खसोग्गी हत्या प्रकरणको अन्तर्राष्ट्रिय छानबिन साउदीलाई ‘अमान्य’

जेनेभा– प्रसिद्ध पत्रकार जमल खसोग्गी हत्या प्रकरणको अन्तराष्ट्रिय स्वतन्त्र छानविनको प्रस्ताव साउदी अरबलाई मान्य नभएको रियादले बिहीबार पुनः दोहोराएको छ । 

उसले आफ्नो मुलुक अपराधीलाई कानुनी दायरामा ल्याउन अनुसन्धानका लागि आवश्यक पर्ने सबै उपकरण आफूसँग भएको साउदीको दावी छ । 

जेनेभास्थित राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा बोल्दै साउदी प्रतिनिधिमण्डलका प्रमुख बन्दार अल–ऐवानले अनुसन्धानका लागि हस्तक्षेपकारी अन्तराष्ट्रिय भूमिकाको मागले साउदी अरबको आन्तरिक मामिलामा हस्तक्षेप हुने भन्दै यसमा साउदी अरब सहमत हुन सम्भव नहुने बताए । 

साउदी अरबले यो जघन्य अपराधलाई कानुनी दायरामा ल्याउने सबै उपायको प्रयोग गरी घटनाको अनुसन्धान गरिरहेको अल–ऐवानकाे दाबी छ । 

गत हप्ता विश्वका ३६ राष्ट्रले संयुक्त विज्ञप्ति जारी गरी खसोग्गीको हत्यारालाई कानुनी कठघरामा उभ्याई पीडित परिवारलाई न्याय दिलाउन गरिएको आह्वानप्रति प्रतिक्रिया दिँदै साउदी अरबको याे भनाइ आएको हो । 

वासिङ्टन पोस्टका स्तम्भकार खसोग्गी पूर्वपत्नीसँग भएको सम्बन्धविच्छेदको प्रमाणित कागजात बनाउन टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा गएकै बेला तीन साताअघि उनकाे हत्या भएको थियो । हत्यामा साउदीको शक्तिशाली राजपरिवारकै निर्देशन रहेको भन्दै विश्वभरबाट रियादको आलोचना भइरहेको छ । आलोचना बढेपछि विश्वकै प्रमुख तेल निर्यात राष्ट्र साउदी अरब अहिले संकटमा फसेको छ । 

टर्कीलगायतका देशले खसोग्गीको हत्यामा साउदी सरकारकै संलग्नता रहेको बताए पनि सुरुमा रियादले सो आरोप अस्वीकार गरेको थियो । पछि, उसले खसोग्गीको वाणिज्य दूतावासभित्र भएको झगडाका क्रममा मृत्यु भएको र त्यसमा आफ्ना खराब एजेन्टहरु दोषी रहेको बतायो । 

यद्यपि, उसले विभिन्न अन्तर्राष्ट्रिय समाचारमाध्यममा भनिएजस्तो साउदीका शक्तिशाली युवराज मोहम्मद बिन सलमानको आदेशमा खसोग्गीको हत्या भएको भन्ने विवरणलाई भने अस्वीकार गर्दै आएको छ । 





  • प्रकाशित मिति : फागुन ३०, २०७५ बिहीबार २१:४५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया