्वसाधारणलाई जानकारी गराउनुपर्थ्यो । सामान्य विषयमा पनि सामाजिक सञ्जालमा लेखिहाल्ने उनले आफू नेम्वाङको अन्त्येष्टिमा सहभागी नहुनुको कारणबारे केही लेखेनन् वा लेख्न चाहेनन् ।
टेलिभिजन कार्यक्रम सञ्चालक हुँदा उनी हरेक विषयमा आफूभन्दा बुज्रुक कोही छैनभनैझैँ गरी घोक्रो फुलाई–फुलाई अरूलाई खबरदारी गर्थे । उनको यही खबरदारीका कारण अपार जनसमर्थनका साथ जनताले दुई–दुईपटक सांसदमा निर्वाचित गराइसकेका छन् । तर, मंगलबार रविले देखाएको व्यवहार ‘असामाजिक’ भएको भन्दै उनको आलोचना सुरु भएको छ । त्यति मात्र होइन, उनले राजनीतिक संस्कार सिक्न पनि आवश्यक रहेछ भन्दै टिप्पणी भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।